काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको लेदोसहितको भीषण बाढीमा समेत नबगाएको नुवाकोटको विदुर नगरपालिका–१ ढुंगेमा अवस्थित भाइरल हरियो घरका घरधनीले शिखर इन्स्योरेन्स कम्पनीबाट क्षतिपूर्ति दाबी प्राप्त गरेका छन्।
कम्पनीले बाढी गएको ३५ दिनभित्रै घरधनीलाई क्षतिग्रस्त घर र बाढीमा बगाएको सवारीसाधनको बीमाबापतको सम्पूर्ण रकम क्षतिपूर्ति भुक्तानी गरिएको जानकारी दिएको छ। शिखर इन्स्योरेन्सका दाबी विभाग प्रमुख प्रकाश थापाले बाढीमा क्षतिग्रस्त भवन र सवारीसाधनको सतप्रतिशत क्षतिपूर्ती भुक्तानी गरिएको बताए। उनले इन्स्योरेन्स खबरसँग भने, ‘पसलमा भएको मालसामानको क्षति र मदिराको स्टक क्षतिबारे अन्यत्रबाट पनि कागज प्रमाण संकलन गर्ने काम भइरहेको छ। कागज प्रमाण प्राप्त भएपछि सेटलमेन्ट हुन्छ।’
आफ्नै घरमा मदिरा व्यवसाय गर्दै आएका घरधनी प्रकाश प्याकुरेलका अनुसार कम्पनीले बाढीको भोलिपल्टै क्षतिपूर्तिका लागि सम्पर्क गरेर सहजीकरण गरेका थिए। उनले बाढीमा मदिराको स्टक, पसल, घर, गाडी २ वटा स्कुटर एउटा मोटरसाइकल क्षतिग्रस्त बनेको बताए।
आफू व्यवसायीमात्र नभएर विदेश मेत बसेर आएकाले बीमाको महत्वबारे जानकारी भएको र बैंक ऋणसमेत भएकाले जोखिमको बीमा गर्दै आएको बताए। शिखर इन्स्योरेन्सलाई दिएको भिडियो अन्तर्वार्तामा प्याकुरेल दम्पतीले भनेका छन्, ‘प्रिमियमको लोभले गर्दा वास्तविकभन्दा थोरै मूल्यको बीमा गराउनु हुँदैन रहेछ। यो विपद्को घटनाबाट हामीले पाठ सिक्यौँ।
प्याकुरेल दम्पतीले भनेका छन्, ‘हामीले व्यवसायीले अनिवार्य बीमा चाहिँ गर्नैपर्ने रहेछ। मेरो ५ करोडको सम्पत्ति छ भने पूरै मूल्यको गर्नैपर्ने रहेछ। प्रिमियमको लोभले गर्दा थोरै मूल्यकको गर्दा आफैंले नोक्सानी हुन्छ।’
श्रीमती लक्ष्मी पाण्डे प्याकुरेलले जुनसुकै बीमा कम्पनीबाट बीमा गराउनुअघि कम्पनीको अवस्था र बीमाबारे विस्तृत रुपमा बुझेरमात्र गर्न सुझाव दिएकी छन्।
बीमा दाबीका लागि सहज भए पनि यातायात व्यवस्था कार्यालयबाट सिफारिश लिने क्रममा उचित सहजीकरण नभएको उनीहरुको गुनासो थियो।












