- रोजेश बस्नेत
नेपालमा अवकाश प्रणालीको संक्षिप्त विवरण
संयुक्त राष्ट्र जनसंख्या कोष (यूएनएफपीए) अनुसार जनसंख्या वृद्धि विश्वका लगभग सबै क्षेत्रहरुमा तीव्र गतिमा भइरहेको एक महत्वपूर्ण जनसांख्यिकीय परिवर्तन हो। यसले सामाजिक र आर्थिक रुपान्तरणलाई जनाउँछ, जहाँ कुल जनसंख्यामा ६० वर्षभन्दा माथिका उमेर समूहको अनुपात निरन्तर बढ्दो छ। घट्दो प्रजनन दर र स्वास्थ्य सेवाको सुधारसँगै जीवन प्रत्याशा बढ्नुले वृद्ध जनसंख्याको संख्या र अनुपात दुवै बढाएको छ। यो परिवर्तन विकसित मुलुक मात्र नभई विकासशील राष्ट्रहरुमा समेत देखिएको छ, जसले विश्वव्यापी चिन्ताको विषय बनाएको छ।
अवकाश योजना व्यक्ति विशेषको आर्थिक सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण हुन्छ। जसले व्यक्ति काम गर्न नसक्ने अवस्थामा पनि आफ्नो गुणस्तरीय जीवनस्तर कायम राख्न मद्दत पुर्याउँछ। यद्यपि, विकसित मुलुकहरुमा यो अवधारणा स्थापित भइसकेको छ भने नेपालमा भने यो अझै नयाँ अभ्यासको रुपमा रहेको छ।
यहाँको ठूलो श्रमशक्ति गैरऔपचारिक क्षेत्रमा कार्यरत भएकाले, उनीहरुका लागि नियमित अवकाश सुविधा वा पेन्सन योजना उपलब्ध छैन। विभिन्न स्रोतहरुका अनुसार, नेपालमा ७०% देखि ८०% श्रमशक्ति गैरऔपचारिक क्षेत्रमा कार्यरत छन् (कृषि, साना व्यवसाय आदि) जसमा कुनै औपचारिक पेन्सन योजना छैन।
नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित २०२१ को वित्तीय साक्षरता सर्वेक्षणअनुसार करिब ७०% नेपाली नागरिकलाई पेन्सन फन्ड वा प्रोभिडेन्ट फन्डजस्ता संरचित अवकाश बचत विकल्पहरुको जानकारी नै थिएन। बैंक खाता संख्या बढिरहेको भए पनि ५–१०% मात्र व्यक्तिहरुले अवकाश लक्षित योजनामा बचत गरिरहेका छन्।
विश्व बैंकको ‘नेपाल पेन्सन प्रणाली (२०२०)’ रिपोर्टमा उल्लेख छ कि कुल श्रमशक्तिको ५–१०% मात्र सरकारी पेन्सन योजनाबाट लाभान्वित छन्, जुन औपचारिक क्षेत्रमा कार्यरत व्यक्तिहरुमा सीमित छ। गैरऔपचारिक क्षेत्रमा कार्यरत अधिकांश मानिसहरु अझै संरक्षित छैनन् र निजी पेन्सन योजनाको पहुँच अत्यन्त सीमित छ। धेरै नेपालीहरुले अझै पनि पारिवारिक सहारालाई अवकाशकालीन जीवनयापनको माध्यम बनाउने गरेका छन् तर औपचारिक योजनाको अभावले वृद्धावस्थामा आर्थिक असुरक्षाको जोखिम बढाउँछ।
एसियन डेभलपमेन्ट बैंक (एडीबी)को २०२१ को रिपोर्टअनुसार सरकारले नागरिक सेवामा कार्यरत कर्मचारीहरुका लागि पेन्सन योजना स्थापना गरेको भए पनि, ती योजना सरकारी कर्मचारीहरुमा मात्र सीमित छन्। निजी वा गैरसरकारी क्षेत्रका कर्मचारीहरु अझै सामाजिक सुरक्षा वा पेन्सन प्रणालीको पहुँचबाट टाढा छन्। रिपोर्टले निजी पेन्सन योजनाको सहभागिता निकै न्यून (१०% भन्दा कम) रहेको जनाएको छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) अनुसार नेपालमा सार्वजनिक क्षेत्रका लागि ‘पे याज यु गो’ प्रणालीमा आधारित पेन्सन प्रणाली लागू गरिएको छ। तर, यसले जनसंख्याको सानो हिस्सालाई मात्र समेट्छ। निजी क्षेत्रमा औपचारिक पेन्सन योजना निकै कम छन् र धेरै नेपालीहरुसँग प्रोभिडेन्ट फन्ड वा अवकाश लक्षित बचत योजनामा पहुँच छैन। त्यसैले अधिकांश नागरिकका लागि अवकाश बचत या त विल्कुलै छैन या व्यक्तिगत बचतमा सीमित हुन्छ।
यस्तो सन्दर्भमा, जीवन बीमा उत्पादनहरु विशेषगरी अवकाश योजना समावेश गरिएका योजनाहरुको भूमिका अत्यन्त महत्वपूर्ण हुँदै गएको छ। तर, नेपाल बीमा प्राधिकरणको २०२२ को वार्षिक प्रतिवेदनअनुसार काठमाडौंजस्ता सहरी क्षेत्रहरुमा यस्ता बीमा योजनाको पहुँच विस्तार भइरहेको भए पनि समग्रमा औपचारिक अवकाश योजनामा सहभागिता अझै पनि निकै न्यून छ। अवकाशसँग सम्बन्धित बीमा योजनाहरुको बजार हिस्सा सम्पूर्ण बीमा बजारको ३–५% को हाराहारीमा मात्र छ।
नेपालको अवकाश प्रणाली औपचारिक र अनौपचारिक प्रणालीको संयोजन हो। औपचारिक प्रणाली मुख्यतः सरकारी कर्मचारी र ठूला निजी संस्थाका कर्मचारीहरुका लागि सीमित छ। सबैभन्दा साधारण अवकाश योजना हो। जुन औपचारिक क्षेत्रका कर्मचारीहरुका लागि अनिवार्य बचत प्रणालीको रुपमा लागू छ तर करिब ८०% श्रमशक्ति रहेको गैरऔपचारिक क्षेत्रमा यो प्रणाली लागू छैन।
हालका वर्षहरुमा, गैरऔपचारिक क्षेत्रलाई समेत समेट्ने समावेशी पेन्सन प्रणालीको आवश्यकताप्रति ध्यान बढ्दो छ। यद्यपि, औपचारिक योजनाहरु अझै सीमित छन् र अधिकांश नेपालीहरुले आफ्नो अवकाशकालका लागि कुनै योजना बनाएका छैनन्। यसलाई निम्न आम्दानी स्तर, वित्तीय साक्षरताको कमी र वृद्ध अवस्थामा परिवारको भर पर्न सकिने सामाजिक अवधारणाले थप जटिल बनाएको छ।
नेपालमा अवकाश योजनासम्बन्धी चुनौतीहरु
नेपालमा अवकाश योजना गर्न विभिन्न कारणहरुले बाधा पुर्याइरहेका छन्, जसमा मुख्य रुपमा निम्न बुँदाहरु समावेश छन्ः
न्यून वित्तीय साक्षरताः विशेष गरी ग्रामीण क्षेत्रका धेरै नागरिकहरुमा आधारभूत वित्तीय ज्ञानको अभाव छ। यसले गर्दा मानिसहरुले अवकाश योजना आवश्यक किन हुन्छ भन्ने बुझ्न सक्दैनन्, न त भविष्यका लागि बचत गर्ने उपलब्ध माध्यमहरु बारे जानकारी हुन्छ।
गैरऔपचारिक क्षेत्रको उच्च प्रभावः अधिकांश नेपाली कामदारहरु गैरऔपचारिक क्षेत्रमा संलग्न छन्, जहाँ अवकाश सुविधा उपलब्ध हुँदैन। यसले गर्दा जनसंख्याको ठूलो हिस्सा कुनै संरचित अवकाश बचत योजनाबाट वञ्चित रहन्छ।
पेन्सन तथा बीमा उत्पादनको जानकारीको कमीः सहरी क्षेत्रमा वित्तीय सेवाहरु विस्तार हुँदै गएका भए पनि धेरै नेपालीहरु अझै पनि जीवन बीमाजस्ता उत्पादनहरुले अवकाशपछि आर्थिक सुरक्षा कसरी दिन सक्छन् भन्ने कुरामा जानकार छैनन्।
