काठमाडौं। नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको नेपालको बीमा क्षेत्रको मानव संशाधन सन्तुष्टि प्रतिवेदनमा बीमा कम्पनीहरुभित्र पारिश्रमिक र वृत्ति विकासका मामिलामा धेरै असन्तुष्टि र चुनौतीहरु विद्यमान रहेको औँल्याइएको छ।
बैंकहरुसँग तुलना गर्दा पारिश्रमिकको पर्याप्तता सूचक २.८५ को न्यून औसतमा खुम्चिएको छ। जसमध्ये ४२ प्रतिशत कर्मचारी वर्तमान तलबमानसँग पूर्ण रुपमा असन्तुष्ट रहेको देखिएको छ। यसैगरी गैरआर्थिक सुविधाहरुको अपर्याप्तताको औसत २.८७ रहेको छ भने ४१ प्रतिशत कर्मचारी यसमा असन्तुष्ट छन्।
पदोन्नतिको पारदर्शितामा ३.०३ को औसत र १.२९ को उच्च मानक विचलन देखिएको छ। जसले ३८ प्रतिशत कर्मचारी पदोन्नति प्रक्रियाप्रति असन्तुष्ट रहेको र यसमा ठूलो तिक्तता रहेको प्रस्ट पार्छ। यसबाहेक कार्यभारको व्यवस्थापनमा ३.५० को औसत र १.१४ मानक विचलन रहेको छ।
करिब १४ प्रतिशत कर्मचारीले कुनै न कुनै प्रकारको कार्यस्थलगत दुव्र्यवहार वा दबाब सहनुपरेको गम्भीर विषयलाई पनि प्रतिवेदनले बाहिर ल्याएको छ।
बीमा क्षेत्रको सबैभन्दा कमजोर पक्षका रुपमा पारिश्रमिकको पर्याप्तता सूचक २.८५ को न्यून औसतमा खुम्चिनु रहेको छ। जसमा ४२ प्रतिशत कर्मचारी पूर्ण रुपमा असन्तुष्ट रहेको खुलाइएको छ। यसको सोझो अर्थ के हो भने ५ अंकको स्केलमा ३ भन्दा तलको औसत आउनु भनेको कर्मचारीहरुले पाइरहेको तलब र भत्ता उनीहरुको महँगी, कामको बोझ र बजारको मूल्यअनुसार पटक्कै पर्याप्त छैन भन्ने हो। बैंक लगायत अन्य संस्थाहरुसँग तुलना गर्दा बीमा क्षेत्रका कर्मचारीहरु आफ्नो पारिश्रमिकप्रति गहिरो रुपमा निराश छन् र यो विषय उद्योगका लागि गम्भीर चुनौती बनेको छ।
यसबाहेक विचारणीय पक्ष के छ भने आफूसँगैका साथीहरु बैंकमा जागिरे भएर मोटरगाडी र जग्गा वा आवासका लागि पर्याप्त रकम सहज रुपमा र न्यून ब्याजदरमा उपभोग गरिरहेका हुन्छन्। तर, बीमा कम्पनीमा कार्यरत उनीहरु प्रायले जागिरे छउन्जेल मोटरगाडी सुविधा नै पाउँदैनन्। बीमा कम्पनीले दिने कर्जाको पैसाले एउटा घडेरीसमेत जोड्ने अवस्था हुँदैन। बैंकले पर्याप्त कर्जा उपलब्ध गराएर कर्जा बराबरको जीवन बीमा गरिदिन्छन्। जसमा कर्मचारीको समान योगदान हुन्छ। बीमा अवधि पूरा भएपछि प्राप्त हुने रकमबाट बैंकले कर्जाको साँवा असुलि गर्छ। बीमाको बोनस कर्मचारीसँग बाँडफाँट गर्छ।
बीमा कम्पनीमा कार्यरत अधिकांश कर्मचारीका लागि विशुद्ध तलबबाहेक अन्य कुनै सुविधाको अवसर हुँदैन। बैंकले नियमित तालिम, क्षमता अभिवृद्धिका लागि विशेष र सघन तालिमको अवसर, आन्तरिक तथा विदेश भ्रमणको अवसर, अन्तर्राष्ट्रिय विज्ञहरुबाट प्रशिक्षण, विभिन्न होटल, वायूसेवा कम्पनी तथा रेस्टुरेन्ट, सपिङमलहरुमा छुट सुविधा उपभोग गर्छन्। मोटरगाडी खरिद गर्दासमेत बीमा कम्पनीको भन्दा बैंकका कर्मचारीको मोलमोलाई क्षमता बीमा कम्पनीका कर्मचारीको भन्दा स्वभाविक रुपमा अधिक हुन्छ।
अधिकांश वाणिज्य बैंकहरुमा अस्वस्थता महसुस भएमा प्राथमिक उपचार कक्षको व्यवस्था गरिएको हुन्छ। जहाँ कर्मचारीले आराम गर्ने अवसर प्राप्त गर्छन्। मानसिक स्वास्थ्यका लागि नियमित योग साधना तथा दक्ष चिकित्सकबाट मनोपरामर्शको सुविधा पनि दिइएको हुन्छ। सुत्केरी महिला कर्मचारीलाई मानसिक तनावबाट मुक्त राख्न बैंकिङ कार्यालयमै स्याहारसुसार गर्ने बेग्लै जनशक्तिको व्यवस्था गरिदिन्छन्। जसले गर्दा ती महिला कर्मचारीले समय–समयमा शिशुस्याहार कक्षमा गएर आफ्नो नवजात शिशुलाई भयमुक्त भएर स्तनपान गराउने वातावरण हुन्छ।
बीमा कम्पनीको अधिकांश उच्च व्यवस्थापन अझै पनि कर्मचारीको सन्तुष्टिको स्तरलाई विशुद्ध तलब अर्थात् पैसासँग मात्र जोडेर बुझ्ने कोसिस गर्छन्। उनीहरु जागिरको आकर्षण, सेवा, सुविधा, मानसिक सन्तुष्टि, वृत्ति विकासको अवसरलाई गौण ठान्ने गल्ती गरिरहेका छन्।












