काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर ब्रोकर (धितोपत्र दलाल)को न्यूनतम चुक्तापुँजी कायम गर्ने समयावधि थप गरेको छ।
धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम १० मा संशोधन गर्दै न्यूनतम चुक्तापुँजी कायम गर्न २०८२ चैत मसान्तसम्मको समय थप गरेको हो। यसअघि न्यूनतम चुक्तापुँजी कायम गर्नुपर्ने समय २०८२ असार मसान्तसम्म रहेको थियो।
नियमावलीमा गरिएको चौथो संशोधनमार्फत सीमित कार्य गर्ने ब्रोकरको न्यूनतम चुक्तापुँजी २० करोड रुपैयाँ र पूर्ण कार्य गर्ने ब्रोकरको ६० करोड रुपैयाँ तोकिएको छ। यो न्यूनतम चुक्तापुँजी २०८२ असार मसान्तसम्मको समयसीमा रहेको थियो।
अर्थ मन्त्रालयले धितोपत्र बोर्डको नियमावली संशोधनको प्रस्ताव स्वीकृत गरेसँगै अब चैत मसान्तसम्म ब्रोकरहरुलाई न्यूनतम चुक्तापुँजी कायम गर्न समय थप गरिएको हो।
सीमित कार्य गर्ने ब्रोकरले न्यूनतम चुक्तापुँजी २० करोड पुर्याउने योजना पेस गर्न धितोपत्र बोर्डले गत वर्ष पुस मसान्तसम्म समय दिएको थियो। धितोपत्र बोर्डले पुराना ३८ वटा ब्रोकरलाई क्यापिटल प्लान पेस गर्न पत्र नै काटेको थियो।
ती ३८ वटामध्ये अझै २ दर्जन ब्रोकरले न्यूनतम चुक्तापुँजी कायम गरेका छैनन्। ती ब्रोकले मर्जरमा जाने वा बोनस शेयर तथा हकप्रद शेयर जारी गर्ने भनेर धितोपत्र बोर्डमा क्यापिटल प्लान पेस गरेका थिए। योसँगै धितोपत्र बोर्डले धितोपत्र व्यवसायी गाभ्ने, गाभिने वा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०८१ तयार पारेर लागू पनि गरेको छ।
हाल ९० वटा ब्रोकर र २ वटा स्टक डिलर सञ्चालनमा छन्।

