सांस्कृतिक पक्षहरुः नेपाली संस्कृतिमा वृद्धावस्थामा परिवारको भर पर्ने चलन प्रबल छ। यसले गर्दा धेरै व्यक्तिहरु दीर्घकालीन आर्थिक योजना बनाउने वा औपचारिक बचत योजना तथा बीमा उत्पादनमा लगानी गर्न रुचि राख्दैनन्।
अवकाश योजनामा जीवन बीमाको भूमिका
जीवन बीमा यस्तो वित्तीय साधन हो, जसले बीमित व्यक्तिको मृत्यु भएपछिको अवस्थामा नामित लाभग्राहीलाई एकमुष्ट रकम प्रदान गर्छ। यसको मुख्य उद्देश्य बीमित व्यक्तिको परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्नु हो। यद्यपि, केही जीवन बीमा योजनाहरुमा दीर्घकालीन बचत वा लगानीसम्बन्धी पक्षहरु पनि समावेश हुन्छन्, जसले अवकाश योजनामा महत्वपूर्ण भूमिका खेल्न सक्छ। अवकाश योजना सन्दर्भमा, बचत पक्ष समावेश गरेका जीवन बीमा योजनाहरु जस्तै एन्डोमेन्ट पोलिसी वा होल लाइफ पोलिसीले अत्यन्त उपयोगी भूमिका निर्वाह गर्न सक्छन्। जीवनयापनका खर्चहरुमा प्रयोग गर्न सकिन्छ।
नेपालमा अवकाश योजनाका लागि प्रयोग गर्न मिल्ने विभिन्न प्रकारका जीवन बीमा योजनाहरु उपलब्ध छन्ः
सावधिक बीमालेखः यी जीवन बीमा योजनाले सुरक्षा र बचत दुवै सुविधा प्रदान गर्छन्। यस्ता योजनाले समयक्रममा नगद मूल्य सञ्चित गर्छन् र बीमित व्यक्तिको मृत्यु वा पूर्वनिर्धारित अवधिको अन्त्यमा (जस्तैः अवकाश उमेर पुगेपछि) रकम प्रदान गर्छन्। परिपक्वतापछि बीमाधारकले नगद रकम प्राप्त गर्न सक्छन्, जुन अवकाश आयको एक हिस्सा बन्न सक्छ।
आजीवन बीमालेखः यसले बीमित व्यक्तिको पूरै जीवनकालका लागि बीमा सुरक्षा प्रदान गर्छ। यस्ता योजनामा नगद मूल्य सञ्चित हुने सुविधा हुन्छ, जसले दीर्घकालीन वित्तीय सुरक्षा दिन्छ। यो रकम अवकाशपछिको आवश्यकतामा प्रयोग गर्न सकिन्छ।
वार्षिकी योजनाहरुः वार्षिकी बीमा योजनाहरुले अवकाशपछि बीमाधारकलाई नियमित रुपमा आय प्रदान गर्छन्। बीमाधारकले एकमुष्ट रकम वा किस्ताबन्दीमा प्रिमियम तिर्न सक्छन् र त्यसको सट्टामा बीमा कम्पनीले बीमाधारकलाई नियमित किस्तामा भुक्तानी गर्छ—धेरैजसो जीवनभरि। यसले अवकाशपछि स्थिर आयको श्रोतको रुपमा काम गर्न सक्छ।
नेपालमा अवकाश योजनामा जीवन बीमा समावेश गर्दा प्राप्त हुने फाइदाहरुः
परिवार र लाभग्राहीको आर्थिक सुरक्षाः बीमा योजनाबाट प्राप्त मृत्यु लाभले बीमित व्यक्तिको निधनपश्चात् परिवारलाई आर्थिक संकटमा पर्नबाट जोगाउँछ। नेपालको सन्दर्भमा, जहाँ धेरै परिवारहरु आयमा एक अर्कामा निर्भर छन्, यो विशेष रुपमा महत्वपूर्ण छ।
दीर्घकालीन बचतः सावधिक र आजिवनजस्ता योजनाले अनिवार्य बचत प्रणालीको काम गर्छन्, जसले बीमालेखधारकलाई नियमित बचत गर्न प्रेरित गर्छ। यसले समयक्रममा अवकाशकालका लागि पर्याप्त रकम सञ्चित गर्न मद्दत पुर्याउँछ।
