काठमाडौं । जीवन बीमा कम्पनीहरूले अभिकर्तालाई व्यवसाय भित्र्याएवापत उपलब्ध गराउने अतिरिक्त रकम अर्थात् इन्सेन्टिभ वितरणमा अनियमितता र नियामकीय प्रावधानभन्दा झण्डै दोब्बर रकम खर्चिएको तथ्य फेला परेको छ।
इजाजत प्राप्त जीवन बीमकमध्ये दुईवटा बीमक सम्बद्ध श्रोतबाट प्राप्त जानकारी अनुसार, प्रोत्साहनवापतको खर्च ३५ प्रतिशत भन्दा बढी रहेको देखिएको छ। प्रमुख कार्यकारी अधिकृतहरूले आफ्नो कार्यकालमा अस्वाभाविक प्रगती देखाएर ४ वर्षे कार्यकाल टिकाउने वा अर्को एक कार्यकाल निरन्तरता दिलाउने ध्याउन्नमा बीमितको बचतसँग खेलाँची गरिरहेका छन् ।
नेपाल बीमा प्राधिकरणले जारी गरेको परिपत्र अनुसार, जीवन बीमकले प्रथम् बीमाशुल्क आम्दानीको आधारमा अभिकर्तालाई इन्सेन्टिभ (प्रोत्साहन)वापत १८ प्रतिशतसम्म खर्च गर्न सक्छन्। अर्थात् अभिकर्ताले प्राप्त गर्ने प्रत्यक्ष कमिशनको अतिरिक्त अभिकर्ताले आर्जन गरेको प्रथम् बीमाशुल्कको १८ प्रतिशतसम्मको रकम प्रोत्साहनवापत वितरण गर्न सक्छन् ।
इन्स्योरेन्स खबरले प्राप्त गरेको एक जीवन बीमकको प्रोत्साहन वितरणको तथ्याङ्क गणना गर्दा पहिलो, दोश्रो र तेश्रो तहको अभिकर्तालाई प्रथम् बीमाशुल्क आम्दानीको झण्डै ३६ प्रतिशत रकम बाँडेको देखिएको छ।
खासगरी नव प्रवेशी अभिकर्तालाई व्यवसायीक प्रशिक्षण दिने, बिक्री गर्ने कला सिकाउने, अभिकर्ता सञ्जाल विस्तारमा सघाउने अभिकर्ताको नेतृत्वलाई पनि प्रोत्साहित गर्ने उद्देश्यले प्रोत्साहन वितरणको प्रावधान ल्याइएको हो। यस्तो प्रोत्साहनवापतको सुविधा उपभोग गर्ने अभिकर्ता दुई तहमा हुन्छन्, जसमा पहिलोलाई बिजनेश डेपलपर(बिडी) र दोश्रोलाई एजेन्सी म्यानेजर(एएम) पदनाम दिइएको हुन्छ। तर यस्तो पदनामलाई बीमा ऐन तथा नियमावलीले चिन्दैन ।
जीवन बीमा कम्पनीहरूमा व्यवसायीक अभिकर्ता प्रवर्द्धनका लागि लागू गरिएको नेतृत्व सञ्जालमा कुनै एकजना अभिकर्ताले गरेको बीमाशुल्क अम्दानीका आधारमा कसरी प्रोत्साहन सुविधा वितरण गरिन्छ भन्ने जिज्ञासा सर्वसाधारणमा हुनसक्छ। हामीले एउटा उदाहरणमार्फत् प्रोत्साहत वितरणमा देखिएको विकृती प्रष्ट पार्ने प्रयास गरेका छौं। यो उदाहरण, तीनवटै तहका अभिकर्ताले १५ वर्षे सावधिक बीमा योजना बिक्री गरेको मान्यताका आधारमा तयार पारिएको हो।
यहाँ समेटिएका तीनजना अभिकर्तामध्ये पहिलो तहको अभिकर्ताले वर्ष भरमा १ करोड रूपैयाँ प्रथम बीमाशुल्क आम्दानी गरेका छन् । दोश्रो र तेश्रो तहमा कायम रहन न्यूनत्तम पाँच लाख रूपैयाँ प्रथम् बीमाशुल्क आम्दानी गरेका छन् ।
सुविधाको वितरणः सबैभन्दा तल्लो अर्थात् पहिलो तहमा रहने अभिकर्ताले १ करोड रूपैयाँ प्रथम् बीमाशुल्कवापत मासिक ७० हजार रूपैयाँ थप सुविधा(तलब वापत) उपभोग गर्छन्। उनीभन्दा माथिल्लो तह अर्थात् दोश्रो तहमा रहने अभिकर्ता नेताले पनि ७० हजार रूपैयाँ नै तलब सुविधा उपभोग गर्छन् ।
अब बाँकी रहेको तेश्रो तहको अभिकर्ताले पहिलो तहको अभिकर्ताको बीमाशुल्क अम्दानीको ७० प्रतिशत (रू ७० लाख) र आफूले आर्जन गरेको प्रथम् बीमाशुल्क रू ५ लाख सहित जम्मा रू ७५ लाख गणना हुने गरी मासिक रू.५० हजार तलब आर्जन गर्छन्। यसरी १२ महिनाको अवधिमा तीनवटै तहका अभिकर्तालाई बीमकले मासिक तलब वा प्रोत्साहनवापत कुल रू. २२ लाख ८० हजार भुक्तानी गरेको हुन्छ।
