- दिनेश कुमार लाल,
पृष्ठभूमि
मानिसको जीवन, सम्पत्ति तथा दायित्वको वित्तीय नोक्सानीको क्षतिपूर्ति प्रदान गरिने प्रक्रिया नै बीमा हो। बीमा जोखिम व्यवस्थापनको एक महत्वपूर्ण औजार हो। जीवन वा सम्पत्तिको नोक्सानीबाट हुने क्षति न्यूनीकरण गर्न र सम्पत्तिको आर्थिकसुरक्षा प्रदान गरी जोखिम व्यवस्थापन गर्ने कार्य बीमाले गर्दछ। आजको दिनमाविश्वभर हेर्ने हो भने विश्वमा कुनै न कुनै रुपमा जोखिमको भूमरी मडारिइरहेको छ। यस्ता जोखिमबाट छुट्कारा कसरी पाउने भन्ने विषयमा मानवीय चासो र चिन्ता हुनु स्वभाविक नै हो। कुनै पनि घटनालाई बीमाले रोक्न सक्दैन। तर, घट्नाबाट उत्पन्न हुने आर्थिक नोक्सानीको पूर्ति गरी मानवलाई चिन्तामुक्त बनाउन सक्नेगरी नै बीमाको विकास भएको हो। बीमाको विकास हुँदै जाँदा यसको अभ्यास एवम् प्रचलन क्रमिक रुपमा विश्वभरी नै विस्तार हुँदै गएको पाइन्छ। बीमा विश्वको प्राचीन सामाजिक साधनहरुमध्येको एउटा साधन हो। विश्वका प्राचीन सभ्यताहरु रोम, ग्रीस, पर्सिया, बेबिलोन, चीन, भारत आदि जस्ता देशहरुमा समाजमा कसैलाई अप्ठ्यारो अवस्था आइपरेमा जस्तैः चोरी, आगलागी, मृत्यु वा अन्य कुनै क्षति भएमा समाजका सबै घरधनीहरुले नगद वाजिन्सी वा श्रमदान गरी क्षतिपूर्ति गर्दथे, जसले गर्दा त्यस्ता व्यक्तिको आर्थिक अवस्था समाजमा पुनः स्थापित हुन्थ्यो। पर्सियन सभ्यताको उत्कर्षमा बीमा शब्द रयसको प्रयोग विकसित भएको विश्वास गरिन्छ। सामुन्द्रिक र अग्नी बीमाको विकास भएपश्चात् सोह्रौँ शताब्दीको मध्यतिरबाट जीवन बीमाको विकास भएको पाइन्छ भने उन्नाईसौँ शताब्दीको उत्तरार्द्धबाट विविध बीमाको विकास र विस्तार भएको पाइन्छ। इन्जिनियरिङ बीमा, ठेकेदार जोखिम बीमा, लघुबीमा, स्वास्थ्य बीमा, पशुपन्छी तथा बाली बीमा आधुनिक बीमाको उपज हुन्।
नेपालमा बीमाको इतिहास हेर्ने हो भने एक शताब्दी पनि पुगिसकेको अवस्था छैन। वि.सं. १९९४ सालमा नेपाल बैंकको स्थापना भएपश्चात् बैंकिङ प्रणालीमा आयात–निर्यात हुने सामान धितो राखेको वस्तुको आर्थिक सुरक्षा गर्नका लागि बीमा गर्नु आवश्यक थियो। वि.सं. २००४ सालमा नेपाल बैंकको पहलमा पहिलोबीमा कम्पनीका रुपमा नेपाल माल चलानी तथा बीमा कम्पनीको स्थापना गरियो। यस कम्पनीमार्फत् नेपाली बस्तुहरुको बीमा नेपालमा नै गर्न चाहनेहरुका लागि बाटो खुला भयो। बीमाको आवश्यकता र महत्व बढ्दै जाँदा सरकारी र निजीक्षेत्रको लगानीमा बीमा कम्पनीहरु क्रमिकरुपमा स्थापना हुँदै गए। नेपालमा हाल १४ जीवन बीमा, १४ निर्जीवन बीमा, २ पुनर्बीमा र ७ लघुबीमा कम्पनी गरी जम्मा ३७ वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन्। नेपाल बीमा प्राधिकरणद्वारा यी बीमा कम्पनीहरुको नियमन हुँदै आइरहेको छ। कुनै पनि देशकोकानून, नियमन, सामाजिक, साँस्कृतिक, आर्थिक र राजनीतिक अवस्था, मानिसकोआवश्यकता,जोखिमको अवस्था र बीमा बजारको संरचनामा भिन्नताका कारणबीमाका अभ्यासहरु विश्वव्यापी रुपमा भिन्न हुन्छन्। तथापि, केही अभ्यास र सिद्धान्तहरु छन्, जुन अधिकांश देशहरुमा अनुसरण गरिन्छ। बीमा सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास र नेपालमा यसको प्रभाव बुँदागतरुपमा देहाय बमोजिम चर्चागर्न सकिन्छ।
