काठमाडौं । बीमाशुल्कमा छुट, डिस्काउन्ट, फिक्स डिपोजिट, ग्यारेन्टी रिटर्नजस्ता शब्दहरुको प्रयोग गरेर जीवन बीमाबारे भ्रामक प्रचार सामग्री सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् । बीमा क्षेत्रमा पूर्णतः प्रतिबन्धित यस्ता शब्द र प्रलोभन देखाएर भ्रम छर्ने र ठगी नियतका सामग्री छ्यापछ्याप्ती पोस्ट भइरहँदा पनि बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरण भने आफ्नो नियामकीय जिम्मेवारीबाट पन्छिन खोजेको देखिएको छ।
बीमा ऐन, बीमा नियमावली र बीमा अभिकर्ता आचारसंहिताअनुसार अभिकर्ताको परीक्षा सञ्चालन गर्ने, इजाजतपत्र (लाइसेन्स) जारी गर्ने, आचारसंहिता पालना भए, नभएको अनुगमन गर्ने र नियम उल्लंघन गर्नेलाई सचेत गराउने, स्पष्टीकरण सोध्ने तथा कारबाही गर्ने सम्पूर्ण अधिकार र जिम्मेवारी प्राधिकरण स्वयंमै निहीत छ।
यसरी प्रमाणसहित सञ्चारमाध्यमहरुले शृंखलाबद्ध रुपमा भ्रामक प्रचारबारे समाचार सार्वजनिक गर्दै नियामकको ध्यानाकर्षण गराउँदासमेत प्राधिकरणले भने ऐन–नियमअनुसार सीधै कारबाही गर्नुको साटो बीमा कम्पनीहरुलाई ‘अनुगमन गर्न’ र ‘कारबाहीका लागि सिफारिस पठाउन’ निर्देशन दिएर पन्छिने बाटो रोजेको छ।
बीमा ऐन, २०७९ र आचारसंहिताको प्रावधानअनुसार कुनै पनि अभिकर्ताले नियम उल्लंघन गरेमा प्राधिकरणले बीमा कम्पनीहरुसँग सिफारिस मागिरहनुपर्ने कानुनी बाध्यता छैन। नियम उल्लंघन गर्ने अभिकर्तालाई सीधै स्पष्टीकरण सोध्ने र प्राप्त स्पष्टीकरण चित्तबुझ्दो नभएमा वा कसुर पुष्टि भएमा इजाजतपत्र निलम्बन वा खारेजी गर्नेसम्मको अधिकार प्राधिकरण आफैसँग छ। तर, सबै अधिकार आफ्नै हातमा हुँदाहुँदै पनि प्राधिकरणले कारबाहीको जिम्मेवारी बीमा कम्पनीहरुको काँधमा पन्छाउन खोज्नुले नियामकको नियत र क्षमतामाथि नै गम्भीर प्रश्न उठाएको छ।
बीमा ऐनको दफा ९५ ले मध्यस्थकर्ता(अभिकर्ता समेत)को इजाजतपत्र खारेजीसम्बन्धी प्रावधान समेटेको छ। प्राधिकरणले बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकको इजाजतपत्र खारेज गर्न सक्ने प्रावधान छः
(क) बीमा ऐन वा ऐन अन्तर्गत बनेको नियम, विनियम, निर्देशिका वा प्राधिकरणले दिएको निर्देशन विपरीत कुनै काम गरेमा, वा
(ख) बीमितको हक हित विरुद्ध कुनै कार्य गरेको प्रमाणित भएमा।

ऐनमा भएको व्यवस्थाबमोजिम इजाजतपत्र खारेज गर्नुअघि प्राधिकरणले सम्बन्धित बीमा अभिकर्तालाई आफ्नो सफाइ पेस गर्ने मनासिब मौका दिनुपर्नेछ।
दफा ९८ मा नियमन, निरीक्षण तथा अनुगमन गर्नुपर्ने व्यवस्था छ। नियमावलीको नियम ११२ मा प्राधिकरणले तोकेबमोजिमको आचारसंहिता पालना गर्नुपर्नेछ।

पेसागत अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर केसीले बीमा विश्वासको व्यापार भएकोले भ्रामक प्रचारप्रसार गर्नु गलत रहेको बताए। ‘केही अभिकर्ता साथीहरुबाट भइरहेका यस्ता गलत गतिविधि रोक्न बीमा प्राधिकरण र सम्बन्धित कम्पनी नै सक्रिय हुनुपर्छ’, उनले भने।
भ्रामक प्रचार गर्न छोडेनन् अभिकर्ताले, अझै पनि झुठा प्रचार सामग्री सामाजिक सञ्जालमा छ्यापछ्याप्ती
बीमा प्राधिकरणले बीमालेख गलत प्रचारका विषयमा प्राप्त गुनासाका आधारमा सम्बन्धित कम्पनीलाई अभिकर्ताको नामै किटान गरेर स्पष्टीकरण सोध्नुपर्ने केसीले बताए। ‘प्राधिकरणले केही समयअघि बीमा कम्पनीहरुलाई परिपत्र जारी गरेको थियो’, उनले भने, ‘तर, त्यो त्यति प्रभावकारी देखिएन। त्यसैले अब सम्बन्धित कम्पनीलाई अभिकर्ताको नामै पठाएर स्पष्टीकरण सोध्नुपर्छ।’
बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमाबारे गलत प्रचार गर्ने अभिकर्ताहरुका विषयमा गुनासाहरु आइरहेको बताए। ‘हामीले केही अभिकर्तालाई यस विषयमा सचेत पनि गराएका छौँ’, उनले भने, ‘प्राधिकरणले प्राप्त गरेको प्रमाणका आधारमा कारबाही प्रक्रिया पनि सुरु गरिसकेको छ।’
भ्रामक प्रचार गर्ने अभिकर्ताको इजाजतपत्र खारेजीको सिफारिस गर्न बीमा प्राधिकरणको निर्देशन
अहिले प्राधिकरणको नियमन महाशाखाले समाजिक सञ्जालमार्फत भइरहेका बीमाको गलत प्रचारप्रसारका विषयमा सूक्ष्म ढंगले निगरानी गरिरहेको पनि सुवेदीले जानकारी दिए। ‘प्राधिकरणले बीमकहरुलाई पनि परिपत्र गरेर यस विषयमा ध्यानाकर्षण गराइरहेको छ’, उनले भने, ‘अहिले बीमकहरुसँग पनि समन्वय गरी त्यति गलत गतिविधि गर्ने अभिकर्ताहरुका विषयमा छानबिन भइरहेको छ। गलत गतिविधि गर्नेमाथि प्राधिकरणले कारबाही गर्छ।’












