xकाठमाडौं । कुनै समय पूर्णतः वैदेशिक रोजगारी म्यादी बीमालेखबाट प्राप्त बीमाशुल्क आम्दानीमा मात्र केन्द्रित रहेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सावधिक प्रकृतिका परम्परागत बीमा योजनाको बिक्रीमा पनि आफूलाई स्थापित गर्ने प्रयास जारी राखेको छ।
केयर रेटिङ्स नेपालले प्रकाशन गरेको प्रेस विज्ञप्तिअनुसार कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२।८३ मा कुल आर्जित शुल्क करिब १२ प्रतिशतले बढेर ५ अर्ब ९ करोड ६० लाख रुपैयाँ पुगेको छ। नवीकरण बीमाशुल्क आर्जनमा भएको वृद्धिले कुल बीमाशुल्क आम्दानी पनि बढेको हो।
यसैगरी कम्पनीको खुद आर्जित बीमाशुल्क अघिल्लो आर्थिक वर्ष २०८१।८२ को तुलनामा गत आवमा १३ प्रतिशतले वृद्धि भएर ४ अर्ब ८९ करोड ५० लाख रुपैयाँ पुगेको थियो । कम्पनीको रिटेन्सन रेसियो अर्थात् दोस्रो वर्ष नवीकरण हुने दर ९६ प्रतिशत रह्यो।
आर्थिक वर्ष २०८०।८१ मा सन नेपाल लाइफले वैदेशिक रोजगार म्यादी बीमालेखबाट ८४ करोड ३० लाख ४९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो। त्यो वर्षको नयाँ बीमालेख जारी वापतको अर्थात् प्रथम बीमाशुल्क १ अर्ब ५६ करोड ४३ लाख को तुलनामा यो रकमले ५३.८९ प्रतिशत हिस्सा ओगटेको थियो। कुल बीमाशुल्कमा २१.६९ प्रतिशत हिस्सा ओगटेको थियो।
आर्थिक वर्ष २०८१।८२ मा कुल बीमाशुल्क संकलनको ४७.१७ प्रतिशत हिस्सा वैदेशिक रोजगारी म्यादी बीमाबाट आर्जित बीमाशुल्कले ओगटेको थियो। २०८१।८२ देखि नै प्राधिकरणले पुलमार्फत पूर्व निर्धारित कोटाका आधारमा संकलित बीमाशुल्क वितरण गर्ने घोषणा गरेकाले सन नेपालले वैदेशिक रोजगारी म्यादी बीमाबाट हात खिचेको थियो। सन नेपाल पछि हट्दा एसियन लाइफ इन्स्योरेन्सले सर्वाधिक १ अर्ब ५ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क वैदेशिक रोजगारी म्यादी बीमालेखबाट संकलन गरेको थियो। यति ठूलो रकम संकलन गरे पनि एसियन लाइफले प्राधिकरणबाट निर्धारित कोटाबमोजिम मात्र हिस्सा प्राप्त गरेको थियो।
नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगारी म्यादी बीमाका लागि पुनः बीमा पुल ब्युत्याइँदिएपछि यस्तो व्यवसाय संकुचित बनेको बेला सन नेपालले देशव्यापी रुपमा व्यवसाय प्रव्द्धन गर्दै सावधिक प्रकृतिका बीमालेख बिक्रीमा क्रमशः व्यवसायको आकार बढाउँदै लगेको छ।
जीवन बीमा कोषमा सार्नुपर्ने रकममा वृद्धिका कारण गत आर्थिक वर्षमा कम्पनीको कर अघिको नाफा घटेर ३६ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ।
कुल १४ परम्परागत जीवन बीमकमध्ये सन नेपाल लाइफको बजार हिस्सा २.५१ प्रतिशतमात्र रहेको छ। कम्पनीले बजार हिस्सा वृद्धिका लागि परम्परागत शैलीका बीमालेखसँगै स्वास्थ्य बीमा र दुर्घटना बीमाको संयोजनसहितको बीमा योजना प्रचलनमा ल्याएको छ। यसबाहेक इसेवासँगको साझेदारीमा अनलाइनमार्फत बीमालेख बिक्री गर्दै आएकोमा हालै मात्र यसले अनलाइनबाटै स्वास्थ्य बीमा खरिद गर्न सकिने सुविधा ल्याएको छ।
कम्पनीको व्यापारको आकार र वित्तीय सबलतामा सुधारसँगै केयर रेटिङ्स नेपालले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इश्युअर रेटिङ त्रिपल बी प्लसलाई पुनःपुष्टि गरेको छ। यो रेटिङ प्राप्त गर्ने संस्थालाई नेपालमा वित्तीय दायीत्वहरु समयमा पूरा गर्ने मामिलामा मध्यम किसिमको सुरक्षाको स्तर भएको मानिन्छ र यस्ता संस्थाहरुमा मध्यम क्रेडिट जोखिम रहन्छ।
केयर रेटिङ्सका अनुसार कम्पनीको लगानी विविधिकरणको गुणस्तर राम्रो रहेको छ। कुल लगानीको करिब ५८ प्रतिशत हिस्सा विभिन्न बैंक तथा वित्तीय संस्थाका मुद्दति तथा ब्याज कमाउने निक्षेपहरुमा लगानी गरिएको छ।












