काठमाडौं । दक्षिण एशियाली मुलुक बंगलादेश, जनसंख्याका हिसाबले दक्षिण एशियाली अन्य मुलुकको तुलनामा सबैभन्दा बढी जनघनत्व भएको देश हो । मुश्लिम बहुल देश भएपनि बंगलादेशमा नवरात्र अर्थात् दुर्गा पूजाको अवसरमा ५ दिन सार्वजनिक बिदा मनाएका छन् ।
दक्षिण एशियामा सांस्कृतिक विविधता र चाडपर्वको छुट्टै महत्व छ। हिन्दू धर्मवलम्बीहरूको महान् पर्व बडा दशैं अर्थात्न नवरात्र नेपाल र भारतमा मात्र नभई छिमेकी मुश्लिम बहुल मुलुक बंगलादेशमा पनि विशेष हर्षोल्लासका साथ मनाउने गरिन्छ।
बंगलादेशमा हालै दुर्गा पूजा र साप्ताहिक बिदा सहित लगातार ५ दिनसम्म सरकारी, अर्धसरकारी, स्वायत्त निकाय, बैंक तथा वित्तीय संस्थाहरू बन्द रहे। बिदा सकिएपछि आइतबारदेखि त्यहाँका कार्यालयहरू पुनः सञ्चालनमा आएका छन्।
सरकारी बिदाको पात्रो अनुसार अक्टोबर २० मा महानवमीका अवसरमा कार्यकारी आदेशद्वारा सार्वजनिक बिदा दिइएको थियो। त्यसपछि अक्टोबर २१ मा विजया दशमीको दिन मुख्य सार्वजनिक बिदा पर्यो। सरकारले बिदाको शृङ्खलालाई निरन्तरता दिँदै अक्टोबर २२ बिहीबार पनि कार्यकारी आदेशमार्फत थप बिदा घोषणा गर्यो।
यसका साथै शुक्रबार र शनिबार अक्टोबर २३ र २४ त्यहाँको नियमित साप्ताहिक बिदा परेकाले सर्वसाधारणले लगातार ५ दिनको लामो बिदा मनाउन पाए।
बंगलादेशमा कुल जनसंख्याको झन्डै ९० प्रतिशत मुश्लिम र करिब ८.९ प्रतिशत मात्र हिन्दू धर्मावलम्बी छन्। तर पनि त्यहाँ दुर्गा पूजालाई देशको प्रमुख धार्मिक तथा सांस्कृतिक उत्सवको रूपमा लिइन्छ र हरेक वर्ष विजया दशमी तथा नवरात्रका अवसरमा भव्य रूपमा सार्वजनिक बिदा दिने परम्परा रहेको छ। बिदापछि आइतबार बिहानैदेखि ढाकाका सडकमा सवारी साधन र यात्रुको चाप बढेको छ।
हिन्दू बाहुल्य देश भारतमा नवरात्र र विजया दशमीमा सार्वजनिक बिदा दिइन्छ, तर बिदाको ढाँचा भारतका राज्यपिच्छे फरक फरक छ। केन्द्रीय सरकारको पात्रोमा विजया दशमीका दिन १ दिन मात्र सार्वजनिक बिदा हुने गर्छ।
पश्चिम बंगाल, असम र त्रिपुरा जस्ता पूर्वी भारतका राज्यहरू, विशेष गरी पश्चिम बंगालमा दुर्गा पूजा सबैभन्दा ठूलो पर्व मानिन्छ। त्यसैले त्यहाँ महासप्तमीदेखि एकादशी वा द्वादशीसम्म प्रायः ६ देखि १० दिनसम्म विद्यालय र सरकारी कार्यालयहरूमा लामो पर्व बिदा दिइन्छ।
आन्ध्र प्रदेश, तेलङ्गाना, कर्नाटक तथा उत्तर प्रदेश जस्ता राज्यहरूमा पनि नवरात्रीको अवसरमा विद्यालयहरूमा १० देखि १२ दिनको बिदा दिइन्छ भने सरकारी कार्यालयहरूमा महा नवमी र विजया दशमीका दिन २ देखि ३ दिन बिदा हुने गर्छ।












