IME Life New

महेशको मनछुने कहानीः अभिकर्ता पेसाले जीवनको आर्थिक पाटोमा कायापलट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मानपुर टपरा बर्दिया जिल्लाको एउटा भित्री गाउँ हो। आर्थिक अवस्था कमजोर भएकाहरुको बासस्थान। खरले छाएका अनि बाँसले बेरेका घरहरु। छाना पनि खरकै। छाना बनाउँदा बास र बेतको सहायता, यस्तै परिवेशमा जन्मिए अनि हुर्किए महेश दहित थारु।

महेश स्थानीय सरकारी सामुदायिक विद्यालयमा अध्ययन गर्दथे र एसएलसी पनि त्यही स्कुलबाट पास गरे। विद्यालय जीवनमा कक्षामा कहिल्यै तेस्रो हुनु परेन, उनले। कहिले प्रथम त कहिले द्वितीय हुन्थे।

Esewa
Crest

प्लस टु अध्ययनका गर्न जिल्ला सदरमुकाम गुलरिया गए। कलेजले पनि जेहेन्दार, पिछडिएको वर्ग अनि आर्थिक अवस्था कमजोर देखेर सुरुदेखि नै पूर्ण छात्रवृत्ति प्रदान गर्यो, महेशलाई। महेशले एजुकेसन साइन्समा प्लस टु पढ्दै गर्दा स्कुलका विद्यार्थीलाई ट्युसन पढाउन थालिसकेका थिए। जेहेन्दार तथा गरिब विद्यार्थीले आफ्नो पढाइ खर्च उठाउने यो एउटा बलियो र सजिलो माध्यम थियो । त्यसैबाट उनको बस्ने, खाने र अतिरिक्त खर्च जोहो भइरहेको थियो।

यसका बाबजुद पनि पढाइमा अब्बलता हासिल गरी महेशले त्यहाँबाट पास मात्र गरेनन्, कलेज टपसमेत गरे। एजुकेसनमै ब्याचलर अध्ययन गर्न र जीवनको बाँकी यात्रा अघि बढाउन बाँकेको नेपालगन्जतिर लम्के, महेश।

अध्ययनकै क्रममा गाउँमै आफैँले मन पराएकी केटीसँग पारिवारिक सहमतिमै विवाह भयो, उनको। विवाह गरेपछि खर्च बढ्दै गयो। घरमा आमा–बुवालाई पनि सहयोग गर्नै पर्ने।

महेशसँग भएको तत्कालको क्षमता भन्नु नै ट्युसन पढाउनु थियो। ब्याचलरको पढाइमा पनि उनले ट्युसन पढाउने कामलाई निरन्तरता दिन थाले। विस्तारै प्लस टुका विद्यार्थीलाई ट्युसन पढाउँदै गए। उनले पढाएका विद्यार्थीले राम्रै मार्क ल्याएर पास हुँदै गए।

एक विद्यार्थीका अभिभावक बीमा अभिकर्ता अर्थात् एजेन्सी म्यानेजर रहेछन्। उनकै करकाप र जोडबलमा महेश पनि जीवन बीमा कम्पनीमा अभिकर्ताका रुपमा आबद्ध भए। काम गर्नलाई न पढाइले रोक्छ न पढाइलाई कामले रोक्छ। यही प्रमाणित गरिदिए, महेशले। अभिकर्ताको तालिम लिए र लाइसेन्स प्राप्त गरे। सबै भयो तर सुरुआती दिनमा जीवन बीमा व्यवसायमा उनले खासै चासो दिएनन् वा अरुले उनलाई चासो दिएनन्। तर, समयक्रमसँगै ट्युसन पढ्न आउने विद्यार्थीबाटै महेशले जीवन बीमा व्यवसाय गर्न थाले। ट्युसनका विद्यार्थी फेरिरहने हुनाले जीवन बीमा व्यवसाय गर्न सहज भयो। आर्थिक उन्नतिका लागि अवसर पनि प्राप्त भयो, उनलाई।

यता पढाइ पनि स्नातोकत्तरमा महेशले उत्कृष्ट अंकका साथ नेपालगन्जबाटै उत्तीर्ण गरे। आकर्षक आम्दानी हुँदै गएपछि महेशले ट्युसनलाई साइड जब बनाए भने अभिकर्ता पेसालाई मुख्य पेसाका रुपमा अँगाल्न थाले। जीवन बीमा व्यवसायमा सक्रिय भएको छोटो समयमै उनले आफ्नो रहरले त्यसबेलाको सबैभन्दा राम्रो मोटरसाइकल किने र चढ्न थाले।

आम्दानीसँगै महेशको लगाइ, खवाइ र जीवनस्तरमा धेरै परिवर्तन आइसकेका थिए। समाजले उनीमाथि हेर्ने नजरिया नै परिवर्तन भएको थियो। हिजोसम्म ‘ओइ महेश’ भन्ने साथीहरु ‘महेश सर’ नमस्कार भन्न थालेका थिए।

अभिकर्ता पेसाले महेशमा विकास भएको ऊर्जाशीलता, कर्मशीलता अनि नेतृत्वदायी क्षमताले गर्दा आफैँले अध्ययन गरेको विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षका रुपमा चुनिए, त्यो पनि सर्वसम्मत। विद्यालय व्यवस्थापन समितिको नेतृत्वले गाउँमा उनको प्रभाव र विश्वास बढ्दै गयो। जीवन बीमा व्यवसायलाई मुख्य पेसा बनाएका उनले हरेक क्षेत्रमा अवसर देख्न थाले। छोटो समयमा गरेको प्रगति साच्चिकै लोभलाग्दो थियो। अझ भनौँ उत्प्रेरक र प्रेरणादायी थियो।

फस्टाउँदो जीवन बीमा व्यवसायले महेशको जीवनको आर्थिक पाटोमा कायापलट हुन थाल्यो। जीवन बीमा व्यवसायबाट मनग्य आम्दानी गर्न थाले भने आफैँले थप २०० भन्दा बढी सक्रिय अभिकर्ता सञ्जाल निर्माण गरे र अभिकर्ताको सिनियर एजेन्सी म्यानेजर भएर उनको नेतृत्वले थप व्यापकता प्राप्त गर्यो।

समयक्रममा महेश दम्पतीका दुई सन्तान भए। महेशले आफ्ना छोरा–छोरीलाई जिल्लाकै सबैभन्दा राम्रो मानिएको स्कुलमा भर्ना गरे। जुन आममानिसका लागि सहज थिएन। अब त्यो खरको छाना भएको घर भव्य बंगलामा परिणत भइसकेको थियो। अब सो बंगलामा मोटरसाइकलसँगै कार र स्कुटर पनि थपिइसकेको थियो। जीवन बीमा व्यवसायमा पनि उत्कृष्ट व्यवसाय गरी जीवन बीमा कम्पनीबाट निरन्तर सम्मानित हुँदै आए। आम्दानीसँगै उनलाई इज्जत, प्रतिष्ठा र सम्मान प्राप्त हुँदै गए।

सधैँ जीवन एउटै गतिमा चल्दैन। माघ महिना, बिहानको हुस्सु, बाटो स्पष्ट देखिने थिएन। विद्यालयको कामले महेश जिल्ला शिक्षा कार्यालय गुलरिया जानुपर्ने भएकोले बिहानै परिवारसँग बिदा भई हतारले गर्दा उनी मोटरसाइकलमा निस्किए र सदरमुकामका लागि हिँडे। बर्दिया राष्ट्रिय निकुञ्जको बाटो हुँदै जानुपर्ने थियो। बासगढी क्षेत्रमा पुगेपछि फिल्मी शैलीमा आएको एउटा बाघले उनको सातोपुत्लो उढ्यो, होस हवास उढ्यो। विधिको विधान बाघको आक्रमणमा महेशको त्यही त्यतिनैखेर देहान्त भयो। बाटोमा राखेको सीसी क्यामेरा र उनको बाँकी रहेको शरीरको तल्लो भागका कपडा अनि पर्सबाट परिवारले शव पहिचान गरे। सुरक्षाकर्मीको सहायतामा परिवारले बचेकुचेका शव संकलन गर्यो।

