काठमाडौं । चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नबिल बैंक, गरिमा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली असोज १४ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश पारित गर्नका लागि साधारण सभा बोलाएको छ । सभा असोज २३ गते, शुक्रबार अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौंमा आयोजना गर्ने जनाएको छ । सभा बिहान ९ बजे हुने कम्पनीको भनाई छ ।
कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशतले हुन आउने १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २०० रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ । सभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।
सभाले आर्थिक वर्ष २०८२/ ८३ को सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वासलात, विस्तृत नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, पुँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी स्वीकृत गर्नेछ ।
कम्पनी ऐन २०६३ को दफा १११ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ अनुसार बैंकको लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०८३/ ८४ को लागि बाह्य लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, कम्पनी ऐन २०६३ को दफा १११(३) र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ (२) बमोजिम बहालवाला लेखापरीक्षक BRS Neupane & Co., Chartered Accountants ले बैंकको लगातार तीन वर्ष लेखापरीक्षण सम्पन्न गरेको हुँदा पुनः नियुक्त हुन सक्ने बताइएको छ ।
नबिल बैंकले आफ्नो ४२ औँ वार्षिक साधारणसभा आउँदो असोज २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ः३० बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १५.८० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश (करसहित) छन्। सभाले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्तापुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
बैंकको हाल कायम अधिकृत पुँजी वृद्धि गरी ३४ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। अधिकृत पुँजी, जारी पुँजी र चुक्तापुँजी वृद्धि गर्नुपर्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा संशोधन गर्न निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान वा बैंकले अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले संस्थापक शेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ।
गरिमा विकास बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा आउँदो असोज २६ गते आयोजना गर्ने निर्णय गरेको हो। पोखराको बिरौटास्थित होटल पोखरा ग्रान्डमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७.२२ रुपैयाँको कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसहित) छन्।
बैंकको हाल कायम अधिकृत पुँजी वृद्धि गरी ६ अर्ब ६५ करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। पुँजी वृद्धिबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा संशोधन गर्न निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान वा बैंकले अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।
रिलायन्स स्पिनिङ मिल्सले शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ५७ करोड रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। यो लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो असोज २२ गते ३२ औँ वार्षिक साधारणसभा डाकेको छ। सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुड ल्यान्ड एन्ड ब्यांक्वेटमा बिहान ९ बजेबाट सुरु हुनेछ।












