काठमाडौं । नेपाल राष्ट्र बैंकले निष्क्रिय खाताको संख्या न्यूनीकरणका लागि ८ वटा नयाँ व्यवस्था ल्याएको छ । राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशन संशोधन गर्दै ८ वटा नयाँ व्यवस्था ल्याएको हो । राष्ट्र बैंकले ल्याएको यी व्यवस्था अनुरुप कार्य गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
यस्ता छन् निष्क्रिय खाताको संख्या न्युनीकरणका लागि ल्याएको ८ वटा नयाँ व्यवस्था
संशोधित व्यवस्था अनुसार अब इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले आफुसँग रहेका निष्क्रिय खातालाई न्यून गर्ने सम्बन्धमा कार्ययोजना बनाई २०८३ पुसमसान्तसम्ममा लागू गर्नुपर्नेछ ।
त्यस्तै, इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामा रहेका सक्रिय खाता निष्कृय हुनुपूर्व कल, एसएमएस तथा इमेल लगायतका माध्यमबाट ग्राहकलाई नियमित रूपमा जानकारी गराउने व्यवस्था गर्नुपर्नेछ ।
यस व्यवस्था अनुसार अब इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले निष्क्रिय खाता सक्रिय गराउनको लागि कम्तिमा ६ महिना अवधिको अन्तरालमा कल, एसएमएस तथा इमेल लगायतका माध्यमबाट सम्बन्धित ग्राहकहरुलाई अनुरोध गर्नुपर्नेछ र सोको अभिलेख समेत राख्नुपर्नेछ ।
इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरू सम्बन्धित संस्थाको नेपालभरका जुनसुकै शाखा कार्यालय वा मोबाइल एप्लीकेसन मार्फत समेत ग्राहकले सहज रुपमा बन्द गर्न सक्ने व्यवस्था गर्नुपर्नेछ । साथै, यसरी ग्राहकले उपस्थित भई वा मोबाइल एप्लीकेसन मार्फत ग्राहकले खाता बन्द गर्न अनुरोध गरेको खण्डमा उक्त खातामा रहेको मौज्दात निजले अनुरोध गरेको अन्य बैंक तथा वित्तीय संस्थामा रहेको निजको खातामा रकमान्तर गरी खाता बन्द गरिदिनु पर्नेछ ।
इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको नेपालभरका जुनसुकै शाखा कार्यालयबाट समेत ग्राहक पहिचान गरी सहजरुपमा खाता पुनः सक्रिय गर्न सक्ने व्यवस्था गर्नुपर्नेछ
इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामा रहेका निष्कृय भई पुनः सञ्चालन भएका खातामा हुने अस्वभाविक कारोबारको निगरानी गर्ने प्रणालीको विकास गर्नुपर्नेछ ।
इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामा रहेका निष्कृय खाता, सोको प्रयोग गरी हुनसक्ने मनी म्युल कारोबार तथा वित्तीय अपराधको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न नियमितरुपमा विभिन्न सामग्री निर्माण गरी प्रसारण गर्नुपर्नेछ ।
इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामा भएका खाताहरुबाट हुनसक्ने मनी म्युल क्रियाकलापको पहिचान तथा सोको न्यूनीकरण प्रयोजनार्थ कर्मचारीको क्षमता अभिवृद्धि गर्नुपर्नेछ ।
Circular-18-F