यसबाहेक मासिकरूपमा जीवन बीमकले प्रोत्साहन योजना पनि लागू गर्दै आएका छन् । यस्तो योजना अन्तर्गत आर्जित प्रथम् बीमाशुल्कको ४.५ प्रतिशतसम्मको नगद रकम वा सो रकम बराबरको जिन्सी बीमकले उपलब्ध गराउँछन् । यो खर्च समेत समावेश गर्दा बीमकले रू.१ करोड १० लाख प्रथम् बीमाशुल्कमा ४ लाख ९५ हजार रूपैयाँ मासिक इन्सेन्टिभ योजनामा वितरण गर्नुपर्छ।
अभिकर्ताले गर्ने आम्दानी यति मात्रमा सीमित हुँदैन । तेश्रो तहको अभिकर्ताले पहिलो तहको अभिकर्ताले आर्जन गरेको प्रथम् बीमाशुल्कको ७० प्रतिशतमा ४ प्रतिशतका दरले रू २ लाख ८० हजार थप इन्सेन्टिभ आर्जन् गर्छन् । दोश्रो तहको अभिकर्ता नेताले पुरै रू. १ करोडको ४ प्रतिशतवापत ४ लाख रूपैयाँ प्रोत्साहन रकम भुक्तानी प्राप्त गर्छन् । बीमकले विभिन्न नाममा खोलेको अभिकर्ता क्लबमा यसका अतिरिक्त रू.१ लाख ४० हजार पनि वितरण गर्नुपर्छ। यसरी कुल रू. १ करोड १० लाख प्रथम् बीमाशुल्क आम्दानी गरेर दिएवापत अभिकर्ताले जीवन बीमकबाट वर्षदिनमा रू. ३५ लाख ९५ हजार इन्सेन्टिभ वापत प्राप्त आम्दानी गर्न सकेका हुन्छन् ।
रू.१ करोड १० लाख प्रथम् बीमाशुल्क आम्दानी गर्दा बीमकले अभिकर्तालाई मात्रै झण्डै रू. ३६ लाख प्रोत्साहन रकम भुक्तानी गर्छन् । यो रकममा अभिकर्ताले प्राप्त गर्ने प्रत्यक्ष कमिशन खर्च समावेश गरिएको छैन । पहिलो वर्षको कुल रू. १ करोड १० लाख प्रथम् बीमाशुल्क आम्दानीमा बीमकले अभिकर्तालाई बीमाशुल्कको २५ प्रतिशत कमिशनवापत रू. २७ लाख ५० हजार भुक्तानी गरेको हुन्छ।
प्रत्यक्ष कमिशन र तीन तहमा वितरण गरिने प्रोत्साहनवापतको रकम समेत समावेश गर्दा रू. १ करोड १० लाख आर्जन गर्दा बीमकले अभिकर्ता कमिशन र प्रोत्साहनमा रू. ६३ लाख ४५ हजार बाहिरिन्छ। बीमकसँग बाँकी रहन्छ, रू.४६ लाख ६५ हजार ।
प्रतिशतका हिसाबले गणना गर्ने हो भने पहिलो वर्षमा बीमकले अभिकर्तालाई उपलब्ध गराउने कमिशन र प्रोत्साहन समेतको रकम जोड्दा पहिलो वर्षमै प्रथम् बीमाशुल्कको ५७.६८ प्रतिशत रकम बाहिरिन्छ।
यो तथ्यले केही जीवन बीमा कम्पनीभित्र डरलाग्दो गरी विकृती प्रवेश गरेको देखिएको छ। बीमितबाट संकलितमध्ये ५७ प्रतिशतभन्दा बढी रकम अभिकर्तालाइ वितरण गर्ने हो भने त्यस्तो कम्पनीले कुन रकम लगानी गर्छ र बीमितको न्यूनत्तम अपेक्षा पुरा गर्न सक्छ?
कुनै समय आक्रामकरूपमा बजार बिस्तार गरेर वाहवाही कमाएका साविक युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज लाल कर्ण मर्जरपछिको हिमालयन लाइफमा दोश्रो कार्यकाल पुरा नहुँदै राजीनामा दिन बाध्य बनाइए । उनले अल्पकालीन कार्य सम्पादन उत्कृष्ट बनाउने ध्याउन्नमा घाटाका बीमा योजनाहरूको बिक्रीमा जोड र अनियन्त्रित खर्च गरेका कारण केही बीमालेखको बोनश दर जीवन बीमा कम्पनीहरूमध्येकै सर्वाधिक थोरै रहेको छ। बोनशदर अत्यन्तै न्यून भएकाले बीमालेख बिक्री गर्न नसकेको भन्दै अभिकर्ताले नै उनीविरूद्ध आन्दोलन गरेर राजीनामा दिन बाध्य बनाए ।
यो तथ्यले किन कुनै पनि बीमितले शुरूको तीन वर्षपछि बीमालेख समर्पण गर्दा आफूले भुक्तानी गरेको बीमाशुल्क बराबरको रकम मात्र पनि फिर्ता प्राप्त गर्दैन भन्ने प्रश्नको पनि जवाफ दिन्छ।












