काठमाडौं । नेपाल बीमा प्राधिकरण बीमा कम्पनीहरुलाई बिदाको दिन र बढी समय कर्मचारीलाई काम गर्न लगाउँदा सट्टा बिदा वा अतिरिक्त पारिश्रमिक दिन निर्देशन दिएको छ।
प्राधिकरणले सबै इजाजतप्राप्त बीमकहरुका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। बीमकहरुले सार्वजनिक तथा साप्ताहिक बिदाका दिन तथा नियमित कार्यालय समयभन्दा बढी समय कर्मचारीलाई काममा लगाउने गरेको गुनासो प्राप्त भएको प्राधिकरणले जनाएको छ।
त्यस्ता गुनासाका सम्बन्धमा व्यावसायिक आवश्यकताअनुसार कर्मचारीहरुलाई सार्वजनिक तथा साप्ताहिक बिदाका दिन वा नियमित कार्यालय समयभन्दा बढी समय काममा लगाउनुपर्ने भएमा प्रचलित श्रम ऐन तथा नियमावली बमोजिम सट्टा बिदा तथा अतिरिक्त पारिश्रमिकको व्यवस्था मिलाउन पनि प्राधिकरणले निर्देशन दिएको छ।











