IME Life New
GBIME

जीवन बीमामा बीमकले दाबी अस्वीकार गर्न नसक्ने प्रावधान र नेपालमा यससम्बन्धी व्यवस्था

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

  • प्रभाकर न्यौपाने

बीमकले दाबी अस्वीकार गर्न नसक्ने प्रावधान (इन्कन्टेस्टेबल क्लज) जीवन बीमालेखको एक महत्त्वपूर्ण प्रावधान हो। जसले जीवन बीमा कम्पनीलाई चालु अवस्थामा रहेको बीमालेख जारी भएको निश्चित अवधि (अन्तर्राष्ट्रिय अभ्यासमा सामान्यतया २ वा ३ वर्ष) बितेपछि जीवन बीमालेखको वैधानिकतामाथि विवाद गर्न र दाबी अस्वीकार गर्नबाट रोक्दछ। यस प्रावधानअन्तर्गत बीमा कम्पनीबाट जारी भई चालु अवस्थामा रहेको बीमालेखले तोकिएको अवधि पूरा गरिसकेपछि सारभूत तथ्य लुकाएको वा झुट्टा विवरण दिएका आधारमा दाबी अस्वीकार गर्न दिँदैन। यस प्रावधानले केही अपवादको अवस्थामा बाहेक बीमालेखअन्तर्गत बीमा मृत्यु दाबी भुक्तानी लिन इच्छाइएको व्यक्तिले भुक्तानी पाउने सुनिश्चितता प्रदान गर्दछ।

जीवन बीमामा परमसद्विश्वासको सिद्धान्त लागू हुन्छ। यस सिद्धान्तअनुसार बीमा करारका दुवै पक्ष, बीमित र बीमकले बीमा गरिने जीवनका बारेमा जानकारीमा आएको वा थाहा भएको सम्पूर्ण तथ्यहरु यथार्थ उल्लेख गर्नुपर्दछ। बीमा वा जोखिमलाई प्रभाव पार्न सक्ने कुनै कुरा लुकाउनु वा ढाँट्नु हुँदैन। यदि कुनै तथ्य लुकाएको वा झुट्टा विवरण दिई बीमा गरेको देखिएमा परमसद्विश्वासको सिद्धान्त उल्लंघन भएको मानेर बीमा करार भंग हुन सक्छ। उदाहरणका लागि कुनै एक अधिक रक्तचापको अवस्था भई औषधि सेवन गरिरहेको व्यक्तिले सो तथ्य लुकाएर जीवन बीमा गरायो र बीमा गरेको एक वर्षमा नै निजको हृदयघातबाट मृत्यु भयो। बीमा कम्पनीको अनुसन्धानमा बीमितले बीमा गराउँदा उक्त तथ्य लुकाएको पत्ता लागेमा बीमाअन्तर्गत मृत्यु दाबी अस्वीकार हुन सक्छ। तथापि उक्त व्यक्तिको बीमा गरेको मानौँ ५ वर्षपछि मृत्यु भएमा बीमकले तथ्य लुकाएका आधारमा मृत्यु दाबी अस्वीकार गर्न सक्दैन।

Crest

बीमामा जीवन बीमालेखमा बीमकले दाबी अस्वीकार गर्न नसक्ने प्रावधान निम्नलिखित उद्देश्यका साथ राखिएको हुन्छः

इच्छाइएको व्यक्तिले दाबी पाउने सुनिश्चितताः बीमकले दाबी अस्वीकार गर्न नसक्ने प्रावधानले बीमा कम्पनीहरुलाई लामो समय चलिसकेका बीमालेख लिएको बीमितको मृत्युपछि पेस हुने दाबीउपर कारबाही गर्दा बीमितले आवेदन दिँदा उपलब्ध गराएको जानकारीको पूर्णता वा सत्यता सम्बन्धमा लामो अनुसन्धान गर्नबाट रोक्छ। यसले इच्छाइएको व्यक्तिहरुले सानोतिनो मतभेदका आधारमा लामो कानुनी लडाइँ बिना मृत्यु दाबी प्राप्त गर्न सक्ने सुनिश्चित गर्छ।

बीमा सम्बन्धी सारभूत तथ्य बीमा आवेदनमा नै खुलाउन प्रोत्साहनः यस प्रावधानले बीमालेखअन्तर्गत मृत्यु दाबीपछिका अनुसन्धानलाई सीमित गरे पनि बीमा आवेदकहरुलाई आवेदन प्रक्रियामा नै बीमा प्रस्तावको जोखिमांकन गर्न बीमकलाई आवश्यक तथ्य सम्बन्धमा सत्य र पूर्ण जानकारी दिन प्रोत्साहन गर्छ। किनकि असत्य जानकारी दिएको, सारभूत तथ्य लुकाएको वा झुट्टा विवरण दिएको पत्ता लागेमा बीमालेख रद्द हुन सक्छ।

