काठमाडौं । हाल बैंकको मुद्दति निक्षेपको बयाजदार न्यून छ। शेयर बजार सुनसान छ। घरजग्गाको कारोबार ठप्प जस्तै छ। यस्तो परिस्थितिमा आम जनताले एकल बीमाशुल्कको जीवन बीमालाई लगानीको विकल्पका रुपमा हेरेको देखिन्छ। यस आर्थिक वर्षमा बीमा कम्पनीले संकलन गरेको पहिलो बीमाशुल्कमा एकल बीमाशुल्कको अनुपात हेर्ने हो भने यस कुराको थप पुष्टि हुन्छ। तर के एकल बीमाशुल्कको बीमा लगानीको सही विकल्प हो त ? के एकल बीमाशुल्कको लगानीले अरु लगानीभन्दा राम्रो प्रतिफल दिन्छ त ? आउनुहोस् आज एकल बीमाशुल्कको बीमा र त्यसको प्रतिफलबारे बुझौँ।
के हो एकल बीमाशुल्कको जीवन बीमा ?
निर्जीवन होस या जीवन बीमा प्राय बीमा भन्नेवित्तिकै वार्षिक रुपमा बीमाशुल्क भुक्तानी गर्नुपर्ने अथवा त्यही वार्षिक बीमाशुल्कलाई अर्धवार्षिक, त्रैमासिक वा मासिक रुपमा भुक्तानी गर्ने आमबुझाइ हुन्छ। तर, जीवन बीमामा यीबाहेक अर्को पनि बीमाशुल्क भुक्तानीको विकल्प रहन्छ। जुन हो, एकल बीमाशुल्क भुक्तानीको विकल्प। यस विकल्पअन्तर्गत बीमा अवधिभरि भुक्तानी गर्नुपर्ने बीमाशुल्क बीमाको सुरुवातमा नै एकमुष्ट भुक्तानी गरिन्छ र बीमा अवधिभरि केही पनि भुक्तानी गर्न पर्दैन। बीमा अवधिको अन्त्यमा बीमितले बोनससहित बीमांक रकम फिर्ता पाउँछ। बीमा भएकोले बीमा अवधिभित्र मृत्यु भएमा बीमांक र आर्जित बोनस प्राप्त हुने त भयो नै।
बीमाको सुरआतमा एकमुष्ठ बीमाशुल्क भुक्तानी गर्न पर्ने र बीमा अवधिको अन्त्यमा एकमुष्ठ रकम फिर्ता आउने हुँदा यसलाई बैंकको मुद्दति निक्षेपसँग पनि तुलना गर्ने गरिन्छ। पछिल्लो समय यसलाई बैंकको लगानीको राम्रो विकल्पका रुपमा ग्राहकले रुचाएको जस्तो देखिन्छ।
बैंकको ब्याज र बीमाको बोनसको भिन्नता
बैंकको ब्याजदर र बीमाको बोनसको भिन्नताबारे हामीले पटक–पटक लेख लेख्दै आएका छौँ नै। यसमध्ये दुई वटा बिर्सिनै नहुने कुरा के हो भने बीमामा बीमांकमा बोनस आर्जित हुन्छ भने बैंकमा आफूले निक्षेप गरेको रकममा ब्याज प्राप्त हुन्छ तर बैंकको निक्षेपबापत वार्षिक ब्याज अझ प्रायः त्रैमासिकमै प्राप्त हुन्छ। तर, बीमामा बोनस वार्षिक आर्जित भए पनि बीमितले बीमा अवधिको समाप्तिमा मात्र प्राप्त गर्छ।
उदाहरणका लागि कुनै एक व्यक्तिले ७० हजारको एकल बीमाशुल्क भुक्तानी गरेर १ लाखको बीमा गर्छ र उक्त बीमामा रु. ५० प्रतिहजार अर्थात ५ प्रतिशत वार्षिक बोनस प्राप्त गर्छ भने बीमा अवधिको अन्त्यमा उसले बीमांकबापतको १ लाख र वार्षिक ५ हजारको बोनसले १५ वर्षमा ७५ हजार प्राप्त गर्छ।
अर्को कुनै व्यक्तिले ५ प्रतिशत (सरलताका लागि वर्षमा एकपटक मात्र प्रदान गरिने ब्याजलाई लिऔँ) ब्याजमा १ लाख रुपैयाँ मुद्दति निक्षेपमा राख्छ भने उसले वार्षिक ५ हजार र १५ वर्षको अन्त्यमा १ लाख प्राप्त गर्छ। यसरी उसले बैंकको निक्षेप अवधिभर ७५ हजार र अन्तिममा १ लाख गरेर १ लाख ७५ हजार प्राप्त गर्छ।
कुल प्रतिफल कति ?
माथिको उदाहरणमा बीमामा ७० हजार लगानी गरेर १ लाख ७५ हजार र बैंकमा १ लाख लगानी गरेर उही १ लाख ७५ हजार प्राप्त गरेको देखियो। तर, फेरि अघिको कुरा सम्झनुस् त– बैकको ब्याज र वार्षिक हातमा आएकोथ्यो। अब फेरि त्यो वार्षिक लगानीलाई बैंकमा नै राख्ने हो र बीमामा जसरी अन्तिममा प्राप्त गर्ने हो भने कति हो? हो, हामीले सुरुको तुलनामा पैसा प्राप्त गर्ने समय ख्याल गरेनौँ। तर, पैसा प्राप्त गर्ने समयलाई पनि आधार मानेर ग्राहकले प्रात गर्ने खास प्रतिफल कति हो त ?
बैंकको हिसाबले नै हेर्ने हो भने सुरुमा रकम जम्मा गर्ने वार्षिक जम्मा ५ प्रतिशत ब्याज प्राप्त गर्ने र अन्तिममा रकम फिर्ता हुने हुँदा यसको वार्षिक प्रतिफल ५ प्रतिशत नै हुने भयो तर बीमामा बीमाशुल्क नभई बीमांकमा बोनस आर्जित हुन्छ। तर, बोनस अनितमा मात्र प्राप्त हुँदा यसको बैकको लगानीमा जसरी प्रतिफल निकाल्न इन्टरनल रेट या रिटर्नको सूत्र प्रयोग गर्नुपर्ने हुन्छ। उक्त सूत्रअनुसार माथिको उदाहरणमा बैंकको वार्षिक प्रतिफल ५ प्रतिशत नै हुन्छ भने बीमाको ६.३ प्रतिशत हुन जान्छ। अर्थात् बैंकमा लगानीको ५ प्रतिशत प्रतिफल प्राप्त भयो भने बीमामा लगानीको ६.३ प्रतिशत। यो अवस्थामा बीमाको लगानी फाइदाजनक देखियो। तर, के वास्तविकता यही हो त ?
अस्थिर ब्याजदार, स्थिर बोनस
अहिलेको बैंकको ब्याजदर हेर्दा बैंकको निक्षेपको प्रतिफलभन्दा बीमामा बढी प्रतिफल देखिए पनि अघिको उदाहरणमा बैंकको वार्षिक ब्याज ६.५ प्रतिशतमात्र हुँदा पनि बीमाको प्रतिफल (६.३ प्रतिशत) भन्दा बढी हुन्छ। बैंकको ब्याजदारको तुलनामा बीमाको बोनस स्थिर त हुन्छ तर याद रहोस् बैंकको ब्याज १३ प्रतिशत नै पुग्दा पनि बीमाले दिने प्रतिफल अहिलेको जति नै थियो। बैंकको ब्याजदार १३ प्रतिशत हुँदा बीमा गर्न आउने ग्राहक होस् या बैंकको ब्याजदर ५ प्रतिशत हुँदा बीमा गर्न आउने ग्राहक सबै बीमितलाई बीमाले उति नै बोनस प्रादन गर्दछ। जसले गर्दा बोनस स्थिर त रहन्छ तर बीमा कम्पनीकै लगानीको मुख्य स्रोत बैंकको मुद्दति निक्षेप भनेको हुँदा लामो समयसम्म बैंकको ब्याजदार अहिले कै अवस्थामा रहने हो भने बीमाको बोनस पनि निश्चित नै घट्दछ।
समर्पण गर्दा प्रतिफल न्यून