अन्तर्राष्ट्रिय अभ्यास
१. बीमाका प्रकार
सामान्यतया जीवन, निर्जीवन र पुनर्बीमा गरी तीन प्रकारका बीमा हुन्छन्। कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको उमेरको आधारमा एकमुष्ठ वा किस्ताबन्दीमा कुनै खास रकम बुझाएमा निज वा निजले अख्तियारी दिएको व्यक्तिले वा निजको मृत्यु भएको अवस्थामा बीमालेखमा उल्लेख भएबमोजिम निजले अख्तियारी दिएको व्यक्ति वा निजले इच्छाएको व्यक्ति वा निजको हकवालाले कुनै खास रकमपाउने गरी बीमकले बीमितसँग गरेको करारलाई जीवन बीमा भनिन्छ। त्यस्तै, जीवन बीमा तथा पुनर्बीमा बाहेकको बीमा निर्जीवन बीमा हो। कुनै सम्पत्ति वा दायित्वको जोखिमका सम्बन्धमा बीमा शुल्क लिई बीमालेखमा उल्लेख भएबमोजिमको जोखिम स्वीकार गरे वापत कुनै खास रकम हर्जाना वा क्षतिपूर्ति प्रदान गर्न बीमकले बीमितसँग गरेको करारलाई निर्जीवन बीमा भनिन्छ। र, कुनै एक बीमकले आफूले धारण गर्ने जोखिमभन्दा बढी अंशको जोखिम पुनर्बीमकले वा अर्को बीमकले व्यहोर्ने गरी त्यस्तो बीमकसँग गरेको करारलाई पुनर्बीमा भनिन्छ।
विश्वका जुनसुकै मुलुकमा पनि बीमाका तीन प्रकारहरु नै प्रचलनमा रहेका छन् भने नेपालमा पनि यस्तै प्रकारका बीमाहरु प्रचलनमा रहेका छन्। जीवन बीमाअन्तर्गत सावधिक जीवन बीमा, आजीवन जीवन बीमा, म्यादी जीवन बीमा र विविध जीवन बीमा लेखहरु संसारभरी नै बीमितले खरिद गर्दछन्। निर्जीवन बीमाअन्तर्गत घर, सम्पत्ति तथा व्यवसाय बीमा, मोटर बीमा, परिवहन बीमा, इन्जिनियरिङ बीमा, हवाई बीमा, दायित्व बीमा, स्वास्थ्य बीमा, लघुबीमा, कृषि, पशुपन्छी तथा जडीबुटी बीमार विविध निर्जीवन बीमा लेखहरु प्रचलनमा छन् भने नेपालमा पनि यस्तै प्रकारका निर्जीवन बीमा लेखहरु प्रचलनमा रहेका छन्।
२. नियमन
बीमा उद्योगको नियमन देशअनुसार फरक–फरक हुन्छ। हरेक राज्यमा अलग–अलग संस्था खडा गरी गरिने नियमन विकेन्द्रित ढाँचा हो भने एकै संस्थाद्वारा सबै राज्यको नियमन गरिन्छ भने त्यो केन्द्रिकृत नियमन हो। अमेरिका र क्यानडाले हरेक राज्यमा अलग्गै नियामक निकाय गठन गरी नियमनलाई विकेन्द्रीकरण गरेकाछन्। नेपाल, भारत, बंगलादेश, पाकिस्तान, जापानलगायतका देशहरुले केन्द्रिकृत नियमन प्रणाली अवलम्बन गरेका छन्। कतिपय देशमा बैंक, बीमा र पुँजी बजार गरी तीनै क्षेत्रको एकै नियामक निकायबाट नियमन गरिरहेको हुन्छ भने कतिपय देशले एकै संस्थाबाट बैंक र बीमाको नियमन गरिरहेका हुन्छन्। स्विटरल्यान्ड, बेलायत, चीनले बहुक्षेत्र नियमन गर्दछन्। नेपालमा बीमा क्षेत्रको नियमन नेपाल बीमा प्राधिकरणले गर्दछ। नियमनको कार्यक्षेत्रभित्र बीमक, पुनर्बीमक, बीमा अभिकर्ता, बीमा सर्भेयर, बीमा दलाल, टीपीए, बीमा पुल, बीमित आदि पर्दछन्। यिनीहरुको इजाजतपत्र दर्ता, नवीकरण, न्यूनतम पुँजी तोक्ने, बीमालेख स्वीकृत गर्ने, बीमालेखको दर रेट तोक्ने, बीमक र बीमितको वादविवादमा निर्णय गर्ने, सुपरिवेक्षण गर्ने, नियन्त्रण गर्ने, प्रवद्र्धन तथाविकास गर्ने, बीमा क्षेत्रमा बीमित हित संरक्षण, सोल्भेन्सी र निष्पक्ष अभ्यासहरु सुनिश्चित गर्ने जस्ता कार्यहरु पर्दछन्। यस्ता कार्यहरु गर्न सरकारले नेपालमा नेपाल बीमा प्राधिकरण स्थापना गरेको छ।
३. बीमा दर
अन्तर्राष्ट्रिय रुपले बजारमा बीमा दरको निर्धारणसम्बन्धी कार्य बीमा बजार, बजारको अनुभव र व्यक्तिगत दाबी भुक्तानी तथा कुल व्यापारको मात्राद्वारा निर्धारित गरिन्छ। विश्व बीमा बजारमा डिट्यारिफ अभ्यासका रुपमा प्रचलनमा रहेको हुन्छ भने नेपालमा मुख्यगरी सामुद्रिक बीमा, मोटर बीमा, सम्पत्ति बीमा निर्जीवन बीमातर्फ र वैदेशिक रोजगारी म्यादी जीवन बीमा ट्यारिफअन्तर्गत प्रचलनमा रहेका छन्। यसका अतिरिक्त अन्य जीवन बीमा, निर्जीवन बीमालेख ननट्यारिफअन्तर्गत प्रचलनमा रहेका छन्। नेपालमा बीमा दर निर्धारणको कारणले उपरोक्त बीमा व्यवसायको पोर्टफोलियो नाफामा रहेको छ। अन्तर्राष्ट्रिय अभ्यासहरुलाई विश्लेषण गर्दा नेपालको ट्यारिफ प्रडक्ट अलिकति महँगो छ, जसले गर्दा अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुको लागि लाभदायक छ। यसले गर्दा विश्वको ख्यातिप्राप्त पुनर्बीमक जस्तै जेआईसी रि, म्युनिख रिइन्स्योरेन्स, हान्नोभर रिइन्स्योरेन्स, स्विस रिइन्स्योरेन्सलगायतका पुनर्बीमकहरु नेपालका बीमा बजारमा व्यवसाय बीमा शुल्क गणना गर्न आकर्षित भइरहेका छन्। नेपाली पुनर्बीमकहरु नेपाल रिइन्स्योरेन्स कम्पनी र हिमालयन रिइन्स्योरेन्सले ट्यारिफ र ननट्यारिफ आधारमा बीमा व्यवसाय गरिरहेका छन्।
४. बीमाशुल्क गणना
अन्तर्राष्ट्रिय बीमा बजारमा जीवन बीमाशुल्कको गणना सामान्यतया बीमितको उमेर, स्वास्थ्यस्थिति, पेसा–व्यवसाय, स्थान र रक्षावरणको प्रकार र मात्राजस्ता जोखिम मूल्यांकन कारकहरुका आधारमा गरिन्छ। नेपालमा पनि बीमा शुल्ककोगणना उपरोक्त आधारमा नै गर्ने गरिन्छ।
५. बीमा दलाल
अन्तर्राष्ट्रिय बीमा बजारमा बीमा दलालको महत्वपूर्ण भूमिका हुन्छ। विश्वको अनेकौं राष्ट्रहरुमा बीमा व्यवसायको मुख्य मध्यस्तकर्ता बीमा दलाल (इन्स्योरेन्स ब्रोकर) हो। जसले बीमा व्यवसायमा बीमक वा पुनर्बीमक र पुनर्बीमकबीच मध्यस्थको कार्य गर्दछ। बीमकले जारी गरेको बीमालेखअन्तर्गत उत्पन्न हुने दायित्व सम्बन्धमा बीमकका तर्फबाट पुनर्बीमक तथा पुनर्बीमकका तर्फबाट अर्को पुनर्बीमकसँग मध्यस्थता गर्ने, पुनर्बीमा विशेषज्ञता सेवा र प्राविधिक परामर्श दिने, बीमा तथा पुनर्बीमा बजारको तथ्यांक विश्लेषण गरी पुनर्बीमित तथा पुनर्बीमकलाई उपलब्ध गराउने, पुनर्बीमा सम्झौता तयार गर्न सहयोग गर्ने र सम्झौता अनुरुपको लिने तथा दिने हिसाब फरफारक गर्न सहयोग गर्ने, पुनर्बीमा दाबी भुक्तानी सम्झौता तयार गर्न, जोखिमअनुसार उपयुक्त पुनर्बीमा व्यवस्था गर्न सहयोग गर्न, बीमक तथा पुनर्बीमकको सहमतिअनुसार कभरनोट जारी गर्न र पुनर्बीमा व्यवस्था गराउन बीमितका लागि उपयुक्त पुनर्बीमा दर प्राप्त गर्ने गर्दछन्। विश्व बीमा बजारमा मार्स एन्ड म्यालेन एन सीएस इंक, एअन पीएलसी, अथर जे सल्लाघेर एन्ड कम्पनी विल्ल्सि टावर्स वाट्सन पीएलसी, हब इन्टरनेसनलजस्ता ख्यातिप्राप्त ठूला बीमा दलालहरु कार्यरत छन्। नेपालमा पनि पुनर्बीमा दलालसम्बन्धी निर्देशिका, २०७८ आएपछि स्वदेशी र विदेशी गरी जम्मा १६ वटा पुनर्बीमा दलालले उपरोक्त अन्तर्राष्ट्रिय अभ्यास अनुसारका कार्यहरु गर्दै आइरहेका छन्।
६. पुनर्बीमा सम्बन्ध
कुनै एक बीमकले आफूले धारण गर्ने जोखिमभन्दा बढी अंशको जोखिम पुनर्बीमकले वा अर्को बीमकले व्यहोर्ने गरी त्यस्तो बीमकसँग गरेको करारलाईपुनर्बीमा भनिन्छ। बीमकले व्यक्तिहरुबाट बीमा जोखिम स्वीकारेपछि उक्त जोखिममा आफूले थाम्नसक्ने आर्थिक भार निर्धारण गरी बाँकी जोखिम पुनर्बीमा लिने कम्पनीलाई सार्दछन्। बीमकको अन्डरराइटिङ क्षमता अभिवृद्धि गर्न, बीमा व्यवसायमा लचकता ल्याउन र बीमा व्यवसायको हिसाबमा स्थिरता ल्याउनु पुनर्बीमाका प्रमुख उद्देश्य रहेको हुन्छ। अन्तर्राष्ट्रियस्तरमा नै बीमाका सम्झौताहरुमा केही समानता हुन्छ। जस्तै पुनर्बीमकले बीमकको भाग्य स्वीकार्नुपर्ने सर्त, भुलचुक मिलाउने सर्त, मध्यस्थतासम्बन्धी सर्त, प्रिमियम भुक्तानीसम्बन्धी सर्त, पुनर्बीमाको सम्झौता समाप्तिसम्बन्धी सर्त र यस्ता सर्तका आधार नेपालमा दर्ता भएका बीमा कम्पनीहरुले पुनर्बीमा सम्झौता गर्दा पालना गर्ने सर्तका रुपमा राखेको हुन्छ। अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त पुनर्बीमा कम्पनीहरु जस्तैः म्युनिख रिइन्स्योरेन्स कम्पनी, स्विस रिइन्स्योरेन्स कम्पनी, हान्नोभर रिइन्स्योरेन्स कम्पनीलगायतका पुनर्बीमा कम्पनीहरु विश्व बीमा बजारमा पुनर्बीमा व्यवसाय गर्दछन् भने यी कम्पनीहरु नेपाली बीमा बजारमा पनि आफ्नो उपस्थिति देखाएका छन्। यसरी पुनर्बीमा कुनै एक देशमा सीमित नभई विभिन्न देशहरुमा विस्तार भएको पाइन्छ। फ्याकल्टिभ इन्स्योरेन्स (ऐच्छिक पुनर्बीमा) र सम्झौताबाट गरिने पुनर्बीमा (ट्रिटी रिइन्स्योरेन्स) गरी जम्मा दुई प्रकारले अन्तर्राष्ट्रियस्तरमा बीमा गर्ने प्रचलन रहेको हुन्छ भने नेपालमा पनि यी दुई प्रकारले बीमकहरुले बीमा व्यवसाय गरेको पाइन्छ। दुई दशकअगाडि पुनर्बीमाको सम्बन्धमा कुनै नीति, निर्देशन तथा निर्देशिका नेपालमा उपलब्ध थिएन, जसले गर्दा बीमकहरु पुनर्बीमक छनौट गर्न स्वतन्त्र थिए। तर, अन्तर्राष्ट्रिय अभ्यास तथा प्रचलनका आधारमा नेपालमा पनि सबै बीमा कम्पनीहरुले आफ्नो पुनर्बीमा नीति तयार गरी प्रत्येक आर्थिक वर्षमा सञ्चालक समितिबाट पारित गरी लागू गर्छन् र नेपाल बीमा प्राधिकरणमा पनि पेस गर्ने गर्दछन्। अन्तर्राष्ट्रिय मान्यताअनुसार पुनर्बीमकको स्तर सम्बन्धित मुलुकको नियामक निकायले तोकेको न्यूनतम बीबीओबी स्तरसँग मात्र पुनर्बीमा गर्नुपर्दछ भने नेपालमा पनि यसको प्रभावस्वरुप कम्तीमा बीबीबी स्तरबाट ख्याति प्राप्त अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीले निर्धारण गरेबमोजिम पुनर्बीमा गर्नुपर्दछ।
७. दाबी प्रक्रिया
बीमामा बीमितको बीमा गरिएको व्यक्ति, वस्तु, सम्पत्ति र दायित्वमा कुनै घटना भएर क्षति भएमा क्षतिको आर्थिक रुपमा पूर्ति दिने कार्य नै दाबी भुक्तानी हो। अन्तर्राष्ट्रियस्तरमा ग्राहकको विश्वास कायम राख्नका लागि समयमै र निष्पक्ष रुपमा दाबी भुक्तानीको प्रक्रिया महत्वपूर्ण हुन्छ। बीमकले बीमालेखमा उल्लेखित अवधिभित्र बीमितलाई बीमा दाबी भुक्तानी गर्नु पर्दछ। बीमकले आफ्नो दायित्व समयमै निर्धारण गर्न बीमितहरुले पेश गरेको दाबीहरुको मूल्यांकन गर्दछन्। बीमालेख बमोजिम दाबी परेमा यसको यथाशीघ्र दाबी भुक्तानी नहुने हो भने बीमाको औचित्य नै रहँदैन र जनमानसमा बीमाप्रतिको विश्वसनीयता पनि घट्दछ। तसर्थ, बीमितलाई बीमा कम्पनी तथा पुनर्बीमा कम्पनी दाबी भुक्तानी गर्नु पर्दछन्। अन्तर्राष्ट्रियस्तरका साथसाथै नेपालमा पनि बीमाको दाबी भुक्तानी गर्नका लागि निश्चित प्रक्रियाहरु छन्। बीमा ऐन, २०७९, बीमा नियमावली, २०८१, दाबी भुक्तानी मार्गदर्शन, २०८० तथा नेपाल बीमा प्राधिकरणबाट समय–समयमा जारी निर्देशन तथा बीमा कम्पनीहरुको दाबी भुक्तानीसम्बन्धी म्यानुअलका आधारमा बीमा कम्पनीहरुले दाबी भुक्तानी गर्दछन्। बीमकले बीमितलाई दाबी भुक्तानी नगरेमा वा दाबी भुक्तानी गरे पनि बीमितलाई मर्का पर्ने गरी दाबी भुक्तानी गरेमा बीमितले बीमकविरुद्ध नेपाल बीमा प्राधिकरणसमक्ष उजुरी गर्न सक्ने कानुनी व्यवस्था रहेको छ। प्राप्त उजुरीमाथि आवश्यक जाँचबुझ गरी प्राधिकरणले निर्णय गर्ने गर्दछ। अन्तर्राष्ट्रियस्तरमा पनि बीमकले गरेको दाबी भुक्तानीमा चित्त नबुझेमा वाविवाद भएको खण्ड ऋयगचत मा अपिल गर्न पाउने व्यवस्था भएको पाइन्छ।
८. बीमाको सर्वमान्य सिद्धान्त
विश्वका सबै मुलुकमा बीमाका सर्वमान्य सिद्धान्तहरु एकै अर्थमा पालना गरिएको हुन्छन्। बीमाको सिद्धान्त भरेको एकप्रकारले नियमको निर्णय गर्ने प्रक्रिया हो। कतिपय देशहरुले बीमा कानूनमा नै बीमाका सिद्धान्तहरु व्यवस्था गरेको पाइन्छ। नेपालमा बीमा ऐन तथा नियमावलीमा बीमाको सिद्वान्त व्यवस्थान भए पनि कन्ट्राक्चुअल कन्डिसनका रुपमा बीमालेखमा यी सिद्धान्तहरु उल्लेख भएको पाइन्छ। बीमाका आधारभूत मान्यता तथा सिद्धान्त पालना नभएका बीमा कम्पनीहरुको पुनर्बीमा स्वीकार नहुने हुन्छ। बीमाका केही सर्वमान्य सिद्धान्तहरु छन्, जस्तैः परम सद्विश्वासको सिद्धान्त, बीमायोग्य हितको सिद्धान्त, क्षतिपूर्तिको सिद्धान्त, प्रत्यासनको सिद्धान्त, निकटतम कारणको सिद्धान्त, योगदानको सिद्धान्त। यी सिद्धान्त अन्तर्राष्ट्रियस्तरमै सबै बीमित, बीमक, पुनर्बीमकलगायत अन्य बीमा सेवा प्रदायकले पूर्ण पालना गर्नुपर्दछ। यी सिद्धान्तहरुको पूर्ण पालना भएन भने बीमा व्यवसाय चल्न सक्दैन, जसले गर्दा एक बीमकको जोखिम अर्को बीमकले स्वीकार नगर्न सक्दछ। साथै बीमा दाबी भुक्तानीका सम्बन्धमा समस्याहरु देखा पर्दछन्। बीमा विश्वासको आधारमा चल्ने व्यवसाय हो। तसर्थ बीमाका सर्वमान्य सिद्धान्तहरु सबै पक्षहरुले पालना गर्नुपर्दछ। नेपालमा पनि बीमाका सर्वमान्य सिद्वान्तको आधारमा बीमा व्यवसाय चलिरहेको छ।
९. लघु बीमा
आर्थिक रुपले पिछडिएका विपन्न तथा न्यून आय भएका सीमान्तकृत समुदायका लागि गरिने बीमालाई लघुबीमा भनिन्छ। लघुबीमाद्वारा आर्थिक र सामाजिकरुपमा पिछडिएका वर्गहरुका लागि बीमा सुरक्षा उपलब्ध गराउने व्यवस्थाहरु विभिन्न राष्ट्रहरुमा फरक फरक रहेको पाइन्छ। अन्य मुलुकहरुमा लक्षित वर्गहरुलाई आइपर्न सक्ने जोखिमको रक्षावरण प्रदान होस् भन्ने उद्देश्यले लघुबीमाको व्यवस्था भएको पाइन्छ। लघु बीमामा आम जनमानसको सरल र सहज पहुँच, थोरै बचतले बीमा शुल्क तिर्न पुग्ने, थोरै बीमा शुल्कमा धेरै रक्षावरण समेटिएको, कम बीमांक, बीमा दाबी प्रक्रिया सरल र छिटो जस्ता विशेषता संसारभरि नै रहेको पाइन्छ। यस्तो अन्तर्राष्ट्रिय प्रचलनलाई अपनाई नेपालमा पनि लघुबीमाको अवधारणा ल्याइएको छ। हाल नेपालमा छुट्टै लघु जीवन बीमा कम्पनी ३ र लघु निर्जीवन बीमा कम्पनी ४ वटाले बीमा व्यवसाय गरिरहेका छन्।
१०. सामुद्रिक बीमा
एक वा एकभन्दा बढी ढुवानीको साधन प्रयोग गरी मालसामान (कार्गो) ओसारपसार गर्दा आइपर्न सक्ने जोखिम विरmद्ध गरिने बीमालाई सामुद्रिक बीमा भनिन्छ। अर्को शब्दमा जल वा स्थल मार्गबाट एक ठाँउबाट अर्को ठाउँसम्म ल्याइने व पठाइने माल सामानको बाटोमा पर्न सक्ने सम्भावित क्षतिको विरmद्ध गरिने बीमा नै सामुन्द्रिक बीमा हो। अन्तर्राष्ट्रिय अभ्यासमा सामुन्द्रिक बीमाअन्तर्गत मालसामानको आयात–निर्यातको आधार लेटर अफ क्रेडिट (एलसी) र पर्फम इन्भ्वाइस मा करारको सर्त इन्टरनेसनल कमर्सियल टम्र्स (आईएनसीओ) उल्लेख भएको हुन्छ।
उदाहरणका लागि टर्महरु जस्तैः
- एफओबी–फ्री आन बोर्ड
- सीआईएफ– कस्ट इन्स्योरेन्स र फ्राइट
- सी एन्ड एफ– कस्ट एन्ड फ्रिएइट
- सीएफआर– कस्ट एन्ड फ्रिएइट अनर रेलिङ
- ईडब्ल्यू– एक्सवर्क
उपरोक्त आधारमा दुर्घटना वा क्षतिको अवस्थामा बीमालेखयोग्य हित (इन्स्योरेबल इन्ट्रेस्ट) का आधारमा निर्णय हुन्छ। नेपालमा पनि यसको प्रभावस्वरुप आईएसीओ टर्महरुलाई मान्यता दिई सामुद्रिक बीमा व्यवसाय गरिन्छ।
११. बीमा पुल
कुनै खास प्रकृतिको बीमा वा जोखिमका सम्बन्धमा बीमकले सामूहिक रुपमा जोखिम बहन गर्न, एकै स्थानमा बीमाशुल्क जम्मा गर्न, पुनर्बीमा व्यवस्था गर्न तथा दाबी भुक्तानी व्यवस्था गर्न स्थापित सामूहिक बीमा कोषलाई बीमा पुल भनिन्छ। कुनै नयाँ जोखिम अथवा यस्तो बीमा व्यवसाय जसमा दाबी अनुभव नभएको अथवा दाबी बढी भएको तर समाजमा त्यस्तो बीमा मुलुकको लागि आवश्यक भयो भने सबै बीमा कम्पनीहरु एक आपसमा मिलेर नियामक निकायको निगरानीमा पुल गठन गरी बीमा व्यवसाय गर्दछन्। अन्तर्राष्ट्रियस्तरमा मोटरमा तेश्रो पक्ष बीमा, कृषि बीमा, हाइड्रो बीमा, हवाई बीमाको लागि पुल गठन भई बीमा व्यवसाय भएको पाइन्छ। यसबाट प्रभावित भएर नेपालमा जोखिम समूह, वैदेशिक रोजगारबीमा पूल, मोटरमा तेस्रो पक्ष बीमा पुल र कोरोना बीमा पुल नेपाल बीमा प्राधिकरणको निगरानीमा गठन भई बीमा व्यवसाय भएको पाइन्छ।
१२. हवाई बीमा
दुर्घटनाका कारण हवाईजहाज, हवाईजहाजले बोकेको सामान तथा यात्रुको हानी–नोक्सानीविरुद्ध गरिने बीमालाई हवाई बीमा भनिन्छ। अन्तर्राष्ट्रियस्तरमा नै हवाई बीमा संसारका सबै देशमा अनिवार्य गरिएको हुन्छ। हवाई बीमाको क्षेत्रमा अन्तर्राष्ट्रिय अभ्यासअनुसार मोन्टरियल कन्भेन्सनको मान्यता भएको तर नेपालमा पहिला सबै दुर्घटनामा मृत्यु भई क्षतिपूर्ति दिनुपर्ने अवस्थामा भर्स कन्भेन्सलअनुसार ४ लाख २० हजार डलरमात्र भुक्तानी गरिन्थ्यो। तर, नेपालले मोन्टरियल कन्भेन्सनमा हस्ताक्षर गरिसकेकोले हवाई दुर्घटनाबाट क्षति भएको अवस्थामा प्रतियात्रु करिब ४१ लाख ७५ हजार डलरजति दाबी पाउन सक्छ। मोन्टरियल कन्भेन्सनअनुसार दुर्घटना मृत्यु, हवाईजहाज डिले, मालसामानको क्षतिबापत दिनुपर्ने रकममा एकरुपता कायम गरिएको हुन्छ। यसमा जुनसुकै मुलुकको यात्री जुनसुकै देशमा क्षति व्यहोरेको खण्डमा रकम पाइन्छ। यस्तो अभ्यास नेपालको हवाई बीमा व्यवसायमा पनि रहेको छ।
१३. प्रविधिको प्रयोग
अन्तर्राष्ट्रिय बीमा बजारमा प्रविधिको प्रयोग गरी बीमालेख खरिद गर्नका लागि प्रस्ताव फारम भर्ने, स्वीकृत गर्ने, मूल्यांकन गर्ने, बीमा प्रिमियम मुल्य निर्धारण गर्ने, बीमालेख जारी गर्ने तथा दाबी भुक्तानी गर्ने तथा तथ्यांकको व्यवस्थापन गर्ने विषयहरुले पनि बीमा अभ्यासहरुमा महत्वपूर्ण भूमिका खेल्छन्। जसमा कुनै पनि देशको नागरिकले संसारको कुनै पनि ठाउँबाट प्रविधिको प्रयोग गरी बीमा सेवा लिन सक्छ। बढ्दो प्रविधिको विकासले गर्दा आजको दिनमा नेपाली बीमा बजारमा पनि बीमक तथा बीमितले प्रविधिको प्रयोग गरी बीमालेख खरिद–बिक्रीसम्बन्धी कार्य गरिरहेको पाइन्छ।
१४. अन्तर्राष्ट्रिय व्यापार संगठन
विश्व व्यापार संगठन (डब्ल्यूटीओ) विश्वकै अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित प्रमुख संगठन हो। यसले वस्तु तथा सेवाको निर्यात तथा आयातको अन्तर्राष्ट्रियस्तरको व्यवस्था गर्दछ। कुनै पनि राष्ट्रको उत्पादन विश्वको कुनै पनि स्थानमा व्यापारका माध्यमबाट पुगेको हुन्छ। यसरी सेवा तथा वस्तुको स्थान्तरणमा बीमा समावेश भएको हुन्छ। नेपालमा पनि अन्तर्राष्ट्रिय अभ्यासस्वरुप वस्तु तथा सेवाको स्थान्तरणमा बीमा समावेश भइरहेको पाइन्छ। अन्तर्राष्ट्रियस्तरमा विभिन्न अन्तर्राष्ट्रिय संघ तथा संगठनहरुले बीमा सम्बन्धी काम गर्दै आएका छन्। यीसंघ संगठनहरुका सदस्य विश्वका विभिन्न देशका नियामक निकायहरु रहेका छन्। यसले बीमाका नीति निर्माण, नयाँ प्रविधिको विकास तथा विस्तार, जनशक्तिहरुको क्षमता अभिवृद्धि तथा नियमनकारी निकाय तथा बीमकहरुसँग समन्वय र सहकार्य गरी सहयोग पु¥याउँदै आइरहेका छन्। बीमा नियमनकारी निकायहरुको अन्तर्राष्ट्रिय संगठन (आईएआईएस) बीमा व्यवसायको सुपरिवेक्षक तथा नियमनकारी निकायहरुको छाता संगठनका रुपमा रहेको छ। यसले बीमा बजारको प्रभावकारी नियमनमा विश्वव्यापीस्तरमा बीमाका मूलभूत सिद्धान्तहरु प्रतिपादन गर्दै सदस्य राष्ट्रहरुलाई प्रोत्साहन गर्दछ। आईएआईएसले प्रतिपादन गरेका इन्स्योरेन्स कोर प्रिन्सिपलको मर्मअनुरुप नेपालले पनि बीमा बजारको नियमनका लागि आवश्यक नीति, नियम तथा निर्देशनहरु जारी गर्दै आइरहेको छ। नेपाल बीमा प्राधिकरण स्थापनाकालदेखि नै यस संगठनको सदस्य रहेको छ। अन्तर्राष्ट्रियस्तरमा विभिन्न अन्य संघसंस्थाहरुले पनि बीमा विकासका लागि समन्वय र सहकार्यमा सहयोग पुर्याउँदै आइरहेको छन्। जस्तैः एसियाली राष्ट्रहरुको बीमा नियमनकारी निकायको अन्तर्राष्ट्रिय संगठन (एएफआईआर), विश्व बैंक, टोरोन्टो सेन्टर, एसिस टु इन्स्योरेन्स इनिसिएटिभ, माइक्रो इन्स्योरेन्स नेटवक, यूके एड, जीआईजेड। यी संस्थासँग सहकार्य गरी नेपालले पनि बीमाको अन्तर्राष्ट्रिय अभ्यास अनुसरण गर्दै आइरहेको छ।
निष्कर्ष
कुनै पनि देशको अर्थ व्यवस्थाको विकास त्यस्तो मुलुकको बीमा बजारको सशक्तता (साउन्डनेस)ले मापन गर्न सकिन्छ। किनकि आधुनिक युगमा व्यावसायिक गतिविधिहरु बीमाको उपलब्धताले निर्भर गर्छ। बीमा उद्योगले अर्थ व्यवस्थामा रोजगार, पुँजी निर्माण, बचत परिचालन, आर्थिक सुरक्षा, समाजिक सुरक्षा, क्षतिग्रस्त सम्पत्तिको पुनःनिर्माण, कूल ग्राहस्थ उत्पादनमा वृद्धि र विभिन्न क्षेत्रमा लगानीका लागि पुँजी उपलब्ध गराउँछ। तसर्थ बीमाविनाको संसारको कल्पना पनि गर्न सकिँदैन र कुनै एक मुलुकमा हानी नोक्सानी भई आर्थिक क्षति हुँदा त्यसको प्रभाव त्यस मुलुकमा मात्र नपरी अन्य मुलुकहरुमा पनि पर्दछ। यस्तो आर्थिक क्षतिपूर्ति बीमाको माध्यमले अन्य मुलुकहरुले पनि व्यहोर्नुपर्दछ। बीमा व्यवसायको विश्वसनीयता र दिगोपनको सुनिश्चितता गर्नुपर्दछ। अन्तर्राष्ट्रियस्तरमा बीमाको अभ्यास नियम, सांस्कृतिक मान्यता, आर्थिक अवस्था र बीमा बजारको संरचनामा भिन्नताका कारण बीमा अभ्यासहरु विश्वव्यापी रुपमा भिन्न भए पनि केही अभ्यास सिद्धान्त, नियम र प्रक्रियाहरु अधिकांश देशमा एकै प्रकारले अनुसरण गरिन्छ भने नेपालले पनि सोहीबमोजिम अन्तर्राष्ट्रिय अभ्यास तथा प्रचलनहरुको अनुसरण गर्दै आइरहेको छ।
(लेखक दिनेश कुमार लाल नेपाल बीमा प्राधिकरणका पूर्वनिर्देशक हुन्। यो लेख बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवमा प्रकाशित बीमा समाचार र विचारबाट साभार गरिएको हो।)