काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।
कम्पनीले आज एक सूचना जारी गर्दै आज वैशाख २२ गतेदेखि आउँदो जेठ २२ गतेसम्म व्यतित बीमालेख पुनर्जागरण गरेमा सोमा लाग्ने विलम्ब शुल्क (ब्याज) नेपाल बीमा प्राधिकरणद्वारा जारी जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७९ को दफा ११ को उपदफा (२) र (३)को अधीनमा रही १०० प्रतिशतसम्म छुट प्रदान गरिने जानकारी गराएको हो। बीमितको आफ्नो बीमालेखको नवीकरण बीमाशुल्क समयमै भुक्तानी गर्न नसकेको हुँदा बीमालेख व्यतित हुन गएको अवस्थालाई ध्यानमा राखेर कम्पनीले यो छुट सुविधा प्रदान गरेको सूचनामा उल्लेख छ।
यस्ता छन् सर्त
- यो सुविधा बीमा अवधिभरि एकपटक मात्र पाइनेछ।
- यो विलम्ब शुल्क छुट सुविधा बीमालेख निन्तर गर्ने प्रयोजनका लागि मात्र रहेको हुँदा यस योजनामा समावेश भएका बीमालेखहरु पुनर्जागरण भएको मितिले २ वर्षभित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिनेछ।
- बीमालेखमा उल्लेखित सामान्य सर्तहरु यथावत रहनेछन्।
विलम्ब शुल्क छुट प्रदान गरिएको अवधिभित्र नवीकरण बीमाशुल्क भुक्तानी गरी आआफ्नो बीमालेख सक्रिय अवस्थामा ल्याउन र बीमालेख पुनर्जागरण गर्दा पेस गर्नुपर्ने कागजातका सम्बन्धीमा आफ्ना नजिकका कम्पनीको शाखा वा उपशाखा कार्यालयमा सम्पर्क गर्न सूचनामा आग्रह गरिएको छ।