एकल बीमाशुल्कमा लगानी गर्दै गर्दा के कुरा बिर्सिनु हुँदैन भने यो केवल लगानीको माध्यम नभई मुख्यतः जोखिम बहन गर्नका लागि माध्यम अर्थात बीमा हो र यसमा बीमाकै सिद्धान्त लागू हुन्छन्। जीवन बीमा लामो समयका लागि गरिने हुँदा बीमा बीचमै छोड्नुपर्दा समर्पण मूल्यमात्र प्राप्त हुन्छ, जसको प्रतिफल अत्यन्तै न्यून हुन्छ। बैंकको ब्याज ह्यातै बढ्यो, अब बीमाको रकम झिकेर बैंकमा लगानी गर्छु भन्ने अवस्था रहन्न। किनकि बीचमै बीमा सम्पर्ण गर्दा सुरुमा हिसाब गरिएको भन्दा निकै काम प्रतिफल पाइन्छ। कतिपय अवस्थामा त चाँडो समर्पण गर्दा तिरेको बीमाशुल्क पनि नउठ्न सक्छ। जस्तो ३ वर्षपछि एकल बीमाशुल्कको बीमा समर्पण गर्ने हो भने तिरेको बीमाशुल्कको ८० प्रतिशत र आर्जित बोनस पाइन्छ। उक्त आर्जित बोनस आजको मूल्यमा गणना हुने हुँदा एकदमै कम हुन जान्छ।
अघिकै उदाहरणमा एक व्यक्तिले ७० हजारको एकल बीमाशुल्क भुक्तानी गरेर १ लाखको बीमा गर्छ र उक्त बीमामा रु. ५० प्रतिहजार वार्षिक बोनस प्राप्त गर्छ भने ३ वर्षमा उसले वार्षिक ५०/१०००८१००००० अर्थात ५ हजारको दरले त३ वर्षमा १५ हजार बोनस आर्जन गर्छ। उक्त १५ हजार बीमा अवधि सामाप्तिमा प्राप्त गर्ने रकम भएको हुँदा आजको दिनमा उक्त रकमको मूल्य जम्मा ७ हजार ५०० हुन आउँछ। अन्ततः तिरेको बीमाशुल्क ७० हजारको ८० प्रतिशतले ५६ हजार र बोनसबापतको ७ हजार ५०० ले जम्मा ६३ हजार ५०० मात्र समपर्ण मूल्यका रुपमा प्राप्त हुन्छ अर्थात् तिरेको बीमाशुल्कभन्दा काम प्राप्त हुन्छ।
बीमाको पूर्णप्रतिफल पाउनका लागि बीमा अन्त्यसम्म नै पर्खिनुपर्ने हुन्छ।
अन्त्यमा
जीवन बीमा कम्पनीले संकलन गर्ने बीमाशुल्क लगानी गर्ने मुख्य क्षेत्र नै बैंकको मुद्दति निक्षेप हो। बीमा कम्पनीले त्यस क्षेत्रबाट प्राप्त गर्ने प्रतिफल बीमा कम्पनी र बीमितले बाँड्ने हो। तसर्थ जोखिम बहनसहितको लगानीको माध्यम अर्थात् जीवन बीमाको प्रतिफल लगानीमात्रको क्षेत्र अर्थात् मुद्दति निक्षेपभन्दा बढी हुन सक्दैन। हालको अवस्थालाई मध्यनजर गर्दा छोटो समयका लागि बीमाको प्रतिफल बढी देखिए पनि लामो समयसम्म बैंकको ब्याजमा ठूलो हेरेफेर हुन सक्ने अनि बीमामा लगानी गरेको रकम बीचमै समपर्ण गर्दा पूर्णप्रतिफल प्राप्त नहुने हुँदा बीमालाई नितान्त लगानीमात्रको विकल्पका रुपमा हेरेर पैसा लगानी गर्नु उपयुक्त देखिँदैन।