काठमाडौं । जीवन बीमा अभिकर्ताका लागि बीमा नियमावलीमा भएको प्रावधानविपरीत जीवन बीमकले इन्सेन्टिभ (प्रोत्साहन)बापतको सुविधा उपलब्ध गराएको जानकारी पाएपनि नेपाल बीमा प्राधिकरण माैन बसेको पाइएको छ।
बीमा नियमावलीको नियम (४४) मा बीमा अभिकर्ताले प्राप्त गर्ने पारिश्रमिकसम्बन्धी व्यवस्था गरिएको छ। यो दफामा अभिकर्ताले प्राप्त गर्ने कमिसन, प्रोत्साहन र लामो समयदेखि बीमकमा योगदान गर्ने अभिकर्तालाई थप प्रोत्साहनसम्बन्धी व्यवस्था गरिएको छ। उपनियम (२) मा बीमकले प्रथम बीमाशुल्कमा प्रतिअभिकर्ता बीमा प्राधिकरणले निर्धारण गरेको भन्दा बढी नहुने गरी प्रोत्साहन (इन्सेन्टिभ) प्रदान गर्न सक्ने प्रावधान छ।
जीवन बीमा अभिकर्ता प्रोत्साहन वितरणमा विकृती, नियामक नेपाल बीमा प्राधिकरण बेखबर
नियम ४४ को उपनियम (२) मा प्रतिअभिकर्ता बीमा प्राधिकरणले निर्धारण गरेको भन्दा बढी नहुने गरी प्रोत्साहन प्रदान गर्न सक्ने व्यवस्था गरिए पनि जीवन बीमकले प्रतिअभिकर्ताको साटो कुल प्रथम बीमाशुल्क आम्दानीका आधारमा प्रोत्साहन रकम उपलब्ध गराइरहेका छन्।
बीमा ऐन, नियमावली, निर्देशिका, नियमको कार्यान्वयन गर्ने निकाय नेपाल बीमा प्राधिकरण हो । बीमा नियमावली २०८१ लागू भएको एक वर्ष भन्दा बढी समय बितिसक्दा समेत नियमावलीको प्रावधान बीमकले अवज्ञा गर्दा समेत प्राधिकरण माैन बसेको छ।
पछिल्लोपटक २०७८ बैशाख १४ गते नेपाल बीमा प्राधिकरणले प्रथम बीमाशुल्कको १८ प्रतिशतको सीमाभित्र रहेर व्यवस्थापन खर्च (अभिकर्ता तालिम, प्रशिक्षण, प्रोत्साहनसमेत) गर्न निर्देशन जारी गरेको थियो । त्यसअघि मासिक इन्सेन्टिभ योजना लागू गर्न जीवन बीमकले प्राधिकरणकबाट प्रत्येकपटक पूर्वस्वीकृति लिनुपर्ने बाध्यात्मक अवस्था प्राधिकरणले यही परिपत्रमार्फत अन्त्यसमेत गरेको थियो।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ एवं जीवन बीमक संघका निवर्तमान अध्यक्ष पोषकराज पौडेलले अभिकर्ता इन्सेन्टिभ सबै कम्पनीले बीमा प्राधिकरणले तोकेको मापदण्डअनुसार नै वितरण गर्नुपर्ने बताए। ‘सबै ऐन–नियम, नियमावली तथा निर्देशन मान्नुपर्छ, यसमा दुईमत नै छैन’, उनले भने, ‘यदि तलमाथि केही भएको छ भने नियामकले यसलाई नियन्त्रण गर्नुपर्छ।’
बीमा प्राधिकरणकी प्रवक्ता एवं निर्देशक पुजन ढुंगेल अधिकारीले नियमितविपरीत अभिकर्ता इन्सेन्टिभ वितरण भइरहको विषयमा प्राधिकरणमा केही जानकारी आएको बताइन्। ‘यस विषयमा प्राधिकरणको सम्बन्धित महाशाखाले अध्ययन तथा अनुसन्धान गरिरहेको छ’, उनले भनिन्, ‘यदि बीमा नियमावलीविपरीत इन्सेन्टिभ वितरण गर्ने काम भइरहेको छ भने प्राधिकरणले बीमकमाथि नियमबमोजिम कारबाही गर्छ।’












