काठमाडौं । जीवन बीमकको काउन्टरमा बीमा गराउन सिधै आउने बीमितलाई बीमाशुल्कमा छुट दिने व्यवस्थाको दुरुपयोग भएको पाइएको छ। बीमकले अभिकर्ता कमिसनको ५० प्रतिशतले हुन आउने रकम बीमाशुल्कमा छुट दिनुपर्ने व्यवस्था भए पनि बीमकपिच्छे यस्तो छुट सुविधा फरक–फरक उपलब्ध गराइएको भन्दै अभिकर्ता संगठनहरुले विरोध जनाएका छन्।
नेपाल सरकारले बीमा नियमावली, २०८१ मार्फत बीमकको कार्यालयमा जीवन बीमा गर्न प्रत्यक्ष आउने जोकोहीलाई अभिकर्ता कमिसनको ५० प्रतिशत रकम बीमाशुल्क छुट उपलब्ध गराउने व्यवस्था गरेको छ। सरकारले नियमावलीमार्फत यस्तो व्यवस्था गर्नुको पछाडि परम्परागत वितरण प्रणालीमा रहँदै आएको निर्भरतालाई घटाउनु हो।
मध्यस्थकर्ता अर्थात् बीमा अभिकर्ताको संलग्नता बिना नै बीमक कहाँ सम्पर्क गरेर प्रत्यक्ष बीमा गराउन आउने बीमितका लागि यस्तो सुविधा उपलब्ध गराइएको छ। नियमावलीमा भएको यो प्रावधानलाई बीमकले दुरुपयोग गरेर तोकिएको भन्दा अधिक छुट उपलब्ध गराएको गुनासो अभिकर्ता संघका पदाधिकारीहरुको छ।
पेसागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर केसीले प्रत्यक्ष बीमा गर्न आउने बीमितलाई बीमकले १४ प्रतिशतसम्म बीमाशुल्कमा छुट उपलब्ध गराउनु बीमा नियमावलीको प्रावधान विपरीत भएको प्रतिकृया दिए। उनले भने, ‘यसमा नियामकीय कमजोरी पनि देखिएको छ। अभिकर्तालाई पेल्ने विषयमा नियामकले पनि कसिकसाउ गर्ने तर अन्य विषयमा पुरानै व्यवस्थालाई निरन्तरता दिने प्रवृत्ति छ।’
बीमा नियमावलीको नियम ४४ मा बीमा अभिकर्ताको कमिसन तथा प्रोत्साहन (इन्सेन्टिभ) सम्बन्धी व्यवस्था छ। यो नियममा बीमा अभिकर्तालाई बीमाशुल्क रकममा देहायबमोजिम कमिसन प्रदान गरिने व्यवस्था छः
(क) जीवन बीमामा अनुसूची–९ बमोजिम,
(ख) निर्जीवन बीमामा बीमाशुल्कको ५ प्रतिशत.
(ग) लघुबीमा र स्वास्थ्य बीमामा प्राधिकरणले निर्धारण गरेबमोजिम।
(२) उपनियम (१) बमोजिमको कमिशन रकमको अतिरिक्त जीवन बीमाको प्रथम बीमाशुल्कमा प्रतिअभिकर्ता प्राधिकरणले निर्धारण गरेको सीमाभन्दा बढी नहुने गरी प्रोत्साहन (इन्सेन्टिभ) रकम प्रदान गर्न सकिनेछ। तर, संस्थागत बीमा अभिकर्तामार्फत हुने बीमा र नेपाल सरकारले अनिवार्य गरेको बीमामा बीमा अभिकर्तालाई प्रोत्साहन (इन्सेन्टिभ) दिन पाइने छैन।
नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघका अध्यक्ष राजेन्द्र अमात्यले प्रत्यक्ष बीमामा छुट दिनेलगायतका अभिकर्ता हित प्रतिकूलका थुप्रै प्रावधानप्रति प्रारम्भदेखि नै विमति रहेको प्रतिक्रिया दिए। उनले भने, ‘नेपालको जीवन बीमा बजारमा व्यक्तिगत अभिकर्ताको महत्वपूर्ण योगदानलाई प्रत्यक्ष बीमामा छुट, इन्सेन्टिभमा कटौटीलगायतका प्रावधान ल्याएर उपेक्षा गर्ने प्रयास गरिएको छ।’
नियम ४४ को उपनियम (४) मा बीमित आफैँ प्रत्यक्ष रुपमा बीमा गर्न आएमा बीमकले उपनियम (१) बमोजिमको कमिसनको ५० प्रतिशतले हुन आउने रकम बीमा शुल्कमा छुट दिनुपर्ने व्यवस्था छ। यो प्रावधानअनुसार बीमितले बीमा अवधिभर नै तोकिएको कमिसन दरको ५० प्रतिशत रकम छुट पाउनेछन्। उदाहरणका लागि १५ वर्षे बीमा गराएको छ भने अभिकर्ताले पहिलो वर्ष २५, दोस्रोे वर्ष १५ र तेस्रो वर्षदेखि दसौँ वर्षसम्म ५ प्रतिशत कमिसन प्राप्त गर्दा बीमितले क्रमशः १२.५ प्रतिशत, दोस्रो वर्ष ७.५ प्रतिशत र तेस्रोदेखि दसौँ वर्षसम्म २.५ प्रतिशत छुट उपलब्ध गराउनुपर्छ।

जीवन बीमक संघ नेपालका अध्यक्ष प्रविण रमन पराजुलीले प्रत्यक्ष छुटसम्बन्धी नियमावलीको प्रावधानमा अझै पनि अस्पष्टता रहेको भन्दै प्रस्ट पार्न बीमा प्राधिकरणसमक्ष संघका तर्फबाट पत्राचार गरिएको बताए। उनले भने, ‘कमिसनका आधारमा छुट उपलब्ध गराउने भनिएको छ तर यस्तो प्रथम बीमाशुल्कमा मात्र वा अभिकर्ता कमिसन जस्तै नवीकरण बीमाशुल्कमा पनि दिने हो भन्ने प्रस्ट छैन।’
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा नियमावलीको प्रावधान प्रत्यक्ष बीमा गर्न आउने जोसुकै बीमितलाई उपलब्ध गराउने छुट सहुलियतसँग सम्बन्धित भएको बताए। उनले भने, ‘नियमावलीको व्यवस्था प्रस्ट छ, सिधै बीमकको काउन्टरमा जाने जोसुकैलाई त्यो बीमाबापत अभिकर्ताले प्राप्त गर्ने कमिसनको ५० प्रतिशत छुट दिने हो।’ एआइ सिर्जित काल्पनिक तस्वीर












