IME Life New
GBIME

जानीराख्नुहोस व्यतित, चुक्ता र समर्पण तथा ऋणयोग्य बीमालेख भनेको के हो ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

जीवन बीमामा बीमाशुल्क तिर्न नसकेको खण्डमा बीमालेख के हुन्छ ? बीमालेख कुन अवस्थामा व्यतित हुन्छ र कुन अवस्थामा चुक्ता ? बीमालेख कहिले समर्पणका लागि योग्य हुन्छ ? अनि बीमालेखमा ऋण सुविधा कुन अवस्थामा उपलब्ध हुन्छ ? आउनुहोस् आज बीमाशुल्क भुक्तनी नगरेको खण्डमा आउन सक्ने अवस्था अनि यससँग सम्बन्धित सुविधाबारे बुझने प्रयास गरौँ।

जीवन बीमामा बीमा योजनाअनुसार बीमाशुल्क भुक्तानीको विकल्पहरु प्रदान गरिएको हुन्छ। हाल प्रचलित बीमा योजनाहरुमा विशेषगरी वार्षिक, अर्धवार्षिक, त्रैमासिक तथा मासिक रुपमा किस्ता तिर्ने विकल्पहरु रहेका छन्। अर्थात वार्षिक रुपमा किस्ता भुक्तानी गर्नुपर्ने विकल्पमा बीमा सुरु भएको ठीक १ वर्षमा, अर्धवार्षिकमा ६ महिनामा, त्रैमासिक विकल्पमा ३ महिनामा र मासिक भुक्तानी गर्नुपर्ने विकल्पमा बीमा सुरु भएको ठीक १ महिनापछि अर्को किस्ता भुक्तानी गर्नुपर्ने हुन्छ। यी विकल्पमध्ये वार्षिक, अर्धवार्षिक तथा त्रैमासिक रुपमा बीमाशुल्क तिर्न विकल्पमा ३० दिनको तथा मासिक रुपमा किस्ता तिर्ने विकल्पमा १५ दिनको ग्रेस अवधि दिएको हुन्छ।

Crest

ग्रेस अवधि

जीवन बीमामा ग्रेस अवधि भनेको बीमाशुल्क तिर्नुपर्ने मितिमा थप प्रदान गरिने अवधि हो। अर्थात बीमाशुल्क तिर्नुपर्ने मितिले थप ३० दिनसम्म बीमालेख चालु अवस्थामा नै रहन्छ र बीमितको मृत्य भएको खण्डमा बीमितले पूर्ण बीमांक बराबरको दाबी पाउँछ।
ग्रेस अवधिभित्र बीमा शुल्क नतिरेको अवस्थामा भने बीमालेख व्यतित हुन्छ।

व्यतित बीमालेख

व्यतित अर्थात ल्याप्स बीमालेख दुई प्रकृतिका हुन्छन्। पहिलो प्रकार भनेको एउटामात्र किस्ता तिरेर (वार्षिकबाहेक अन्य विकल्पको हकमा भने पूरा २ वर्ष नतिरेको) बीमालेख व्यतित भएको अवस्था हो। जसलाई विशुद्ध व्यतित (पियोर ल्याप्स) वा व्यतित (ल्याप्स) मात्र पनि भन्ने चलन छ। यसरी व्यतित भएको अवस्थामा बीमितले कुनै सुविधा पाउँदैन र बीमा कम्पनीले पनि कुनै दायित्व बहन गर्दैन। एक किस्तामात्र बीमाशुल्क भुक्तानी गर्दा किन बीमितले केही पनि पाउँदैन भन्ने कुरा हामीले यसअघिको लेखमा चर्चा गरेका छौँ।

अर्को अवस्था भनेको व्यतित बीमालेख चुक्ता बीमालेखमा परिणत हुने अवस्था हो। पूरा २ वर्षको वा बढी बीमाशुल्क भुक्तानी गरेपश्चात व्यतित भएको बीमालेख भने चुक्ता बीमालेखमा परिणत हुन्छ र बीमितले बीमा अवधिको समाप्तिमा वा मृत्युमा चुक्तामूल्य प्राप्त गर्छ। नेपाल बीमा प्राधिकरणले ‘जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७७’ जारी गर्नुअघिका कतिपय बीमालेखमा भने बीमालेख व्यतित बीमालेखमा परिणत हुन ३ वर्षको पूरा बीमाशुल्क भुक्तानी गर्नुपर्ने व्यवस्थासमेत थियो।

जीवन बीमामा बीमा कम्पनीहरुले एउटा विशेष सुविधा पनि प्रदान गर्ने गरेका छन्। जसअन्तर्गत चुक्ता बीमालेखमा परिणत भइसकेको बीमालेखको हकमा बीमा व्यतित भएको थप १ वर्षसम्म बीमितको मृत्यु भएमा १ वर्षको बीमाशुल्क कटाएर पूर्ण बीमांक रकम प्रदान गर्ने गरिन्छ। सो अवधिपछि भने मृत्यु भएको खण्डमा बीमितले चुक्ता मूल्यमात्र प्रदान गर्छ।

चुक्ता बीमालेखको चुक्ता मूल्य

चुक्ता मूल्य बुझ्नुभन्दा अगाडि चुक्ता बीमांक बुझौँ। चुक्ता बीमांक भनेको आफूले तिरेको बीमाशुल्कअनुसार मूल बीमांकको समायोजन हो। जुन कुल तिरेको बीमाशुल्कलाई पूरा तिर्नुपर्ने बीमाशुल्कले भाग गरी मूल बीमांकलाई गुणन गर्दा प्राप्त हुन्छ। उदाहरणका लागि कोही व्यक्तिले १५ वर्षका लागि १० लाख बीमांकबराबरको बीमा गर्छ र २ किस्तामात्र बीमाशुल्क तिरेर अन्य बीमाशुल्क तिर्दैन भने उसको चुक्ता बीमांक २/१५ ८ १०००००० बराबर १३३३३३.३३ हुन्छ।

दुई किस्ता बीमाशुल्क तिरेबापत २ वर्षको बोनस पनि आर्जन भएको हुन्छ। अघिकै उदाहरणमा ६० प्रतिहजारको दरले २ वर्षको आर्जित बोनस गणना गर्ने हो भने उक्त बीमालेखमा वर्षको ६०००० ले २ वर्षमा १२०००० बोनस आर्जन हुन्छ। चुक्ता बीमांकको १३३३३३.३३ र आर्जित बोनस १२००० गरी २५३३३३.३३ हुन्छ। यही आर्जित बोनस र चुक्ता बीमांक जोडेर आउने रकम नै चुक्ता बीमालेखको चुक्ता मूल्य हो। जुन बीमा समाप्तिको अन्त्यमा वा बीमितको मृत्युमा प्राप्त हुन्छ।

व्यतित बीमालेखको पुनर्जागरण

बीमालेख व्यतित त भयो अब के गर्न सकिन्छ त ? व्यतित भएको बीमालेखलाई जुनसुकै बेला पनि पुनर्जागरण गर्न सकिन्छ। बीमालेखअन्तर्गतको बीमाशुल्क ग्रेस अवधिभित्र भुक्तानी गर्दा कुनै पनि ब्याज वा जरिवाना लाग्दैन भने व्यतित भएको ६ महिना (बीमाशुल्क भुक्तान गर्नुपर्ने मितिबाट)सम्म ब्याज वा जरिवाना बुझाएर बीमाशुल्क भुक्तानी गर्न मिल्छ भने त्योभन्दा पछि पुनर्जागरण गर्नुपर्दा चाहिँ पुनर्जागरण फारम भरेर बीमाको सुरुमा जस्तै आवश्यक मेडिकलसमेत बुझाएर पुनर्जागरण गर्न पर्ने हुन्छ। व्यतित बीमालेख पुनर्जागरणका लागि बीमा कम्पनीहरुले ब्याजमा छुट गर्ने अफरहरु पनि चलाइरहेका हुन्छन्।

बीमाशुल्क भुक्तानी गर्ने नसकेको अवस्थामा व्यतित बीमालेखलाई समर्पण पनि गर्न सकिन्छ।

बीमालेखको समर्पण

पूरा २ वर्षको बीमाशुल्क भुक्तानी गरेपछि बीमालेख चुक्ता बीमालेखमा त परिणत हुन्छ तर समर्पण भने गर्न मिल्दैन। बीमालेख समर्पण गर्नका निम्ति भने कम्तीमा पूरा ३ वर्षको बीमाशुल्क तिरेर बीमा सुचारु भएको मितिले ३ वर्ष पुगेपछि मात्र पाइन्छ। बीमालेख समर्पण गर्दा पाइने रकम भनेको बीमालेखको चुक्ता मूल्य जुन बीमा आवधिमा प्रदान गरिन्छ। त्यसलाई आजको दिनको मूल्यमा गणना गरी प्रदान गरिन्छ। समर्पण मूल्य कसरी गणना हुन्छ भन्ने विस्तृत गणना विधि हामीले यसअघिकै लेखमा प्रस्तुत गरिसकेका छौँ।

बीमालेख चालु नै रहेको अवस्थामा भने बीमितले बीमा समर्पण नगरी बीमालेखअन्तर्गत ऋण लिने सुविधा पनि हुन्छ। बीमितले समर्पण मूल्यको ९० प्रतिशत हुन आउने रकम कर्जाको रुपमा प्राप्त गर्न सक्छ।

सारांश

ग्रेस अवधिभित्र बीमाशुल्क नतिरेको खण्डमा बीमालेख व्यतित हुन्छ। १ वर्षसम्मको मात्र बीमाशुल्क तिरेर व्यतित भएको बीमालेखमा बीमितले कुनै पनि सुविधा प्राप्त गर्दैन। पूरा २ वर्षको मात्र बीमाशुल्क तिरेर व्यतित भएको अवस्थामा बीमालेख चुक्ता बीमालेखमा परिणत हुन्छ र बीमितले मृत्युमा वा बीमा अवधिको अन्त्यमा मात्र चुक्ता मूल्य प्राप्त गर्दछ तर बीमा अवधिको बीचमा समर्पण गरी समर्पण मूल्य प्राप्त गर्न सक्दैन। कम्तीमा ३ वर्षसम्मको बीमाशुल्क तिरेर बीमा व्यतित भएको अवस्थामा भने बीमितले बीमालेख चुक्ता नै राखेर मृत्यु वा बीमा अवधिको अन्त्यमा चुक्ता मूल्य प्राप्त गर्न त सक्छ नै बीचमै बीमालेख समर्पण गरी समर्पण मूल्यसमेत प्राप्त गर्न सक्छ। पूरा ३ वर्षको बीमाशुल्क तिरेर बीमा सुरु भएको ३ वर्ष पूरा भइसकेपछि बीमालेख चालु होस् या व्यतित जुन अवस्थामा पनि बीमा समर्पण गर्न सकिन्छ भने बीमालेख चालु रहेको अवस्थामा चाहिँ समर्पण मूल्यको ९० प्रतिशत हुन आउने रकमबराबरको ऋण पनि प्राप्त गर्न सकिन्छ। व्यतित भएको बीमालेख जुनसुकै बेलामा पनि पुनर्जागरण गर्ने मिल्छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS