काठमाडौं । नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाई एफआइयू ले गरेको अध्ययनको नमुना हेर्दा हुण्डीमा मुछिनेहरू प्रायः पूर्व र दक्षिणतिरका युवा पुरुषहरू देखिएका छन्। तीमध्ये ८४ प्रतिशत पुरुष छन् भने करिब ६५ प्रतिशत २५ देखि ४४ वर्ष उमेर समूहका छन्।
आधाभन्दा बढी अर्थात् ५३ प्रतिशत त मधेश प्रदेशकै बासिन्दा देखिएका छन्। त्यसमा पनि सिराहा, सप्तरी र सुनसरी सबैभन्दा अगाडि छन् भने त्यसपछि धनुषा, महोत्तरी, बारा र रौतहटको नाम आउँछ।
५१.५ प्रतिशतले आफ्नो पेशा व्यापार बताएका छन्। तर, विद्यार्थी ९ प्रतिशत र गृहिणी ५.५ प्रतिशतको नाम समेत देखिएको छ। यसले हुण्डी कारोबारीहरूले अरूको खाता (जसलाइ अंग्रेजी भाषामा म्युल एकाउन्ट भनिन्छ) भाडामा वा किनेर चलाउने गरेको आशङ्कालाई बल पुर्याएको एफआइयूको भनाइ छ। खाता खोलिएको एक वर्षभित्रै यस्ता उजुरी परेका घटना करिब ४० प्रतिशत छन्, जसले यो शङ्कालाई झन् पक्का बनाउँछ।
व्यापारिक फर्महरूको कुरा गर्दा खुद्रा व्यापारी ४३ प्रतिशत र रेमिट्यान्स सब एजेन्ट ४१.५ प्रतिशत मिलेर ८४ प्रतिशत उजुरी बनेका छन्। यो किन भइरहेको छ भन्ने कुरा एफआइयूले देखाएका केस स्टडीबाट छर्लङ्ग हुन्छ। उदाहरणका लागि, महोत्तरीको एउटा सब(एजेन्टको खातामा २८ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको देखियो। त्यो पनि अधिकांश नगदमा, र हरेक पटक १० लाख रुपैयाँको रिपोर्टिङ सीमाभन्दा थोरै कम पारेर । अचम्म त के भने, सक्कली सब एजेन्टलाई पैसा आउनुपर्ने मुख्य स्रोत अर्थात् लाइसेन्सप्राप्त रेमिट्यान्स कम्पनीबाट भने त्यहाँ एक रुपैयाँ पनि जम्मा भएको थिएन।
खाता खोल्दा टिपाइएको ठेगाना र वास्तविक कारोबारीले काम गर्ने ठाउँ फरक पर्न सक्ने कुरामा एफआइयूले सचेत गराएको छ। तैपनि मधेसको हिस्सा यति धेरै देखिनुको मुख्य कारण भूगोल नै हो, खुला भारतीय सीमासँग जोडिएको क्षेत्र र विदेशमा काम गर्न जानेहरूको ठुलो सङ्ख्या।











