काठमाडौं ।पछिल्लो समयमा फौजदारी अपराधको अनुसन्धानमा रहेका विषयहरूसँग सम्बन्धित गोप्य सूचना तथा विवरणहरू एक पछि अर्को गर्दै अाम सञ्चार र सामाजिक सञ्जालहरूमार्फत् सार्वजनिक हुन थालेपछि नेपाल प्रहरी प्रधान कार्यालयले विभागीय र कानूनी कारवाही गरिने चेतावनी दिएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता अबि नारायण काफ्लेद्वारा जारी विज्ञप्तीमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अनुसन्धानका गोप्य सूचना चुहावट भइरहेको देखिएको पुष्टी गर्दै यसले शङ्कित व्यक्तिहरूको वैयक्तिक गोपनीयतामा असर पार्नुका साथै अनुसन्धान प्रक्रियाको निष्पक्षता, संवेदनशीलता र नेपाल प्रहरीको साङ्गठनिक गरिमामा समेत आँच पुर्याएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ कि फौजदारी मुद्दाको अनुसन्धानका क्रममा सङ्कलन गरिएका गोप्य सूचना, लिखत, प्रमाण तथा विद्युतीय अभिलेखहरू सम्बन्धित निकायको स्वीकृतिबिना अनधिकृत व्यक्ति वा सञ्चार माध्यमलाई उपलब्ध गराउने, सार्वजनिक गर्ने वा चुहावट गर्ने कार्य प्रचलित कानुन र प्रहरी आचरण विपरीतको गम्भीर कसूर हो।
प्रहरी नियमावली, २०७१ को नियम ७१ (आचरणसम्बन्धी व्यवस्था) उल्लङ्घनको कसूरमा नियम १०९ र ११३ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १२ को उपदफा (३), (४) र (५) बमोजिम गोप्य सूचना तथा अभिलेखको अनधिकृत खुलासा र दुरुत्साहनसम्बन्धी कानुनी व्यवस्था रहेको स्मरण गराइएको छ।
नेपाल प्रहरीमा कार्यरत तथा सेवाबाट अलग भइसकेका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई अनुसन्धानसम्बन्धी गोप्य सूचना, विवरण, लिखत तथा विद्युतीय अभिलेखहरू अनधिकृत रूपमा उपलब्ध नगराउन, सार्वजनिक नगर्न तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नहुन र नराउन निर्देशन दिइएको छ। यस्ता गैरकानुनी तथा अनुशासन विपरीतका गतिविधिमा कुनै पूर्व प्रहरी कर्मचारी वा बहालवाला प्रहरी कर्मचारी संलग्न रहेको वा प्रोत्साहन, सहयोग वा सहजीकरण गरेको पाइएमा आवश्यक छानबिन गरी प्रचलित कानुन र साङ्गठनिक नीतिगत व्यवस्थाबमोजिम विभागीय तथा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।











