काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को लागि हालसम्म चार वटा विकास बैंकले लाभांश घोषणा गरेका छन् । यी बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।
हालसम्म लाभांश घोषणा गर्ने विकास बैंकमा शाइन रेसुङगा डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र गरिमा विकास बैंक हुन् ।
शाइन रेसुङगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा बोनस शेयर ६ प्रतिशत र नगद लाभांश १० प्रतिशत (करसहित) रहेका छन्। हाल बैंकको चुक्तापुँजी ५ अर्ब २ करोड १९ लाख ७२ हजार ७२९.९३ रुपैयाँ रहेको छ। बैंकले साधारण सभा तथा बुक क्लोज मिति तय गरेको छैन् ।
कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४ अर्ब २१ करोड १९ लाख ३० हजार ८१४.९४ रुपैयाँमध्ये अग्राधिकार शेयरपुँजी ३५ करोड रुपैयाँ बाँडफाँट भएको मितिबाट गत असार मसान्तसम्म आनुपातिक रुपमा ९ प्रतिशतका दरले हुन आउने रकम १ करोड ४० लाख ६७ हजार १२३.२९ रुपैयाँ र साधारण शेयरपुँजी ३ अर्ब ८६ करोड १९ लाख ३० हजार ८१४.९४ रुपैयाँको १५ प्रतिशतले हुन आउने ५७ करोड ९२ लाख ८९ हजार ६२२.२४ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकले भदौ ३१ गते साधारण सभा सम्पन्न गरी प्रस्तावित लाभांश पारित गरिसकेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५.५३ रुपैयाँको कुल १०.५२६३ प्रतिशतले हुन आउने ३९ करोड ३० लाख ५९ हजार ८४२.६९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसमा ४ प्रतिशतले हुन आउने १४ करोड ९३ लाख ६२ हजार ७४०.२२ रुपैयाँबराबरको बोनस शेयर र ६.५२६३ प्रतिशतले हुन आउने २४ करोड ३६ लाख ९७ हजार १०२.४७ रुपैयाँबराबरको नगद लाभांश (नगद र बोनसमा लाग्ने करसहित) रहेका छन्।
बैंकले आउँदो असोज २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान १० बजेबाट सुरु हुनेछ। लाभांश र सभा प्रयोजनार्थ बैंकले असोज ८ गतेदेखि असोज २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
गरिमा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्तापुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७.२२ रुपैयाँको कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसहित) छन्। बैंकले उक्त लाभांश पारित गर्नका लागि आउँदो असोज २६ गते आयोजना गर्ने निर्णय गरेको हो। पोखराको बिरौटास्थित होटल पोखरा ग्रान्डमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।
लाभांश र सभा प्रयोजनार्थ बैंकले असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १३ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
लाभांश घोषणा गरेका चार विकास बैंकमध्ये अझै ३ विकास बैंक: गरिमा विकास बैंक,सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुङगा डेभलपमेन्ट बैंकको शेयर किन्दा प्रस्तावित लाभांश पाइनेछ ।












