IME Life New

सहायक कम्पनीमा माउ बीमककै कर्मचारी सञ्चालक बस्न पाउने गरी ऐन संशोधन हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरूले लगानी गरेका सहायक कम्पनीमा माउ कम्पनीकै तर्फबाट सञ्चालक तोक्न सहज बनाउँदै बीमा ऐन, २०७९ संशोधन गर्न लागिएको छ। संशोधनको मस्यौदामा ऐनको दफा ५० (सञ्चालक बन्न अयोग्य हुने व्यवस्था) को खण्ड (ट) लाई स्पष्ट पारिएको छ।

अहिलेको ऐनअनुसार सार्वजनिक पदमा बसेको व्यक्ति वा सरकार, सरकारी संस्था, प्राधिकरण, बोर्ड, बीमा कम्पनी र बैंक तथा वित्तीय संस्थामा काम गरिरहेका बहालवाला कर्मचारी कुनै पनि बीमा कम्पनीको सञ्चालक बन्न पाउँदैनन्। तर, सोही दफाको अर्को बुँदामा सरकार वा कुनै बीमा कम्पनीले सेयर किनेको अर्को खालको बीमा कम्पनीमा भने ‘सञ्चालक मनोनीत गर्न’ बाधा नपर्ने लेखिएको थियो।
अबको संशोधनमा त्यही ‘सञ्चालक मनोनीत गर्न’ भन्ने शब्द हटाएर ‘सञ्चालक भई प्रतिनिधित्व गर्न’ भनेर राख्न प्रस्ताव गरिएको छ। मस्यौदामा उल्लेख भएअनुसार सहायक कम्पनीहरूमा माउ बीमा कम्पनीको प्रतिनिधित्व पक्का गर्न यो परिवर्तन आवश्यक देखिएको हो।

Esewa
Crest

पहिलेको ऐनमा ‘सञ्चालक मनोनीत गर्न’ मात्र लेखिँदा एउटा अलमल थियो, माउ कम्पनीको बहालवाला कर्मचारी आफैँ सञ्चालक बनेर जाने कि बाहिरको मान्छेलाई पठाउने ?एकातिर बहालवाला कर्मचारी सञ्चालक बन्न नपाउने नियम छ,अर्कोतिर ‘मनोनीत गर्न’ मात्र भनिएको छ। यसले गर्दा माउ कम्पनीका उच्च अधिकारी वा कर्मचारीले सहायक कम्पनीको सञ्चालक समितिमा बसेर प्रत्यक्ष काम गर्न कानुनी अप्ठ्यारो परिरहेको थियो। अब ‘सञ्चालक भई प्रतिनिधित्व गर्न’ भन्ने प्रस्ट लेखिएपछि माउ कम्पनीकै कर्मचारी वा पदाधिकारी सिधै सहायक कम्पनीको बोर्डमा जान पाउनेछन्।

बीमा कम्पनीहरूले मर्चेन्ट बैंकिङ, लघुबीमा र इन्भेस्टमेन्ट जस्ता सहायक कम्पनीहरूमा ठूलो लगानी गरेका हुन्छन्। आफ्नै कम्पनीका पदाधिकारी सञ्चालक बनेर जाँदा माउ कम्पनीको नीति लागू गर्न र आफ्नो लगानी सुरक्षित राख्न प्रत्यक्ष निगरानी पुग्छ।

यसैगरी सरकारी स्वामित्व र लगानी भएका बीमा कम्पनीहरूमा प्रमुख कार्यकारी अधिकृत सीईओ पठाउन परेको कानूनी अप्ठ्यारो फुकाउन बीमा ऐन, २०७९ संशोधन गर्न लागिएको छ। संशोधनको मस्यौदामा ऐनको दफा ५७ को उपदफा (५) को खण्ड (छ) लाई सच्याएर सरकारलाई सीईओ नियुक्त गर्ने बाटो खुला गर्न खोजिएको हो।

अहिलेको ऐनको दफा ५७ ले बीमा कम्पनीको सीईओ बन्न नपाउने व्यक्तिहरूको सूची तोकेको छ। जसअनुसार कुनै पनि बीमा कम्पनीको अध्यक्ष वा सञ्चालक समितिको अध्यक्ष भइसकेको मान्छे सीईओ बन्न पाउँदैन। तर, त्यही बुँदाको तल्लो भागमा भने नेपाल सरकारले बीमकको अध्यक्ष वा सञ्चालकमा नियुक्त गर्न यो व्यवस्थाले बाधा पुगेको मानिने छैन भनेर लेखिएको थियो।

सीईओ बन्न नपाउने नियम लेखिएको ठाउँमा ‘अध्यक्ष वा सञ्चालकमा नियुक्त गर्न बाधा नपुग्ने’ भन्ने नमिलेको शब्द परेको थियो। यही त्रुटीले गर्दा सरकारी लगानीका बीमा कम्पनीमा सरकारले आफ्ना कर्मचारी खटाएर सीईओ बनाउन कानूनी समस्या परिरहेको थियो।

अबको संशोधनमा त्यही गल्ती सच्याउँदै अध्यक्ष वा सञ्चालकमा भन्ने शब्द हटाएर कार्यकारी प्रमुख राख्न प्रस्ताव गरिएको छ। मस्यौदामा पनि सरकारी लगानी भएका बीमा कम्पनीहरूमा प्रमुख कार्यकारी नियुक्त गर्न कर्मचारी खटाउन समस्या परेकाले यो गाँठो फुकाउन आवश्यक रहेको उल्लेख छ।

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी जस्ता सरकारी लगानी भएका संस्थामा अब सरकारले चाहेका बेला अन्य कुनै बीमकको सञ्चालक वा अध्यक्ष भइ सकेको व्यक्ति (प्रायःजसो नेपाल सरकारको प्रतिनिधित्व गरेर त्यस्तो जिम्मेवारी सम्हालेका निजामती कर्मचारी वा सरकारी प्रतिनिधि), वा सरकारी कर्मचारी खटाएर सीईओको जिम्मेवारी दिन सक्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS