काठमाडौं । बैंकहरुबाट चालु आर्थिक वर्ष २०८३।८४ को दोस्रो महिना भदौसम्म आवासीय व्यक्तिगत घर कर्जामा पौने ५ खर्ब बढी लगानी भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौसमम बैंकहरुबाट ४ खर्ब ८१ अर्ब ६८ करोड रुपैयाँ लगानी भएको हो। अघिल्लो आर्थिक वर्ष २०८२।८३ को यही अवधिसम्म बैंकहरुबाट ४ खर्ब २७ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी भएको थियो। यस हिसाबले आवासीय व्यक्तिगत घर कर्जा प्रवाह १२.७१ प्रतिशतले बढेको छ।
राष्ट्र बैंकले प्रतिव्यक्ति आवासीय व्यक्तिगत घर कर्जा अधिकतम २ करोड रुपैयाँसम्म लगानी गर्न पाउने प्रावधान तोकेको छ।
यसैगरी चालु आर्थिक वर्षको भदौसम्म बैंकहरुले २ खर्ब ७० अर्ब ७२ करोड रुपैयाँ घरजग्गा (रियल स्टेट)मा कर्जा प्रवाह गरेका छन्। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ०.२९ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले घरजग्गामा २ खर्ब ७१ अर्ब ५० करोड रुपैयाँ लगानी गरेका थिए।












