काठमाडौं । रसुवा जिल्लाको नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले राष्ट्रिय बीमा कम्पनी लिमिटेडले २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरेको उक्त सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो। विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिक तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै, राहत, उद्धार तथा पुनर्स्थापनाका प्रयासमा आफ्नो तर्फबाट योगदान पुर्याउनु कम्पनीको सामाजिक दायित्वप्रतिको प्रतिबद्धता हो।
राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विपद्को समयमा नागरिक तथा समुदायको साथमा रहँदै सुरक्षित, सबल तथा उत्थानशील नेपाल निर्माणमा सहयोग पुर्याउन प्रतिबद्ध रहेको बताएको छ।












