काठमाडौं । विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुग्नुका साथै भौतिक संरचनामा समेत व्यापक क्षति भएको छ । विशाल ग्रुपले यस विपदमा आफन्त गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित सबैप्रति ऐक्यबद्धता जनाएको छ । साथै, बाढीबाट घाइते तथा प्रभावित भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
जारी उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले विशाल ग्रुपले प्रधानमन्त्री विपद् राहत कोषमा रु २ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको छ । विशाल ग्रुपको सामाजिक उत्तरदायित्व निकाय भीजी फाउन्डेसनले बाढी प्रभावितहरूका लागि रु १ करोड बराबरको अत्यावश्यक सामग्री भएको ५,००० बक्स उपलब्ध गराउनेछ । उक्त राहत प्याकेजमा तत्कालको पुनर्स्थापना अवधिमा प्रभावित परिवारलाई आवश्यक पर्ने खाद्यान्न, दैनिक उपभोग्य तथा सरसफाइका सामग्री समावेश हुनेछन् । यसका अतिरिक्त, विशाल ग्रुपले बाढी प्रभावितहरूका लागि २,००० थान कम्बल र १,००० थान शल समेत सहयोग गराउने जनाएको छ ।
यस आर्थिक सहयोग तथा सामग्री राहत कार्यक्रमहरूमार्फत विशाल ग्रुप र भीजी फाउन्डेसनले संकटको घडीमा समुदायसँगै उभिने तथा प्राकृतिक विपद्पछिको उद्धार र पुनर्स्थापना कार्यमा सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन् ।