दाहसंस्कार गर्यो। घर, परिवार, श्रीमती, बाल बच्चा मात्र होइन पूरै गाउँ नै शोकाकुल बन्यो। गाउँ पूरैले धेरै आशा, भरोसा र विश्वास गरेको व्यक्ति अकास्मात गुमाउनुपर्दा पूरै मानपुर, टपरा क्षेत्र स्तब्ध र दुखित बन्न पुग्यो। सबैजना समवेदान दिन घरमा आए। शोकमा समवेदना व्यक्त गरे।

तर, केही दिनपछि भुल्न थाले। जे पीडा अभाव जीवनभरको थियो त केवल श्रीमती अनि सन्तानलाई। विस्तारै शोकबाट सम्हालिँदै नियमित काममा फर्किन थालेकी थिइन्, श्रीमती। केटाकेटीको विद्यालय, हेरचाह, आफ्नो काम सबै एक्लै भ्याउनुपर्ने बाध्यता थियो, उनमा। समय सधैँ एकैनास रहँदैन। कहिले सुख त कहिले दुःख। दिनहरु सामान्य बनाउँदै लगिन्।

तर, एकदिन जीवन बीमा कम्पनीबाट केही कागजी प्रक्रिया पूरा गर्नका लागि श्रीमतीलाई बोलाइयो। के रहेछ भनेर कौतुहलताका साथ जीवन बीमा कम्पनीमा गइन्। कम्पनीका कर्मचारीले जीवन बीमा जस्तो सामाजिक पेसा अपनाउनु भएका महेशको खुब तारिफ गरे अनि सम्मान व्यक्त गरे। कर्मचारीले महेशले जीवन बीमा व्यवसाय गरेबापत प्राप्त हुने सबै आम्दानी श्रीमतीका नाममा नामसारी गरिदिए। जीवन बीमा व्यवसायबाट नेपाल सरकारको नियमअनुसार औपचारिक रुपमा कर कट्टा गरी अभिकर्ता सेवा प्रवाहबापत प्राप्त हुन आउने एक महिनाको २ लाख रुपैयाँ प्राप्त गरिन् भने त्यसपछि पनि बीमा नवीकरणका आधारमा नियमित आगामी १० वर्षसम्म मासिक आम्दानी प्राप्त हुने कुराले उनको मनमा आफ्ना श्रीमानको सुझबुझ, उनको ज्ञान र आफ्नो परिवारलाई गरेको माया, योगदानप्रति सम्मान जागेर आयो। उनको सम्मानमा श्रीमतीले आँशु थाम्न सकिनन्।

श्रीमानको अनुपस्थितिमा परिवारमा आएको आर्थिक संकटबाट जीवन बीमा अभिकर्ता पेसाले निश्चिन्तता दिलायो। साथै, श्रीमती र सन्तानको जीवनस्तर, शिक्षादीक्षा, उज्ज्वल भविष्यमा कुनै पनि कमी हुन दिएन। त्यसैले त महेसकी श्रीमती पनि हाल त्यही जीवन बीमा कम्पनीको अभिकर्ता भएर आफ्नो जीवनको भोगाइलाई उदाहरण दिँदै जीवन बीमाको महत्व दर्शाइ जीवन बीमा गराउँदै आएकी छिन्।

उनी पनि अहिले महेशकै बाटोमा जीवन बीमा व्यवसायको उदाहरणीय अभिकर्ताका रुपमा उदाउँदै आएकी छिन्। महेशको निधनपछि परिवारमा हुने आर्थिक संकटले परिवार तहसनहस हुनबाट जीवन बीमा अभिकर्ता पेसाले सम्मान र सुरक्षण प्रदान गरेको प्रस्ट हुन्छ। त्यसैले आजै जीवन बीमा अभिकर्ता भई जीवन बीमा व्यवसाय गरी किन ढुक्क नहुने ?

(यो कथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको युट्युबाट लिइएको हो।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS