काठमाडाैं। नेपाल लाइफको भगिनी संस्था नेपाल लाइफ क्यापिटल लिमिटेडले सञ्चालन गरिरहेको २ अर्ब रूपैयाँ बराबरको सामूहिक लगानी कोषको सम्पत्ती व्यवस्थापन रेटिङ एएमसी क्वालिटी ३ (AMC Quality 3) पुनः पुष्टी भएको छ। रेटिङ एजेन्सी, इक्रा नेपालले गरेको मूल्याङ्कन अनुसार, कम्पनीको सम्पत्ती व्यस्थापन क्षमता पर्याप्त छ ।
सामूहिक कोष व्यवस्थापनको क्षेत्रमा सीमित अनुभव र शेयर बजारको सुस्त अवस्थाका कारण मध्य अगस्ट २०२६ सम्म यो लगानी योजनाको खुद सम्पत्ति मूल्य प्रतिइकाई अंकित मूल्य भन्दा तल झरिसकेको छ। रेटिङ एजेन्सी, इक्रा नेपालले प्रकाशन गरेको विज्ञप्ती अनुसार, प्रति इकाइ रू. १० रहेको लगानी योजनाको खुद मूल्य घटेर रू. ९.८ कायम हुन पुगेको छ।
क्यापिटलले गत फेब्रुअरी महिनामा शुरू भएको यो योजना अन्तर्गत कोषबाट ७५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रूपैयाँ लगानी परिचालन गरिसकेको छ। बाँकी रहेको पच्चीस प्रतिशत रकमलाई शेयर बजारमा थप गिरावट आएको अवस्थामा उपयोग गर्न सकिने गरी सुरक्षित राखिएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ५४ प्रतिशत पूँजी लगानी रहेको नेपाल लाइफ क्यापिटलको २ अर्ब रूपैयाँ बराबरको कोषमा नेपाल लाइफ इन्स्योरेन्सले पनि १४ प्रतिशत अर्थात् २८ करोड रूपैयाँ बन्द मुखी लगानी योजनामा लगानी गरेको छ।
यसले लघुवित्त क्षेत्रमा करिब १७ प्रतिशत, बीमा क्षेत्रमा करिब १६ प्रतिशत र उत्पादन तथा प्रशोधन क्षेत्रमा करिब १५ प्रतिशत रकम लगानी गरेको छ। यसरी लगानीको ठूलो हिस्सा अर्थात् झण्डै ५० प्रतिशत रकम सीमित क्षेत्रमा केन्द्रित रहेकाले ती क्षेत्रहरूको कार्यसम्पादनले आगामी दिनमा कोषको खुद सम्पत्ति मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने इक्रा नेपालले उल्लेख गरेको छ।
बैंकको निक्षेपको ब्याजदरमा आएको संकुचन र दोस्रो बजारमा ऋणपत्रको न्यून कारोबारका कारण कोषले आफ्नो कुल सम्पत्तिको करिब १ प्रतिशत अर्थात् १ करोड १० लाख रूपैयाँ मात्र स्थिर आय हुने उपकरणहरूमा लगानी गरेको छ, जसले गर्दा यसको लगानी जोखिम र प्रतिफलका हिसाबले विविधीकरणका विकल्पहरू सीमित भएका छन्। घरेलु ऋणपत्र बजारको सीमितता र बैंक निक्षेपको ब्याजदरमा आएको दबाबका कारण कोषले आफ्नो कुल सम्पत्तिको करिब एक प्रतिशत मात्रै स्थिर आम्दानीका उपकरणहरूमा लगानी गर्न सकेको छ। यसले गर्दा लगानीमा विविधता ल्याउने र जोखिम व्यवस्थापन गर्ने क्षमतामा केही सीमितता सिर्जना भएको छ।
पूँजी बजारको साँघुरो दायरा, स्थिर आम्दानीका साधनहरूको अभाव र केही निश्चित क्षेत्रहरूमा उच्च लगानीको जोखिम रहेको इक्रा नेपालले प्रेस विज्ञप्तीमा औंल्याएको छ। विज्ञप्तीमा इक्रा नेपालले लेखेको छ,’नेपाल स्टक एक्सचेञ्जमा लगानी विविधीकरणका विकल्पहरू अझै पनि सीमित नै छन्। एकातिर स्वदेशी ऋणपत्र बजार फराकिलो हुन सकेको छैन भने अर्कोतिर वित्तीय क्षेत्रकै बाहुल्यता कायम छ। यसले गर्दा लगानीमा लचकता कायम राख्न तथा कोष व्यवस्थापकलाई उपयुक्त ढंगले लगानी विविधिकरण गर्न र कोष व्यवस्थापनमा आउने नयाँ नयाँ जोखिमहरू सन्तुलनमा राख्न चुनौती भइरहेको छ।’
इक्रा नेपालका अनुसार, यी बन्दमुखी योजनाहरू सामान्यतया आफ्नै प्रति इकाई शुद्ध सम्पत्ति मूल्य को तुलनामा करिब ६ देखि १२ प्रतिशतसम्मको छुटमा कारोबार हुने गर्दछन्। साथै, नेपाल लाइफ समृद्धि योजनाको औसत १२ महिनाको कारोबार परिमाण पनि एकदमै न्यून अर्थात् कुल कोष आकारको ०.५७ प्रतिशत मात्र रहेको छ।












