GBIME
IME Life

टिचिङ पेसालाई बिट मारेर इन्स्योरेन्समा होमिएका छविको यात्रा एजेन्टदेखि प्रदेश प्रमुखसम्म

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जिम्मेवारी भयंकर चुनौती हो । योभन्दा कठोर अरु केही हुँदैन । यो कर्तव्यबाट भाग्न पनि कदापि मिल्दैन । जिम्मेवारी विशाल अवसर पनि हो । त्यसमा हजारौँ नयाँ सम्भावना हुन्छन् । यिनै जिम्मेवारीहरुले आफ्ना व्यक्तिगत सबै सपना पूरा गर्न सकिन्छ । यस्तै अन्तरविरोध र अन्तरसम्बन्धको जगमा जसले जिम्मेवारीप्रति अधिक प्रेम गर्छ । त्यसलाई रातमा निन्द्राभन्दा पनि चिन्ता र चिन्तन धेरै हुन्छ । फेरि त्यही मानिस दिनमा आफ्नो दायित्व, कर्तव्य र जिम्मेवारी पूरा गर्न अथाह मेहनत र परिश्रम गर्छ । समय र श्रमको उच्च सम्मान गर्छ । हो, उही मान्छेले एक दिन सफलताको शिखर चुम्न सफल हुन्छ । उसलाई संसरका कुनै पनि पहाडले रोक्न अनि छेक्न सक्दैन । यस्तै विभिन्न आरोह तथा अवरोहलाई सामना गर्दै सफलता प्राप्त गरेका व्यक्तिमध्ये एक हुन्, छवि पौडेल ।

हाल छवि सिटिजन लाइफका गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । उनले बीमा पहुँच, बीमा सचेतना, बीमा बुझाइमा फराकिलो सोच होेस् भन्ने हेतुले गण्डकी प्रदेशमा मुख्य टार्गेट बनाई अन्य विभिन्न ठाउँमा समेत बीमा शिक्षा बाँड्दै हिँड्ने गर्छन् । उनी बिहानीको सूर्योदयसँगै बीमा शिक्षा लिएर साँझको सूर्यास्तसम्म व्यस्त दैनिकी बिताउँदै आएका छन् ।
२०४३ सालमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ मा जन्मिएका छविको बाल्यकाल सामान्य परिवारमै बित्यो । खेती–किसानी गर्ने परिवारमा जन्मिएर पनि होला छविले सानैबाट दुःख र मेहनत के हो भन्ने राम्ररी बुझ्न पाए । बिहान र बेलुका घरमा काम गरेर स्कुल पढ्न जाने छवि सानो छँदादेखि नै बुवा–आमासँग खेतबारीमा काम गरेर पढ्न जान भ्याउँथे । उनका बुवा सामाजिक काममा पनि सक्रिय नै थिए । खेलेर खाने उमेरबाटै छविले दुःखलाई नजिकबाट नै नियाल्ने मौका पाए । हो, यही कारणले नै आज छविले सफलताको गोरेटो फेला पारेका छन् ।

SKYWELL
Crest

छविले एसएलसीसम्मको अध्ययन आफ्नो जन्मथलोबाट नै पूरा गरे । एसएलसीपछि सुनौलो भविष्यको खोजीमा छवि गाउँबाट सहर (पोखरा) पसे । उनले बीएस्सी गरे । पढ्ने समयमा छविले धेरै चुनौती त सामना गर्नुगर्ने अवस्था थिएन । किनकि छविलाई सहयोग गर्ने दाइहरु थिए । तर, आफ्नै केही गर्नुपर्छ र आफू नै सक्षम हुनुपर्छ भन्ने मानसिकताले गर्दा उनले आफू पढ्दै पढाउँदै गर्न थाले । ‘मैले विद्यार्थी जीवनमा संघर्ष गर्नुपरेन त कसरी भनुँ, दिनमा १५ घन्टासम्म पढाएको छु’, उनले भने, ‘कहिले पनि मलाई परिवारबाट आर्थिक सहयोग गरे हुन्थ्यो भन्ने आशामा बसिनँ । बरु कसरी हुन्छ मैले आर्थिक रुपमा सक्षम हुने बाटो रोजेँ । त्यही भएर पनि मैले आफू पढ्दै अरुलाई अध्यायपन गराउँदै गएँ ।’

