काठमाडौं । बदलिंदो जीवनशैली र सामाजिक संरचना र आधुनिकतासँगै मानसिक स्वास्थ्यका रोगीको संख्या उल्लेख्यरूपमा बढ्न थालेपछि सर्वोच्च अदालतले मानसिक स्वास्थ्यको उपचारका लागि गरेको फैसलाको पूर्ण पाठ शुक्रबार प्रकाशन गरिएको छ।
सर्वोच्च अदालतका न्यायाधिशद्वय, हरि प्रसाद फुयाल र नृपध्वज निरौलाले २०८१ मंसिर १७ गते गरेको फैसलामा मानसिक स्वास्थ्य नीति, २०५३ लाई परिमार्जन गरी संघीय व्यवस्था अनुकूल तीनवटै तहमा मानसिक स्वास्थ्य महाशाखा, शाखा तथा इकाई वा सम्पर्क व्यक्ति नियुक्त गरी कार्यसञ्चालन गर्न परमादेश दिइएको छ।
फैसलाको पूर्णपाठमा भनिएको छ, राष्ट्रिय मानसिक स्वास्थ्य नीति, २०५३ लाई परिमार्जन समेत गरी वर्तमान संघीय व्यवस्था अनुकूल हुने गरी संघस्तरमा विपक्षी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभाग अन्तर्गत छुट्टै मानसिक स्वास्थ्य महाशाखा र प्रदेश स्तरमा स्वास्थ्य निर्देशनालय अन्तर्गत मानसिक स्वास्थ्य शाखा स्थापना तथा स्थानीय स्तरमा जिल्ला अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय इकाई र सम्पर्क व्यक्तिहरू यथाशक्य चाँडो नियुक्ति गरी कार्यसञ्चालन गर्नु गराउनु भनी परमादेश जारी गरिदिएको छ।
नेपाली समाजमा मानसिक रोगीलाई हेलाको दृष्टीकोणले हेर्ने, अपमान गर्ने, शारीरिकरूपमा दण्डित गर्ने, हात खुट्टामा सिक्री वा दाम्लोले बाँधेर राख्ने गलत अभ्यास लामो समयदेखि रहँदै विद्यमान छ। अर्कोतर्फ यस्ता बिरामीको उपचारका लागि सहज र सुलभरूपमा सेवा उपलब्ध नहुँदा प्रायः आम्दानी विहीन अवस्थाका बिरामीहरूले उपचारबाट वञ्चित हुनुपर्ने बाध्यता छ। सर्वोच्च अदालतको परमादेश सहितको ऐतिहासिक फैसलाले नेपालको मानसिक स्वास्थ्य उपचार सेवाको क्षेत्रमा दीर्घकालीनरूपमा सकारात्मक प्रभाव पार्नेछ।
नेपालको संविधानको धारा ३४ मा स्वास्थ्य उपचार सेवालाइ प्रत्येक नागरिकको माैलिक हकका रूपमा समावेश गरिएको छ।
फैसलामा मानसिक स्वास्थ्य उपचारको अभावमा देखिएका समस्यालाई सम्बोधन गर्न र मानसिक स्वास्थ्यको संरक्षण र संवर्द्धन गर्न १२ बुँदे निर्देशनात्मक आदेश जारी गरिदिएको विषय पनि उल्लेख छ।
१. मानसिक स्वास्थ्यको हकलाई कार्यान्वयन गर्ने पर्याप्त रणनीति समेत समेटी राष्ट्रिय मानसिक स्वास्थ्य नीति, २०५३ लाई परिमार्जन गरी नयाँ मानसिक स्वास्थ्य नीति जारी गर्नु,
२. मानसिक स्वास्थ्यको क्षेत्रमा समानस्तरको संरचना, बजेट, मानवीय स्रोतको व्यवस्था गरी पीडित व्यक्तिहरूलाई आवश्यकता अनुसार औषधी उपचार उपलब्ध हुने वातावरण सिर्जना गर्नु
३. प्रत्येक वर्ष हुने बजेट विनियोजनमा मानसिक स्वास्थ्य क्षेत्रमा रहेका समस्याको स्वरूप हेरी सोको समाधान गर्न संरचना, बजेट र मानवीय स्रोतमा गुणात्मक एवम् संख्यात्मक वृद्धि गर्दै लैजानु।
४. मानसिक स्वास्थ्य क्षेत्रमा समग्र स्वास्थ्य क्षेत्रको निश्चित प्रतिशत बजेट विनियोजन हुने बाध्यात्मक व्यवस्था सहितको मानसिक स्वास्थ्य सम्बन्धी विशिष्टकृत कानूनको निर्माणार्थ आवश्यक कार्य गर्नु,
५. संघ तथा प्रदेश मातहतका सबै अस्पतालहरूमा बहुआयामिक जनशक्ति,मनोचिकित्सक, मनोविद, मनोचिकित्सा परिचारीका, मानसिक स्वास्थ्य सम्बन्धी सामाजिक कार्यकर्ता, साइकोथेरापिष्ट आदि नियुक्त गरी मानसिक स्वास्थ्यको अन्तरंग तथा बहिरंग सेवा शुरुवात गर्नु,
६. मानसिक स्वास्थ्य सेवालाई स्थानीय सरकारले उपलब्ध गराउने सामुदायिक सेवा, स्वास्थ्य बीमा, अपाङ्गता परिचयपत्र, रोजगारी र संघ तथा प्रदेश अन्तर्गतका अन्तरसम्बन्धित सेवाहरूसँग आबद्ध गर्नु,
७. मानसिक स्वास्थ्यको क्षेत्रमा रहेको लान्छना र विभेद हटाउन त्यस्तो कार्यलाई कसूर मानी आवश्यक दण्ड सजायको व्यवस्था गर्नु,
८.मानसिक स्वास्थ्य समस्याबाट प्रभावित व्यक्तिहरूलाई समुदायमा आधारित पुनःस्थापनाको अवधारणा बमोजिम सामाजिक सुरक्षा र स्वरोजगारीको प्रवर्द्धन तथा व्यवस्था गरी आफ्नै परिवार तथा समुदायमा पुनःस्थापना गर्नु,
९. मानसिक स्वास्थ्यको क्षेत्रमा आयुर्वेद, योग लगायतका वैकल्पिक उपचार पद्धतिको अवलम्बन गरी समग्र जीवनशैलीमा परिवर्तन ल्याउने किसिमले आवश्यक व्यवस्था गर्नु,
१०. मानसिक स्वास्थ्यको क्षेत्रमा विद्यमान अवस्था बारे मानव अधिकार अध्ययन गरी मानसिक स्वास्थ्य सेवालाई हिंसा र यातनारहित तुल्याउन अपरिस्कृत इसिटी थेरापीलाई क्रमशः निरुत्साहित गर्दै लैजानु,
११. मानसिक स्वास्थ्यमा विद्यमान अनैच्छिक उपचारसेवालाई अन्तर्राष्ट्रिय मापदण्डको अवलम्बन मार्फत् छोटो अवधिको अनैच्छिक उपचार सेवालाई प्रवर्द्धन गरी मानसिक स्वास्थ्य समस्याका बिरामीलाई हुन सक्ने वा भैपरी आउने अनावश्यक यातना र क्षतिबाट जोगाउन आवश्यक अनुगमन गर्नु,
१२. मानसिक स्वास्थ्य समस्यासँग जोडिएका सबै कानूनलाई मानव अधिकार सन्धी अनुरूप समायोजन गरी यस्ता बिरामी विरुद्धका सबै खाले विभेदकारी कानूनलाई संशोधन एवम् परिमार्जन गरी सहयोगी सहितको निर्णय पद्धति र कानूनी क्षमता प्रवर्द्धन गर्दै उनीहरूको संरक्षणका लागि सहयोगी प्रणाली निर्माण गर्नु ।