काठमाडौं । बैंकिङ सेवा प्रवाह गर्ने उद्देश्यसहित वि.सं. २०५७ सालमा स्थापना भएको कुमारी बैंकले आफ्नो पुँजीगत आधारलाई ऐतिहासिक उचाइमा पुर्याएको छ। आर्थिक वर्ष २०५७।५८ मा ३५ करोड रुपैयाँ चुक्तापुँजीबाट कारोबार सुरु गरेको बैंकले हाल २६ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको पुँजीगत संरचना निर्माण गर्न सफल भएको छ।
सुरुआती तीन आर्थिक वर्षसम्म ३५ करोडमै सीमित रहेको बैंकले सर्वसाधारणमा शेयर स्वामित्व विस्तार गर्ने क्रममा आर्थिक वर्ष २०६०।६१ मा १५ करोड रुपैयाँको प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) जारी गरी पुँजी ५० करोड पुर्याएको थियो। आइपीओ निष्कासनपश्चात् बैंकले आफ्ना शेयरधनीहरुलाई प्रतिफल वितरण गर्ने यात्रालाई अघि बढायो ।
आर्थिक वर्ष २०६२।६३ र २०६३।६४ मा लगातार २०–२० प्रतिशत बोनस शेयर वितरण गर्दै क्रमशः ७५ करोड र ९० करोड चुक्तापुँजी पुर्याएको बैंकले आर्थिक वर्ष २०६४।६५ मा १ अर्बको कोशेढुंगा पार गर्यो।
कुमारी बैंकले आर्थिक वर्ष २०६६।६७ मा १ अर्ब ३० करोड, २०६७।६८ मा १ अर्ब ६० करोड हुँदै २०७०÷७१ मा ३३ प्रतिशतसम्मको बोनस शेयर वितरणमार्फत २ अर्ब ४३ करोड रुपैयाँ पुँजी कायम गर्यो।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब पुर्याउने नीति लिएपछि कुमारी बैंकले आन्तरिक नाफाबाट बोनस शेयर वितरणका साथै संस्थागत प्राप्ति (एक्विजिसन)को आक्रामक र सबल बाटो रोज्यो। आर्थिक वर्ष २०७३।७४ मा १ अर्ब ३५ करोडभन्दा बढीको पुँजी प्राप्ति प्रक्रियामार्फत थप गर्दै बैंकको पुँजी ५ अर्ब ९६ करोड नाघ्यो भने २०७४।७५ मा ७ अर्ब १६ करोड पुग्यो।
आर्थिक वर्ष २०७५।७६ मा २१.२५ प्रतिशत बोनस शेयर वितरण गरी राष्ट्र बैंकको ८ अर्बको सीमा सहजै पार गर्दै ८ अर्ब ६८ करोड पुँजी पुर्याएको कुमारी बैंकले आर्थिक वर्ष २०७६।७७ मा बोनस तथा थप २ अर्ब ९६ करोडको प्राप्ति प्रक्रियामार्फत आफ्नो आकार १२ अर्ब ५२ करोड रुपैयाँ पुर्यायो। त्यसपछिका वर्षहरुमा पनि बैंकले नियमित बोनस शेयर दिएर आर्थिक वर्ष २०७८।७९ सम्म चुक्तापुँजी १४ अर्ब ७१ करोड रुपैयाँ पुर्याएको थियो।
कुमारी बैंकको वित्तीय इतिहासमा सबैभन्दा ठूलो र निर्णायक मोड आर्थिक वर्ष २०७९।८० मा आयो। जहाँ बैंकले नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकसँग ऐतिहासिक बिग मर्जर सम्पन्न गर्यो। उक्त सफल मर्जरबाट ११ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी पुँजी थपिएपछि बैंकको चुक्तापुँजी ह्वात्तै बढेर २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ पुग्यो।

श्रोत : बैंकको आर्थिक वर्ष ८२ /८३ को वित्तिय प्रतिवेदन