छविले संघर्ष गर्न त परिवारबाट सिकेको भएर पनि होला दुःख भयो भनेर कहिले पछाडि फर्केर हेरेनन् । उनले तथ्यांकशास्त्रमा स्नाकोत्तर गरेका छन् । पार्टटाइम त धेरै अघिदेखि शिक्षण पेसा अपनाएका छविले २०६४ सालबाट प्रोफेसनल्ली नै शिक्षण पेसामा आबद्ध हुँदै आएका थिए । सोही क्रममा छविका मामाले उनको बीमा गराएका थिए । बीमाबारेमा राम्रो ज्ञान नभए पनि आफ्नाले गरेको काम राम्रो नै होला सोचेर छविले मामामार्फत आफ्नो बीमा गरेका थिए । बीमा गरेका छविले प्रिमियम तिर्न एलआईसी नेपालमा गएको समयमा उक्त अफिसमा ‘बीमा अभिकर्ता तालिम लिएर स्वरोजगार बन्न सक्नुहुन्छ’ भनेर लेखेको देखे । त्यही समयमा छविले सो तालिमप्रति इच्छा राखी उक्त ब्रान्चमा आफ्नो मोबाइल नम्बर छाडेका थिए । त्यसको केही समयपछि छविलाई अफिसबाट कल आयो । ‘सर तपाइँले अभिकर्ता तालिम लिनका लागि इच्छा राख्नु भएको थियो । आज र भोलि तालिम सञ्चालन हुँदैछ’ भनेर खबर आयो । त्यसपछि छविले स्कुलमा बिदा लिएर तालिमा सहभागी भए । तालिमा उनलाई एलआईसीको तत्कालीन शाखा प्रमुख सोनबहादुर आले, एजेन्सी म्यानेजर सुशील ढुंगाना र केदारनाथ अधिकारीेले अभिकर्ता पेसाप्रति उत्प्रेरित गराए । उनीहरुको प्रेरणा र आफू स्वयंलाई नै अभिकर्ता पेसाप्रति सकारात्मक भाव सिर्जना भएका कारण छविले टिचिङ पेसालाई बिट मार्दै अन्ततः २०६९ सालमा अभिकर्ता लाइसेन्स लिए ।

टिचिङ पेसा पनि आफैँमा राम्रो पेसा थियो । तर, पनि छविलाई इन्स्योरेन्स क्षेत्रमा परोपकारी सेवाको क्षेत्रलगायत विभिन्न सकारात्मक पाटोले तान्यो । जस्तो कि, आफ्नो पनि आर्थिक पाटो सबल, ग्राहकलाई पनि बचत गर्न सिकाउने, बीमा शिक्षा दिने, समयको बन्देज नभएको पेसा, सामाजिक भावले काम गर्न सकिने पेसालगायत विभिन्न मोटिभेटिङ फ्याक्टरले उनलाई यस क्षेत्रमा ल्यायो । त्यसपछि छविले एलआईसी नेपालको पोखरा शाखामा ५ वर्ष सिनियर एजेन्सी म्यानेजरका रुपमा सक्रिय रही काम गरे ।

यतिमात्रै नभई छविले बीमा बुझेको समयमा बीमामा नसमेटिएका आफ्ना गाउँका मानिसहरुलाई बीमाको दायरामा ल्याउन सकिन्छ कि, बीमा क्षेत्रमा आफूले पनि केही गर्न सकिन्छ कि भन्ने सोचले नै इन्स्योरेन्स क्षेत्रमा होमिएका थिए । उनी एलआईसी नेपालमा रहँदा पनि राम्रो दखल राख्न सफल भए । राम्रो व्यापार गरे । करिब ५ वर्षको एलआईसी नेपालको यात्रालाई छविले बिट मारेर सिटिजन लाइफमा छिर्ने निधो गरे ।

तपाइँले किन एलआईसी नेपाल छोड्नु भयो त ? भन्ने इन्स्योरेन्स खबरको प्रश्नमा छविले उत्तर दिए, ‘करिअर खोजिरहको समयमा जता धेरै राम्रो छ, त्यहीँ जाने हो । ममात्रै होइन जोकोही पनि त्यहीँ गर्नुहुन्छ होला । हो, त्यही विविध कुराले मैले सिटिजनमा मुभ गर्ने निधो गरेको थिएँ । कम्पनीको प्रोमोटर टिम, बीमा बेच्दा बीमितलाई दिने अतिरिक्त सेवा–सुविधा, कम्पनीको बीमा योजना, व्यवस्थापन टिम, बोनसदरलगायतका यावत फ्याक्टर समयसापेक्ष भएको हिसाबले मैले एलआईसी नेपाल छोडेर सिटिजनमा मुभ भएको हो ।’
एलआईसी नेपालमा काम गरेर एउटा लेभलमा पुगिसकेका छविका लागि इन्स्योरेन्स क्षेत्र नौलो विषय भने थिएन । कम्पनी अनुसार कम्पनीको नीति–नियम, पोलिसी त फरक नै हुने भए तर समग्र इन्स्योरेन्स क्षेत्रमा राम्रो ख्याति कमाएका छविका लागि भने काम गर्न गाह्रो थिएन । छवि २०७५ सालमा सिटिजन लाइफको पोखरा शाखाको पहिलो कर्मचारीका रुपमा भित्रिएका थिए । आफूलाई सिटिजन लाइफमा आउन सीबीओ सुनिल पोखरेल र सीएमओ भुषण रिमाल सरले प्रेरित गरेको छवि बताउँछन् । रिमालले छवि र आफू पहिले एलआईसी नेपालमा सँगै काम गरेको भएर पनि सिटिजनमा आउन छविलाई प्रेरित गरे । छविले शाखा प्रबन्धकका रुपमा उक्त शाखामा २ वर्ष काम गरे । त्यो समयलाई सम्झिँदै छवि भन्छन्, ‘म शाखा प्रमुख हुँदा नयाँ कम्पनी, नयाँ जिम्मेवारी, अफिस व्यवस्थापन नयाँ योजना, नयाँ कर्मचारीहरु, नयाँ अभिकर्ता बनाउनुपर्नेलगायतका विभिन्न चुनौती थिए । तर, त्यसमा मैले संघर्ष गरेर त्यस चुनौतीलाई पार गरेँ।’

त्यसपछि छविको यात्रा क्षेत्रीय शाखा प्रमुखमा उक्लियो । हुँदाहुँदै अहिले छवि प्रदेश प्रमुखको जिम्मेवारीसम्म पुगेका छन् । विभिन्न चुनौती, बाधा अनि अड्चन छिचोल्दै छवि अहिले सफलता नजिक पुगेका छन् ।

एलएसलसीसम्मको योग्यतामा एजेन्ट बन्न पाइने अभिकर्ता पेसा देख्दा छविलाई आफू अलि धेरै पढे–लेखेको हुनाले पनि केही गर्न सक्छु कि भन्ने आँट आएको थियो । त्यही माथि उनको नातेदारमा बीमा कन्सेप्ट थिएन । त्यही भएर पनि बीमा क्षेत्रमा केही गर्न सक्छु कि भन्ने सम्भावना देखेर करिअर खोजिरहेको बेला उनका लागि एलआईसी पनि अवसरको पाटो बन्यो ।

बीमा अभिकर्ता पेसा आफूमात्रै आर्थिक रुपमा सबल हुने पेसा होइन’, छवि भन्छन्, ‘सामाजिक पेसा हो । अरुको जीवन सुरक्षा गर्न बाटो देखाउने पेसा हो । जुनसुकै काममा पनि काम गरेबापतको तलब पाइन्छ नि । हो, त्यस्तै यस पेसामा पनि केही हदसम्म अभिकर्तालाई फाइदा पुगे पनि बीतिमलाई भने जीवनभरको फाइदा पुग्छ ।’

बीमा क्षेत्रमा प्रवेश गरेको समय र अहिलेको समयमा बीमा बुझाइमा धेरै अन्तर पाएको छविको बुझाइ छ । उनको समयमा विभिन्न नेटवर्किङ कम्पनी थिए । मानिसले पनि उनीहरुसँग नाम जोड्ने गर्दथे । भाग्छन्, ठग्छन् भनेर । तर, अहिले बीमा बुझाइ बीमाप्रतिको चेताना बढेको उनी बताउँछन् ।
बीमा उच्च वर्गलाई भन्दा पनि निम्न स्तर र मध्यम वर्गका मानिसलाई आवश्यक रहेको पनि छविको भनाइ छ । तर, बीमा गर्नलाई अझै पनि मानिस हिच्किच्याउने गरेको उनलाई लाग्छ ।

अभिकर्ता पेसाको प्रशंसा गर्दै छविले भने, ‘अभिकर्ता त बीमा कम्पनीहरुका लागि मेरुदण्ड नै हुन् । अभिकर्ताले बीमा कम्पनीको प्रतिनिधित्व गर्दै सहरबाट गाउँसम्म गएर बीमा शिक्षा दिन्छन् र बीमा गराउँछन् । उनीहरुले नै हो, कम्पनीका बारेमा प्रचार–प्रसार गर्ने, उनीहरुले नै हो, व्यवसाय ल्याउने । त्यही भएर बीमा कम्पनीले पनि अभिकर्तालाई प्रोत्साहन गरी काम गराउनुपर्छ । अभिकर्तालाई हौसला दिनुपर्छ । काम गर्ने मान्छेलाई हामीले पनि वातावरण बनाइदिनुपर्छ । अभिकर्ताको दुःखलाई पनि कम्पनीले मनन गर्नुपर्छ । अभिकर्तालाई समय–समयमा तालिमको पनि व्यवस्था गर्नुपर्ने उनको अनुभव छ ।

अभिकर्ता आफैँमा अब्बल व्यक्तित्व त हुन् । तर, कोही–कोही अभिकर्ता आफ्नो फाइदाका लागि काम गर्ने पनि हुन्छन् । अभिकर्तालाई सुझाव दिँदै छविले भने, ‘तपाइँहरु कम्पनीका प्रतिनिधि पात्र हो । त्यसकारण अभिकर्ताले कम्पनीको राम्रो छाप छोड्ने खालका सूचना सम्प्रेषित गर्नुपर्छ । बीमितलाई आघात हुने, आफूलाई फाइदा हुने गरी भ्रममा पारी बीमा गराउनु हुँदैन । बीमा गराउँदा पारिवारिक अवस्था, आय–आम्दानी, स्वस्थ्यावस्थालगायतका विभिन्न कुरा जानकारी लिई कुन बीमा पोलिसी त्यो परिवारका लागि ठीक हुन्छ, त्यही पोलिसी बिक्री गर्नुपर्छ ।’

छविको विचारमा बीमा किन गर्ने ?
बचत तथा सुरक्षाका लागि बीमाको आवश्यकता छ । जोखिम बहनसँगै भविष्यको योजनाका लागि पनि बीमा गर्न सकिन्छ । सरकारले करयोग्य आयमा वार्षिक ४० हजारसम्म छुट दिएकाले बीमाबाट यो लाभ लिन पनि सकिन्छ । पहिला संयुक्त परिवार हुन्थ्यो । अहिले एकल परिवारको बढ्दो छ । संयुक्त परिवारमा एउटालाई क्षति हुँदा अरुले हेरविचार गर्दथे । अहिले एकल परिवारमा एकजनाले कमाउँछ, उसलाई केही हुँदा आर्थिक अवस्थामा क्षति पुग्छ र आश्रित परिवारलाई आर्थिक क्षति हुन्छ । यो समस्याबाट जोगिन पनि बीमाको आवश्यकता छ । बीमाले आत्मविश्वास पनि बढाउँछ । बीमा गरेको ३ वर्ष पूरा भएपछि ऋण लिने सुविधा हुन्छ । बालबच्चाको उच्च शिक्षा तथा पछिका दिनमा पूरा गर्नुपर्ने विवाहलगायतको दायित्वका लागि पनि बीमा गर्न सकिन्छ । बीमा धनी हुनका लागि भन्दा पनि भविष्यमा आउन सक्ने भवितव्य हुनबाट बचाउने सबैभन्दा सस्तो साधन हो । त्यसैले सबै मानिसले बीमा गर्न जरुरी छ ।

पछिल्लो समय बीमा क्षेत्रमा ख्याति कमाएका छवि अभिकर्ता हुँदाको सुरुआती वर्षबाट लगातार २ पटक एमडीआरटी बन्ने मौका पाए । छवि बीमा क्षेत्रबाट आफ्ना विभिन्न टार्गेट मिट गरी वैदेशिक भ्रमणका क्रममा भारत, चीन, थाइल्यान्ड, मलेसिया, सिंगापुर इन्डोनेसिया, दुबाईलगायतका देश घुम्ने मौका पाए । छवि बीमाबाहेकका विभिन्न संघसंस्थामा पनि आबद्ध छन् । उनी स्याङ्जा–पोखरा सम्पर्क समितिको आजीवन सदस्य छन् । उनी लायन्स क्लब, सहकारी कार्यसमिति, २०७५ देखी निप्स पोखरा च्याप्टरको सदस्य, २०८० देखी हालसम्म सचिव समेत हुन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%

खुसी

0%

दु :खी

0%

अचम्मित

29%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS