काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्तिका लागि ४ जनाको नाम सर्टलिस्ट गरिएको छ।
अर्थ मन्त्रालयले गठन गरेको सहसचिव महेश आचार्यको संयोजकत्वको सीईओ छनौट तथा सिफारिस समितिले ४ जनाको नाम सर्टलिस्ट गरेको हो। सर्टलिस्टमा पर्नेहरुमा अनिलराज पौडेल, नवराज सापकोटा, नारायणप्रसाद सापकोटा र प्रताप सुवेदी छन्।
समितिले गत साउन १२ गते नेप्सेको सीईओमा दरखास्त आह्वान गरेको थियो। दरखास्त दिने अन्तिम मिति साउन २६ गतेसम्म ८ जनाले आवेदन दिएका थिए। तर, उनीहरुको नाम सार्वजनिक गरिएको थिएन।
अब सर्टलिस्टमा पर्नेहरुलाई समितिले यही असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि अर्थ मन्त्रालयमा डाकेको छ। जसअनुसार अनिराज पौडेललाई बिहान ७ बजे, नवराज सापकोटालाई बिहान ८ बजे, नारायणप्रसाद सापकोटालाई साँझ ५ः३० बजे र प्रताप सुवेदीलाई साँझ ६ः३० बजे डाकिएको छ।
सर्टलिस्टमा परेका उम्मेदवारहरुलाई तोकिएको समयभन्दा ३० मिनेट अगाडि नै अन्तर्वार्तास्थलमा उपस्थिति हुन समितिले आग्रह गरेको छ।
अन्तर्वार्ता र प्रस्तुतीकरणपछि सर्टलिस्टमा परेकामध्ये ३ जनाको नाम समितिले मन्त्रालयसमक्ष पेस गर्नेछ। त्यसपछि मन्त्रालयले ती नाम मन्त्रिपरिषदको बैठकमा सिफारिस गर्नेछ। तिनैमध्ये एकजनालाई मन्त्रिपरिषदको बैठकले नेप्सेको सीईओमा नियुक्त गर्नेछ।
नेप्सेको सीईओबाट चूडामणि चापागाइँले कार्यकाल सकिनुअघि गत असार २२ गते राजीनामा दिएका थिए। उनलाई तत्कालीन सरकारले २०८१ चैत १९ गते नेप्सेको सीईओमा नियुक्त गरेको थियो।












