काठमाडौं । जीवन बीमा कम्पनी, सन नेपाल लाइफ इन्स्योरेन्सको लगानी एक वर्षको अवधिमा ३२ प्रतिशतले बढेको छ।
बैंक मुद्दती निक्षेप र सहायक कम्पनीमा गरेको लगानी सहित गत आर्थिक वर्ष २०८१।८२ मा इन्स्योरेन्सले कुल लगानी १५ अर्ब ३० करोड रूपैयाँ नाघेको हो अघिल्लो आर्थिक वर्षको तुलनामा ३२ प्रतिशतले लगानी बढेको हो। गत आवमा यसको सम्पत्ति आधार १८ अर्ब रूपैयाँ पुगेको थियो।
इन्स्योरेन्सले कुल लगानीको ६३ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती र ब्याज आम्दानी हुने गरी निक्षेप गरेको छ। यसले गर्दा इन्स्योरेन्सलाई पर्याप्त तरलता उपलब्ध छ।
इन्स्योरेन्सले जीवन बीमा कोषमा अघिल्लो आवमा ७ हजार ६२ करोड ३० लाख रूपैयाँ भएकोमा गत आवमा २०८१।८२ मा १० अर्ब १० करोड ९० लाख रूपैयाँ पुगेको थियो। बीमा कम्पनीको दायित्व पूरा गर्न र बीमितको प्रतिफललाई बढाउन बीमाङ्की बचत पछिको रकम बीमा कोषमा सारेकाले शेयरधनीको प्रतिफल मध्यम रहेको थियो।
आर्थिक वर्ष २०८१।८२ मा कम्पनीको मध्यम तरलता स्थिति थियो जसमा प्राविधिक रिजर्भमा तरल सम्पत्ति १.४९ गुणा रहेको थियो। लगानीमा वृद्धिसँगै लगानीबाट प्राप्त प्रतिफल(ब्याज) आम्दानी मुख्यतया समावेश छ।
यसबाहेक, इन्स्योरेन्सले गत आवमा लगानी प्रतिफलबाट ८९ करोड ९० लाख रूपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा ६ प्रतिशतले वृद्धि भएको छ।
गत आवमा बैंक तथा वित्तीय संस्थाको ब्याज लगानीमा औसत प्रतिफल ७.१९ प्रतिशत थियो । अघिल्लो आर्थिक वर्षमा ९.२६ प्रतिशत रहेको थियो।
केयर रेटिङ्स नेपाल लिमिटेडले इन्स्योरेन्सलाई दिइएको जारीकर्ताको मूल्याङ्कनलाई ‘केयर एनपी त्रिपल (इस्युअर रेटिङ्ग)’ बाट परिमार्जन गरी ‘केयर एनपी त्रिपल बी प्लस’मा स्तरोन्नती गरेको छ। यो मूल्याङ्कन भएका जारीकर्ताहरूलाई नेपालमा वित्तीय दायित्वहरूको समयमै सेवा प्रदान गर्ने सन्दर्भमा मध्यम स्तरको सुरक्षा प्रदान गर्ने अवस्था जनाउँछ ।












