काठमाडौं । नेपाल राष्ट्र बैंकले नियम मिच्ने ६ लघुवित्त वित्तीय संस्थालाई कारबाही गरेको छ।
केन्द्रीय बैंकको लघुवित्त संस्था सुपरिवेक्षणले आर्थिक वर्ष २०८२।८३ चौथो त्रैमासमा नियामकीय प्रावधान उल्लंघन गरेको फरवार्ड लघुवित्त, धौलागिरी लघुवित्त, मातृभूति लघुवित्त, एनआईसी लघुवित्त, विन नेपाल लघुवित्त र सञ्जीवनी लघुवित्त वित्तीय संस्थालाई कारबाही गरेको छ। तीमध्ये ४ वटा लघुवित्तलाई न्यूनतम पुँजीकोष अनुपात कायम नगरेकोमा र २ वटालाई अनिवार्य नगद मौज्दात कायम नगरेकोमा कारबाही गरिएको छ।
राष्ट्र बैंकको प्रावधानअनुसार न्यूनतम पुँजीकोष अनुपात ८ प्रतिशत हुनुपर्छ। तर, फरवार्ड लघुवित्तको ६.१२ प्रतिशत, धौलागिरी लघुवित्तको ६.३८ प्रतिशत, मातृभूमि लघुवित्तको ४.०८ प्रतिशत र एनआईसीको ६.३९ प्रतिशत रहेको छ। यी लघुवित्तलाई शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३(ख)बमोजिम शीघ्र सुधारात्मकसम्बन्धी कारबाही गरिएको छ।
यसैगरी राष्ट्र बैंकले २०८२ चैतमा अनिवार्य नगद मौज्दात कायम नगरेकोमा विन नेपाल लघुवित्तलाई ५८.३८ रुपैयाँ र सञ्जीवनी लघुवित्तलाई २०८२ चैत, २०८३ वैशाख, जेठ र असार महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेकोमा क्रमशः ७१३.८८ रुपैयाँ, १०६७.४० रुपैयाँ, १४१२.९१ रुपैयाँ र १४१०.७८ रुपैयाँ नगद जरिवाना गरिएको छ।