कर लाभः नेपालको कर ऐनअनुसार, जीवन बीमा योजनामा गरिएको केही योगदान कर कटौतीयोग्य हुन्छ। यसले बीमा धारकको कर भार घटाउने हुँदा, अवकाश योजना बनाउने आकर्षक विकल्प बन्न सक्छ।
नियमित आयः वार्षिकी योजनाहरुले अवकाशपछिको जीवनयापनका लागि नियमित आयको सुनिश्चितता दिन्छन्। नेपालजस्तो देशमा, जहाँ औपचारिक पेन्सन प्रणाली सीमित छ, यस्तो आय अत्यन्त उपयोगी हुन्छ।
लगानीबाट सम्पत्ति सिर्जनाः युनिट लिंक्ड इन्स्योरेन्स प्लान जस्ता योजनाले बीमा धारकलाई म्युचुअल फन्डमा लगानीको लाभ उठाउने अवसर दिन्छन्। यसले दीर्घकालीन सम्पत्ति सिर्जना गर्न सक्छ र मुद्रास्फीतिभन्दा माथि फाइदा दिई अवकाशकालका लागि ठूलो कोष तयार गर्न सहयोग पुर्याउँछ।
जीवन बीमा नेपाली नागरिकहरुका लागि किन आवश्यक छ ?
नेपालमा व्यापक सरकारी पेन्सन योजना र सामाजिक सुरक्षा प्रणालीको अभाव रहेको अवस्थामा, जीवन बीमाले अवकाश योजनामा महत्वपूर्ण खालको खाली ठाउँ भर्न सक्छ। नेपाली सन्दर्भमा जीवन बीमा विशेष रुपमा महत्वपूर्ण हुने केही कारणहरु यस्ता छन्ः
सीमित सरकारी अवकाश योजनाः अघिल्लो विवरणहरुमा उल्लेख भएझैँ नेपालमा औपचारिक पेन्सन योजनाले जनसंख्याको सानो हिस्सा मात्र समेटेको छ, जुन प्रायः सरकारी कर्मचारीहरुमा सीमित छ। यस्तो अवस्थामा, जीवन बीमाले त्यस्ता प्रणालीमा पहुँच नभएका व्यक्तिहरुका लागि व्यवहारिक विकल्प प्रदान गर्छ।
आर्थिक अस्थिरताः नेपालको अर्थतन्त्र, अन्य धेरै विकासोन्मुख देशहरुजस्तै, विभिन्न आर्थिक उतारचढावको सामना गरिरहेको हुन्छ। लगानी र बचत पक्ष समेटिएका जीवन बीमा योजनाहरुले अनिश्चित आर्थिक अवस्थामा पनि व्यक्तिलाई सम्पत्ति वृद्धिको अवसर प्रदान गर्छन्।
वृद्ध जनसंख्याको वृद्धिः नेपालको जनसंख्या बिस्तारै वृद्ध हुँदै गएको छ, जसले वृद्ध हेरचाहको बोझ बढाउँदै लैजानेछ। यस्ता अवस्थामा, अवकाशपछिको आय सुनिश्चित गर्ने जीवन बीमा योजनाहरु अत्यन्त आवश्यक बन्दै गएका छन् ताकि व्यक्तिहरु आफ्नो वृद्धावस्थामा आर्थिक रुपमा सुरक्षित रहन सकून्।
वित्तीय जानकारीको अभावः नेपालमा वित्तीय साक्षरताको स्तर अझै न्यून छ। धेरै मानिसहरुले आफूलाई उपलब्ध अवकाश योजना उपकरणहरुबारे जानकारी नपाएको हुन सक्छ। जीवन बीमा एउटा सरल र सुलभ प्रवेशद्वारको रुपमा काम गर्न सक्छ, किनभने यसलाई बुझ्न सजिलो छ र बीमा बजारमार्फत देशभर नै पहुँच विस्तार भइसकेको छ।
अवकाश योजनामा जीवन बीमा अपनाउनका लागि रहेका अवरोधहरु
जीवन बीमाले अवकाश योजना सुनिश्चित गर्न सक्ने स्पष्ट फाइदाहरु हुँदाहुँदै पनि नेपालमा यसको प्रयोग अझै सीमित छ। यसका पछाडि विभिन्न कारणहरु रहेका छन्ः
न्यून वित्तीय साक्षरताः धेरै नेपालीहरुलाई जीवन बीमाले अवकाश सुरक्षामा कसरी योगदान पुर्याउँदछ भन्ने कुराको ज्ञान छैन। यस्तो जानकारीको अभावले गर्दा उनीहरु दीर्घकालीन आर्थिक योजनामा जीवन बीमालाई समावेश गर्ने सम्भावना न्यून रहन्छ।
सांस्कृतिक प्राथमिकताः नेपाली समाजमा वृद्धावस्थामा पारिवारिक सहारामा भर पर्ने चलन बलियो छ। यसले गर्दा औपचारिक अवकाश बचत योजना जस्तै जीवन बीमा अपनाउन मानिसहरु अनिच्छुक देखिन्छन्।
खर्च योग्यताको अभावः विशेषगरी दीर्घकालीन बचत समावेश गरेका जीवन बीमा योजनाहरु (जस्तै एन्डोमेन्ट पोलिसी) को प्रिमियम धेरै नेपालीहरुका लागि महँगो हुन सक्छ, विशेष गरी गैरऔपचारिक क्षेत्रमा काम गर्नेहरुका लागि यस्तो अवस्थामा बीमाशुल्क तिर्न सकिने दैनिक बचत योजना अत्यावश्यक हुन्छ।
उत्पादनसम्बन्धी जानकारीको अभावः सहरी क्षेत्रमा समेत, वार्षिकी योजना, युनिट लिंक्ड बीमा योजना र सावधिक बीमालेखहरु जस्ता विभिन्न जीवन बीमा योजनाहरुको बारेमा जानकारी सीमित नै छ। उचित जानकारी र मार्गदर्शन नपाउँदा मानिसहरुले यस्ता योजनाहरुलाई अवकाश योजना अन्तर्गत छनोट गर्ने सम्भावना कम हुन्छ।
नेपालमा अवकाश योजनाका लागि जीवन बीमा अपनत्व बढाउने रणनीतिहरु
अवकाश योजनामा जीवन बीमाको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले निम्न रणनीतिहरु कार्यान्वयन गर्न सकिन्छः
वित्तीय साक्षरता अभियानः सरकारी निकायहरु, बीमा कम्पनीहरु र वित्तीय संस्थाहरुले संयुक्त रुपमा देशव्यापी वित्तीय साक्षरतामा सुधार ल्याउने अभियान सञ्चालन गर्नुपर्छ। यसमा अवकाश योजना किन आवश्यक छ र जीवन बीमाले त्यसमा कसरी भूमिका खेल्न सक्छ भन्ने विषयमा जनचेतनामूलक कार्यक्रमहरु समावेश गर्न सकिन्छ।
उत्पादन नवप्रवर्तनः बीमा कम्पनीहरुले विशेषगरी गैरऔपचारिक क्षेत्रमा कार्यरत न्यून आय भएका व्यक्तिहरुलाई लक्षित गरी अझै सुलभ, लचिलो र किफायती जीवन बीमा योजना विकास गर्न सक्छन्।
कर लाभका लागि प्रोत्साहनः नीति निर्माताहरुले अवकाशसँग सम्बन्धित जीवन बीमा योजनामा लगानी गर्नेहरुलाई अतिरिक्त कर छुट दिने व्यवस्था गर्न सक्नेछन्, जसले व्यक्तिहरुलाई अवकाश योजनाप्रति सक्रिय बनाउनेछ।
सामुदायिक सहभागिताः ग्रामीण क्षेत्रमा विशेष ध्यान दिँदै स्थानीय समुदायहरुसँग कार्यशाला र जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेर जीवन बीमाको अवधारणा र यसको अवकाश योजनामा भूमिका स्पष्ट गर्न सकिन्छ। यसले ग्रामीण बासिन्दाहरुलाई जीवन बीमाको फाइदाबारे सहजै बुझ्न मद्दत पुर्याउँछ।
निष्कर्ष
नेपालमा अवकाश प्रणाली अझै प्रारम्भिक चरणमा छ र मुख्य रुपमा सरकारी कर्मचारीहरुमा मात्र सीमित रहेको छ। यस्तो अवस्थामा, जीवन बीमाले व्यक्तिहरुले आफ्नो भविष्यका लागि योजना बनाउने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउने सम्भावना बोकेको छ। सुरक्षित अवकाश जीवन भनेको केवल आय प्रतिस्थापन मात्र होइन यो जीवनको उत्तराद्र्धमा आत्मसम्मान, स्वतन्त्रता र मानसिक शान्ति कायम राख्नु पनि हो।
नेपालमा श्रमिकहरुको ठूलो हिस्सा गैरऔपचारिक क्षेत्रमा कार्यरत छन्, जसले गर्दा उनीहरुको लागि संरचित पेन्सन योजना पहुँचबाहिर रहेको छ। यस्तो अवस्थामा, जीवन बीमा आर्थिक योजनाको एउटा महत्वपूर्ण आधारस्तम्भ बन्न सक्छ। सावधिक बीमालेख, आजीवन बीमालेख र वार्षिक योजना जस्ता बीमा उत्पादनहरुले जोखिम सुरक्षा मात्र होइन, दीर्घकालीन बचतको अवसर पनि प्रदान गर्छन्। यस्ता योजनाहरुले मृत्युपश्चात् परिवारको सुरक्षाका साथै जीवितावस्थामा अवकाशकालीन खर्चका लागि वित्तीय आधार तयार गर्न मद्दत गर्छन्।
यी योजनाहरुमा समावेश गरिएको अनिवार्य बचत प्रणाली विशेष गरी नेपालजस्तो देशमा उपयोगी हुन्छ, जहाँ स्वेच्छिक बचतको अभ्यास अझै न्यून छ। यद्यपि, यस्ता जीवन बीमा योजनाहरुको अवकाश योजना उद्देश्यका लागि अपनत्व अझै सीमित देखिन्छ। चेतनाको अभाव, सांस्कृतिक सोच, र खर्च योग्यताको कमीले गर्दा धेरै व्यक्तिहरु अझै जीवन बीमालाई दीर्घकालीन योजना उपकरणको रुपमा स्वीकार गर्न सकिरहेका छैनन्। तर, यी चुनौतीहरु अपराजय छैनन्। सही चेतनामूलक कार्यक्रम, समावेशी उत्पादन डिजाइन र रणनीतिक नीतिमार्फत यी अवरोधहरु हटाउन सकिन्छ। बीमा कम्पनीहरु विशेषगरी नेपाल लाइफ इन्स्योरेन्सजस्ता अग्रणी कम्पनीहरु अब यस खालको खाली स्थानलाई भर्ने दिशामा सक्रिय रुपमा लागिपरेका छन्। वार्षिकी योजनाहरुको सुरmवातले बीमा बजारमा नयाँ मोड ल्याएको छ र यसले अवकाशपछिको नियमित आय सुनिश्चित गर्न मद्दत पुर्याउनेछ।
सरकारी निकायहरु, वित्तीय संस्थाहरु, स्थानीय समुदायहरु र बीमा प्रदायकहरुले सहकार्य गर्दै जीवन बीमामार्फत अवकाश योजना प्रवद्र्धन गर्न आवश्यक छ। वित्तीय साक्षरताको प्रयास केवल सहरी क्षेत्रमा सीमित हुनु हुँदैन। यो ग्रामीण तथा दुर्गम क्षेत्रसम्म पुग्नुपर्छ, जहाँ अवकाश तयारीको आवश्यकता अझै पनि उत्तिकै छ।
अन्ततः जीवन बीमा केवल वित्तीय साधन होइन यो वृद्धावस्थामा आत्मनिर्भरता, सुरक्षा र सम्मानको जीवन सुनिश्चित गर्ने दीर्घकालीन प्रतिवद्धता हो। जीवन बीमालाई अवकाश योजनाको एक अभिन्न उपकरणको रुपमा स्वीकार गरेर नेपालले यस्तो भविष्यको ढोका खोल्न सक्छ। जहाँ प्रत्येक नागरिक, उसको पेशा वा आयको स्तर जे भए पनि, आत्मसम्मानपूर्वक र स्थिर रुपमा अवकाश जीवन बिताउन सक्षम हुनेछ।
(लेखक बस्नेत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तालिम विभागका प्रमुख हुन्। बस्नेतको यो लेख नेपाल बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवमा प्रकाशित ‘बीमा समाचार र विचार’बाट साभार गरिएको हो।)