काठमाडौं । बैंकिङ प्रणालीमा करिब १४खर्बरुपैयाँ अधिक तरलता थुप्रिएको छ। निक्षेपको भारित औसत ब्याजदर ३.०७ प्रतिशत र कर्जाको ब्याजदर ६.३१ प्रतिशतमा झरेको छ।
चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमास (असोजसम्म) मा वाणिज्य बैंकहरुको खुदनाफा ४५.५१ प्रतिशतले उछाल आएर १९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष २०८२।८३ को सोही अवधिमा बैंकहरुले १३ अर्ब १४ करोड रुपैयाँमात्र खुद नाफा कमाएका थिए।
सतहमा हेर्दा बैंकहरुका लागि यो निकै सहज अवस्था देखिन सक्छ। तर, वास्तविकता ठीक उल्टो छ। नाफा र तरलताको यति ठूलो चाङ हुँदाहुँदै पनि प्राथमिक पुँजीकोषमा देखिएको चर्को दबाबका कारण बैंकहरुन त आक्रामक रुपमा कर्जा विस्तार गर्न सक्ने अवस्थामा छन् न त लगानीकर्तालाई लाभांश दिने सुनिश्चितता नै छ।
केन्द्रीय बैंकको ‘क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५’ अनुसार बैंकहरुले प्राथमिक पुँजीकोष अनुपात न्यूनतम ८.५० प्रतिशत र कुल पुँजीकोष ११ प्रतिशत कायम गर्नुपर्ने हुन्छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको औसत प्राथमिक पुँजीकोष अनुपात घटेर ९.६७ प्रतिशत र कुल पुँजीकोष १२.४७ प्रतिशतमा झरेको छ। गत आर्थिक वर्षको असोज र असार मसान्तमा औसत प्राथमिक पुँजीकोष ९.९६प्रतिशत थियो।
औसत अनुपात मापदण्डभित्रै देखिए पनि ३ वाणिज्य बैंकको प्राथमिक पुँजीकोष तोकिएको न्यूनतम सीमा (८.५० प्रतिशत) भन्दा तल झरिसकेको छ। एनआईसी एसिया बैंकको ६.२७प्रतिशत, हिमालयन बैंकको ८.०३ प्रतिशत र प्रभु बैंकको ८.१८ प्रतिशतमात्र प्राथमिक पुँजीकोष कायम भएको छ।
केन्द्रीय बैंकको ‘शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली २०७४’ र एकीकृत निर्देशनअनुसार पुँजीकोषको सीमा कायम गर्न नसक्ने बैंकमाथि सबैभन्दा पहिले लाभांश वितरणमा रोक लगाइन्छ र अवस्था जटिल बन्दै गए व्यवस्थापन नै नियन्त्रणमा लिनेसम्मको कारबाही हुन्छ।
आर्थिक वर्षको अन्त्यमा पुँजीकोषको सीमा पुगे पनि वर्षको बीचको कुनै अवधिमा न्यूनतम अनुपात कायम हुन नसकेको अवस्थामा बैंकहरुले नगद लाभांश वा बोनस शेयर घोषणा तथा वितरण गर्न पाउँदैनन्।
यस्तै, पुँजीकोष सीमाभन्दा तल रहेकाले ती बैंकहरुले तत्काल कर्जा लगानी विस्तार गर्न पाउँदैनन्। लगानी बढाउन कि कर्जा असुली तीव्र पार्नुपर्ने हुन्छ कि त कर्जा घटाएर वा नयाँ पुँजी थपेर प्राथमिक पुँजी कोष बलियो बनाउनुपर्ने बाध्यता छ।
अर्कोतर्फ केही बैंकको पुँजीकोष भने निकै सुदृढ छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्राथमिक पुँजीकोष सबैभन्दा उच्च १७.६१ प्रतिशत छ भने नेपाल बैंकको ११.२३, कृषि विकास बैंकको १०.७९ र सिद्धार्थ बैंकको १०.१६ प्रतिशत छ। सिटिजन्स इन्टरनेसनल बैंक ८.८३ प्रतिशतका साथ सीमाभन्दा थोरै माथि छ।
नाफा करिब साढे ४५प्रतिशतले बढ्दा पनि पुँजीकोषको दबाब किन कम भएन? बैंकिङ क्षेत्रको तथ्यांक र अवस्था विश्लेषण गर्दा यसको मुख्य कारण कागजी नाफा बढे पनि वास्तविक असुली र वितरणयोग्य नाफा खुम्चिनु देखिन्छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको वितरणयोग्य नाफा ९ अर्ब ७ करोड रुपैयाँले घटेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा २१ अर्ब ६५ करोड रुपैयाँ थियो। बैंकहरुको पुँजीकोषमा योगदान गर्ने मुख्य स्रोत वितरणयोग्य नाफा नै हो।तर, एकातिर वितरणयोग्य नाफा घट्नु र अर्कोतिर गत वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गरिनुले प्राथमिक पुँजीकोषमा झनै असर पारेको छ।
यसका पछाडि खराब कर्जा र गैरबैंकिङ सम्पत्तिको बढ्दो ग्राफ मुख्य कारक बनेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको औसत खराब कर्जा बढेर ५.६४ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको असोजमा यो४.८५प्रतिशत र असार मसान्तमा ५.५६प्रतिशत थियो।
कोरोना महामारी, आर्थिक मन्दी र प्राकृतिक विपत्तिका कारण ऋणीहरु समस्यामा पर्दा कर्जा ‘डिफल्ट’ बढ्यो। उठ्न बाँकी कर्जा र खराब कर्जा बढेपछि बैंकहरुले आम्दानीबाट ठूलो हिस्सा कर्जा–नोक्सानी व्यवस्था (प्रोभिजनिङ)मा छुट्याउनुपरेको छ।
त्यसैगरी कर्जा नउठेपछि बैंकहरुले धितो सकार गर्ने क्रम (गैरबैंकिङ सम्पत्ति) अत्यधिक बढ्दा पनि पुँजीकोष बढाउने आधारहरु कमजोर बनेका छन्।
विगतका वर्षहरुमा बैंकहरुले अधिक कर्जा प्रवाह गर्दा पुँजीकोषको तुलनामा जोखिम भारित सम्पत्ति धेरै बढेको थियो। जसको असर अहिले देखिएको छ।
हाल वित्तीय प्रणालीमा थुप्रिएको करिब १४ खर्ब अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले दैनिकजसो मौद्रिक उपकरण प्रयोग गरिरहेको छ। ब्याजदर पनि न्यून विन्दुमा झरेको छ।तर, आर्थिक सुस्तताका कारण कर्जाको माग अपेक्षित रुपमा बढ्न नसक्नु र बैंकहरुस्वयं पुँजीकोषको दबाबमा रहनुले कर्जा लगानी खुल्न सकेको छैन।
बैंकहरुको पुँजीकोषमा देखिएको यही गाँठो फुकाउन केन्द्रीय बैंकले पछिल्लो समय ऋणपत्र र हकप्रद शेयर जारी गर्न सक्ने बाटो खोलिदिएको छ। साथै, रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमा बढाउने, कर्जा जोखिमभार घटाउने र ‘काउन्टर साइक्लिकल बफर’ सम्बन्धी व्यवस्था कार्यान्वयन नगरी थप एक वर्ष पर सार्नेजस्ता लचिला नीति पनि लिएको छ। तथापि, खराब कर्जा र गैरबैंकिङ सम्पत्तिकोबोझ नघटेसम्म यी नीतिगत सहुलियतले मात्र बैंकहरुको पुँजीकोष दबाब तत्कालै कम हुने देखिएको छैन।











