काठमाडौं । नेपाल बीमा प्राधिकरणले गरिब विपन्न तथा ग्रामीण क्षेत्रका बासिन्दाको जीवनमा आइपर्ने वित्तीय र ज्यानको जोखिमलाई मध्यनजर गरेर विशेष प्रकृतिका जोखिम बहनका लागि विशिष्टीकृत लघु बीमा योजनालाई प्राथमिकता दिएको छ।
प्राधिकरणले लघु तथा साना लगानीका व्यवसायको जोखिम बहनका लागि लघु व्यवसाय सुरक्षा लघु बीमालेख जारी गर्ने तयारी गरेको हो। यसको मस्यौदालाई अन्तिम रुप दिएर स्तरिकृत बीमालेख सार्वजनिक गर्नेछ।
प्राधिकरणका अनुसार व्यवसाय गर्ने क्रममा व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएमा क्षतिपूर्ति प्रदान गर्ने स्तरीकृत बीमालेख र लघु व्यवसाय सुरक्षा लघु बीमालेख ल्याउन लागिएको हो । यसबाहेक ग्रामीण क्षेत्रका साना निर्माण संरचनाको क्षति रक्षावरण गर्ने स्तरीकृत बीमालेख पनि प्राधिकरणले जारी गर्ने भएको छ। यसले स–साना तर संगठित निर्माण संरचनाको ठेकेदार कम्पनी र सम्बन्धित धनीलाई राहात मिल्नेछ।
प्राधिकरणले यसअघि नै प्राधिकरणले वन्यजन्तुको जोखिम केन्द्रित बीमालेखका रुपमा नवीनतम (मध्यवर्ती क्षेत्र) बीमालेख जारी गरिसकेको छ। यसबाहेक प्राधिकरणले सबै निर्जीवन बीमकले कार्यान्वयनमा ल्याउन सक्ने गरी घोडा बीमालेख र मौसमी सूचकांक बीमाअन्तर्गत बाढी बीमालेख, मौसम सूचकांक बीमाअन्तर्गत धानबाली बीमालेख र आलु बीमालेखका सम्बन्धमा कार्य प्रारम्भ गरिएको जनाएको छ।