बीमा उद्योगमा विश्वास प्रवर्द्धनः यस प्रावधानले बीमाबाट मृत्यु दाबी प्राप्त गर्ने सुनिश्चितता प्रदान गर्छ। जसले बीमा उद्योगमा विश्वास बढाउन मद्दत गर्दछ।

यदि बीमकले बीमालेखमा तोकिएको अवधिभित्र निम्न कुराहरु पत्ता लगाएमा बीमकसँग अनुसन्धान गर्ने र सम्भावित रुपमा दाबी अस्वीकार गर्ने वा बीमालेख रद्द गर्ने अधिकार हुन्छः

सारभूत तथ्य सम्बन्धमा झुट्टा विवरण दिएकोः बीमा आवेदकले बीमा कम्पनीको बीमालेख जारी गर्ने निर्णयका लागि महत्त्वपूर्ण हुने र बीमालेखका सर्तहरुलाई प्रत्यक्ष प्रभाव पार्ने गलत वा भ्रामक जानकारी प्रदान गरेमा। उदाहरणका लागि, आफ्नो उमेर, स्वास्थ्य अवस्था, पेसा वा धूमपान÷मद्यपानजस्ता बानीहरुबारे गलत जानकारी प्रदान गरी बीमालेख खरिद गरेमा।

सारभूत तथ्य लुकाएकोः बीमा आवेदकले बीमा कम्पनीको बीमालेख जारी गर्ने निर्णयका लागि महत्त्वपूर्ण हुने जानकारी लुकाएमा।

छलकपटः बीमालेख प्राप्त गर्नका लागि आवेदकद्वारा जानाजानी छलकपट गरेमा।

बीमालेखमा दाबी अस्वीकार गर्न सक्ने भनी तोकिएको अवधिमा दाबी उत्पन्न भएमा, जीवन बीमा कम्पनीलाई बीमितले आवेदन फारममा उपलब्ध गराएको जानकारीको अनुसन्धान गर्ने अधिकार हुन्छ। यदि यस्तो सारभूत तथ्य लुकाएको वा सो सम्बन्धमा झुट्टा विवरण दिएको वा छलकपट गरेको बीमालेखमा तोकिएको समयभित्र पत्ता लागेमा बीमा कम्पनीले मृत्यु दाबी सम्बन्धमा निम्नमध्ये कुनै एक निर्णय गर्न सक्छः

  • दाबी अस्वीकार गर्नेः मृत्यु लाभको दाबी अस्वीकार गर्ने,
  • बीमालेख रद्द गर्नेः बीमालेखलाई सुरुदेखि नै शून्य र अमान्य घोषणा गरी बीमकले बीमाशुल्क जफत गर्ने वा
  • बीमाशुल्क फिर्ताः निर्दोष गलत प्रस्तुतिको अवस्थामा बीमा कम्पनीले भुक्तानी गरिएको बीमाशुल्क फिर्ता गर्ने।

यद्यपि, दाबी अस्वीकार गर्न सक्ने अवधि समाप्त भएपछि बीमा कम्पनीले सामान्यतया आवेदनमा गलत जानकारी दिएको वा छलकपट गरिएका आधारमा बीमालेखको वैधानिकता माथि प्रश्न गर्ने अधिकार गुमाउँछ। यसको अर्थ बीमा कम्पनीले मूल आवेदन फारममा गलत जानकारी दिएको वा छलकपट गरिएका आधारमा मृत्यु दाबी अस्वीकार गर्न सक्दैन। बीमालेख पूर्ण रुपमा वैध बन्छ। तथापि, यसका केही सीमित अपवादहरु हुन्छन्, जहाँ बीमा कम्पनीले दाबी अस्वीकार गर्न सक्ने अवधि समाप्त भएपछि पनि बीमालेखको वैधतामाथि प्रश्न उठाउन सक्छ। यस्ता अपवादहरु सामान्यतया बदनियत वा छलकपटसँग सम्बन्धित हुन्छन्। जसले बीमा करारलाई सुरुदेखि नै शून्य बनाउन सक्छ। जस्तैः

प्रतिरुपणः यदि बीमित व्यक्ति बीमालेखका लागि वास्तवमा आवेदन दिने व्यक्ति नै नभएको प्रमाणित भएमा अर्थात् वास्तविक बीमित नभई अरू कसैले स्वास्थ्य परीक्षण गराएको वा कागजातमा हस्ताक्षर गरेको प्रमाणित भएमा।

बीमायोग्य हितको अभावः बीमालेख लिँदा बीमायोग्य हित नभएको देखिएमा। यद्यपि यस्तो अवस्था प्रायः बीमालेख जोखिमांकन गर्दा नै पत्ता लाग्छ।

आपराधिक मनसायः आपराधिक मनसायका साथ जोखिमसम्बन्धी सारभूत तथ्य लुकाएको वा झुट्टा विवरण दिएको पुष्टि भएमा बीमकले त्यस्तो बीमालेखअन्तर्गत इच्छाइएको व्यक्तिले प्राप्त गर्ने कुनै सुविधा रोक्न सक्नेछ। उदाहरणका लागि हत्याको उद्देश्यका साथ छलकपटपूर्ण जानकारी दिई गराइएको बीमा।

संक्षेपमा बीमकले दाबी अस्वीकार गर्न नसक्ने प्रावधानले बीमालेखअन्तर्गत इच्छाइएको व्यक्तिलाई यो सुनिश्चितता प्रदान गर्छ कि बीमालेखमा तोकिएको अवधिपछि आवेदन प्रक्रियाका क्रममा कुनै जानेर वा नजानेर भएका सामान्य त्रुटिका कारण (बदनियतपूर्वक जोखिमसम्बन्धी सारभूत तथ्य लुकाएको वा झुट्टा विवरण दिएको अवस्थामा बाहेक) दाबी रद्द हुने छैन र बीमालेखमा इच्छाइएको व्यक्तिले दाबी रकम सजिलै प्राप्त गर्नेछ।

नेपालमा बीमकले दाबी अस्वीकार गर्न नसक्ने प्रावधानको व्यवस्था

नेपालमा बीमकले दाबी अस्वीकार गर्न नसक्ने प्रावधानको अवधारणा नेपाल बीमा प्राधिकरणद्वारा जारी गरिएको जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७९ को दफा २४ मा उल्लेख गरिएको छ। उक्त दफाको व्यवस्थाअनुसार बीमालेखमा अन्यथा व्यवस्था भएको र अपवाद खण्डमा उल्लेख भएको अवस्थामा बाहेक बीमालेख जारी भएको वा पुनर्जागरण भएको १ वर्षपछि बीमितले बीमा प्रस्ताव गर्दा कुनै कुरा नखुलाएका कारण देखाई बीमकले दाबी इन्कार गर्न सक्ने छैन। तथापि, बीमालेख जारी भएपछि कुनै बीमितले बदनियतपूर्वक जोखिमसम्बन्धी सारभूत तथ्य लुकाएको वा झुट्टा विवरण दिएको पुष्टि भएमा बीमकले त्यस्तो विवरण सच्याउन बीमितलाई जहिलेसुकै निर्देशन दिन वा बीमितले प्राप्त गर्ने कुनै सुविधा रोक्न सक्नेछ।

धेरैजसो देशमा बीमकले दाबी अस्वीकार गर्न नसक्ने अवधि २ वर्ष प्रचलनमा भए पनि नेपालमा भने त्यस्तो अवधि १ वर्षको मात्र रहेको छ। यस व्यवस्थाले बीमित र उनीहरुका हकवालाहरुलाई फाइदा पुगेको छ। किनकि सारभूत तथ्य लुकाएको वा झुट्टा विवरण दिएका कारण मृत्यु दाबी अस्वीकार गर्न सकिने अवधि १ वर्षमा सीमित भएको छ। तर, यस व्यवस्थाले गर्दा बीमकका जोखिमांकनकर्ताहरुलाई भने बीमा प्रस्ताव स्वीकार गर्ने समयमा कुनै पनि सम्भावित सारभूत तथ्य लुकाएको वा झुट्टा विवरण दिएको पत्ता लगाउन र बीमा प्रस्ताव स्वीकार गर्ने वा नगर्ने कुराको उचित निर्णय लिनका लागि अझ बढी सतर्क रहन र बीमा जोखिमांकनमा विवेकपूर्ण मापदण्डहरु पालना गर्न आवश्यक भएको छ।

(जीवन बीमा कम्पनीमा जोखिमांकनको लामो समयको अनुभव सँगालेका लेखक न्यौपाने बीमा विषयको अध्यापनमा समेत संलग्न छन्।)

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दु :खी

0%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS