काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा बालबालिकाको चरित्र हत्या, ब्ल्याकमेलिङ र अनलाइन दुर्व्यवहार गर्ने कार्यमा संलग्न १५ देखि ५६ वर्ष उमेर समूहका ९ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले २०८३ मङ्सिर १० गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार अपरेशन डिजिटल स्वाभिमान – महिला तथा बालबालिकाको सम्मान अभियानअन्तर्गत पछिल्लो २४ घण्टामा विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकाहरूमा १५ र १६ वर्षका दुई बालकदेखि ५६ वर्षका वृद्धसम्म रहेका छन्। विज्ञप्तिअनुसार उनीहरूमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान भइरहेको छ।
२०८३/०८/०९ गते पक्राउ परेका व्यक्तिहरू
आशिष तामाङ (२६ वर्ष): स्थायी/हाल टोखा नगरपालिका वडा नं. १, काठमाडौँ। फेसबुकमा फेक आईडी बनाई पीडित नाबालिकाको अश्लील फोटो तथा भिडियो आफन्त र साथीहरूलाई पठाई चरित्र हत्या गरेको आरोपमा टोखाबाट पक्राउ।
रोहित विक्रम राणा (३७ वर्ष): ललितपुर महानगरपालिका वडा नं. १४, ललितपुर। पीडित युवतीलाई सामाजिक सञ्जाल इमोमा अश्लील, अपमानजनक तथा अशोभनीय अभिव्यक्ति दिई दुर्व्यवहार र चरित्र हत्या गरेको आरोपमा सातदोबाटो, ललितपुरबाट पक्राउ।
महमद फेसल एजाज (३२ वर्ष): स्थायी घर भारत, बिहार; हाल नागार्जुन नगरपालिका वडा नं. ०१, काठमाडौँ। प्रेम सम्बन्ध टुटेपछि पीडितको फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरी चरित्र हत्या गरेको आरोपमा न्यूरोड, काठमाडौँबाट पक्राउ।
विमल दर्जी खत्री (३७ वर्ष): स्थायी वतन इलाम देउमाई न.पा. वडा नं. ९; हाल काठमाडौँ। पीडितको गोप्य फोटो तथा भिडियो फेक टिकटक आईडीमार्फत प्रसारण गरी चरित्र हत्या गरेको आरोपमा सिनामङ्गल, काठमाडौँबाट पक्राउ।
दिल बहादुर मगर (५६ वर्ष): साविक अर्मन गाविस वडा नं. ६, हाल परिवर्तित मङ्गला गा.पा. वडा नं. ५ अर्मन, म्याग्दी। पीडितलाई सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको टोलीद्वारा आफ्नै वतनबाट पक्राउ।
सुवास कार्की (२५ वर्ष): स्थायी वतन चौदण्डीगढी न.पा. वडा नं. ०९, उदयपुर। फेसबुकमा फेक आईडी बनाई पीडितलाई अश्लील फोटो तथा भिडियो पठाई ब्ल्याकमेलिङ तथा चरित्र हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीद्वारा आफ्नै वतनबाट पक्राउ।
२०८३/०८/१० गते पक्राउ परेका व्यक्तिहरू
चिरन्जिबी सापकोटा (३२ वर्ष): स्थायी वतन वीरेन्द्रनगर न.पा. वडा नं. ११, सुर्खेत; हाल का.म.न.पा. वडा नं. १०, काठमाडौँ। What’s app मार्फत पीडित महिलालाई अश्लील गालीगलौज गरी चरित्र हत्या गरेको आरोपमा शान्तिनगर, बानेश्वरबाट पक्राउ।
१५ र १६ वर्षीय दुई बालक: पीडितको सामाजिक सञ्जाल ह्याक गरी अश्लील फोटो तथा भिडियो बनाई सार्वजनिक गर्ने धम्की दिई रकम माग गर्ने तथा मानसिक दुःख हैरानी दिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीद्वारा पोखराबाट नियन्त्रणमा लिइएको।
प्रहरी उपरीक्षक एवं प्रवक्ता दिपक राज अवस्थीद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता दुर्व्यवहार, धम्की, चरित्र हत्या वा अन्य साइबर अपराधबाट पीडितहरूलाई नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरी साइबर ब्यूरोमा उजुरी तथा सूचना दिन प्रहरीले अनुरोध गरेको छ।











