काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद्ले सरकारी सेवाबाट निवृत्त भएका व्यक्तिहरूले कानून व्यवसाय सुरु गर्नुअघि दुई वर्षको विश्राम अवधि (कुलिङ पिरियड) पूरा गर्नुपर्ने व्यवस्था लागू गरेको छ। परिषद्को २०८३ मंसिर १ गते बसेको बैठकको निर्णयबमोजिम यस्तो व्यवस्था कायम गरिएको हो।
कानून व्यवसायीको प्रमाणपत्र लिएका तोकिएका व्यक्तिहरूले सेवा अवधि समाप्त भएको दुई वर्षपछि मात्र प्रमाणपत्र नवीकरणका लागि निवेदन दिन पाउनेछन्।
सेवाबाट निवृत्त हुनेबित्तिकै प्रमाणपत्र अद्यावधिक गरी कानून व्यवसायमा लाग्दा स्वार्थको द्वन्द्व उत्पन्न हुन सक्ने तथा निष्पक्षतामाथि प्रश्न उठ्ने सन्दर्भलाई ध्यानमा राख्दै परिषद्ले यो निर्णय गरेको हो। यो निर्णय कार्यान्वयन गर्न परिषद्को आन्तरिक कार्य व्यवस्था सञ्चालन नियमावली, २०५५ को नियम १३ संशोधन गरिएको जनाइएको छ।
परिषद्को सूचनाअनुसार यो ‘कुलिङ अफ पिरियड’ नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको सेवामा स्थायी नियुक्ति पाएका निजामती कर्मचारी, न्यायाधीश तथा न्याय सम्पादनको कार्यमा संलग्न व्यक्ति ,नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनामा कार्यरत व्यक्ति, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट पारिश्रमिक लिने विद्यालयका स्थायी शिक्षक तथा अन्य कर्मचारीमा लागू हुनेछ।











