काठमाडौं । संयुक्त राष्ट्रसंघले ठूला विपद्बाट उत्पन्न हुने वित्तीय संकटलाई सम्बोधन गर्न ४ करोड डलरसम्मको नयाँ बीमा योजना सुरु गरेको छ। यसको उद्देश्य बाढी वा चक्रवातजस्ता विपद् आउनुअघि आवश्यक परेकाहरुलाई मद्दत गर्न कोष परिचालन गर्नु हो।
नोभेम्बर २ मा संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए)द्वारा बीमा योजनाको घोषणा गरिएको थियो। साझेदारहरुमा संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) र विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) समावेश छन्। बीमा सम्झौता ग्यालाघर रिद्वारा व्यवस्थित गरिएको थियो र लिबर्टी म्युचुअल प्रमुख बीमा कम्पनी हो। विपद् संरक्षण केन्द्रद्वारा प्राविधिक सल्लाह प्रदान गरिएको थियो।
यस नयाँ व्यवस्थाअन्तर्गत यदि कुनै विपद्को अनुमान गरिएको छ भने संयुक्त राष्ट्रसंघले अग्रिम राहतका लागि कोष विनियोजन गर्नेछ। यदि बीमा अवधिमा संयुक्त राष्ट्र संघीय आपतकालीन प्रतिक्रिया कोष (सीईआरएफ)बाट कुल विनियोजन ६ करोड १५ लाख डलरभन्दा बढी भयो भने बीमामार्फत थप कोष उपलब्ध गराइनेछ। यस कोषमा अधिकतम ४ करोड डलर योगदान गर्न सकिन्छ। यद्यपि, यदि सीमा नाघेको छ भने पूर्ण रकमको ग्यारेन्टी हुँदैन। प्राप्त रकम बीमाको सर्तहरुमा निर्भर गर्नेछ।
यस बीमाबाट प्राप्त रकम कुनै पनि देशको सरकार वा सर्वसाधारणलाई सिधै जाने छैन। यदि सर्तहरु पूरा भएमा यो पैसा संयुक्त राष्ट्रसंघको आपतकालीन राहत कोषमा जानेछ। त्यहाँबाट विभिन्न संयुक्त राष्ट्रसंघका एजेन्सीहरुले विपद् जोखिमग्रस्त क्षेत्रहरुमा रहेका मानिसहरुलाई अग्रिम सहायता पु¥याउने व्यवस्था गर्नेछन्। यद्यपि, सबै देश वा सबै मानिसले स्वचालित रुपमा यो लाभ प्राप्त गर्ने छैनन्। सहायता कसले प्राप्त गर्नेछ भन्ने कुरा विपद् जोखिम र सम्बन्धित राहत गतिविधिमा निर्भर गर्दछ।
ओसीएचएको प्रारम्भिक विपद् प्रतिक्रिया कार्यक्रमको बजेट १ करोड ५० डलर छ। जसले ५० लाखभन्दा बढी मानिसलाई पुग्छ। नयाँ बीमा योजनाले अझ धेरै मानिसलाई मद्दत गर्न सक्छ। यद्यपि कतिले लाभ उठाउनेछन् भन्ने अझै स्पष्ट छैन। युनिसेफले आफ्ना १० संयुक्त प्रारम्भिक प्रतिक्रिया कार्यक्रमहरुका लागि ५० लाख डलरको छुट्टै बीमा कभर पनि निकालेको छ।
‘विपद्हरुले हामीलाई तयारी गर्न पर्खँदैनन्। त्यसैले हामी विपद्अघि पूर्ण रुपमा तयार हुनुपर्छ’, संयुक्त राष्ट्रसंघको आपतकालीन राहत संयोजक टम फ्लेचरले भने।
संयुक्त राष्ट्रसंघले यो नयाँ बीमा योजनाका लागि प्रिमियम, अवधि वा समयसीमा खुलासा गरेको छैन। –एजेन्सी











