काठमाडौं । हरेक मानिसको सफलता मेहनतमा भर पर्छ। मेहनतले नै सफलताको बाटो पछ्याउँछ। मेहनत र संघर्षमा भिज्न सक्यो भने जस्तोसुकै चुनौतीका पहाडलाई पनि छिचोल्न सकिन्छ। मेहनत गर्ने व्यक्ति कहिल्यै पनि असफल हुँदैनन। किनकि हरेक सफलतासँगै असफलता, आत्मविश्वास, संघर्ष, साथ–सहयोग र धैर्यताको कथा लुकेकै हुन्छ। सरल भाषामा बुझ्न पर्दा सफलता एकैपटकमा प्राप्त हुँदैन र असफलता नै सफलताको शूत्र हो। मेहनत गर्ने व्यक्ति नै सफलताको भागिदार बन्छन्। सफलताको कडी नै मेहनत हो भन्ने धारणा बोकेका व्यक्ति हुन्, नरेश सिग्देल।
पाल्पा रामपुर नगरपालिका–१ मा २०४२ सालमा जन्मिएका नरेशको बाल्यकाल सामान्य किसान परिवारमा नै बित्यो। किसान परिवारमा मेलापात,घाँस दाउरा गर्दै हुर्किएका नरेश बिहान–बेलुका घरको काम गरेर पढेका थिए। उनले एसएलसीसम्मको अध्ययन भने आफ्नो जन्मभूमि पाल्पाको रामपुरबाट नै पूरा गरे। त्यसपछि प्लस टु पढ्नका लागि नरेश पाल्पाकै सदरमुकाम स्थित तानसेनमा पुगे । त्यसपछि नरेशले पढ्दै केही गर्नुपर्छ भन्ने मानसिकता बोकेर सुनौलो अवसरको खोजीमा स्नातक पढ्न बुटवल आए । यससँगै उनले व्यवस्थापनमा स्नातकसम्मको अध्ययन बुटवलबाट पूरा गरे।
नरेश अहिले सिटिजन लाइफको भैरहवा क्षेत्रको रिजनल म्यानेजरको भूमिकामा छन्। नरेशले अहिले आफ्नो क्षेत्रमा रहेका शाखाहरुलाई प्रत्येक्ष रुपमा सबै लाई सहयोग एव्म निगरानी गरिरहेका छन्। उनले आफ्नो क्षेत्र मातहतमा बीमाका नीतिगत कानुनी व्यवस्था आफूले पालना गरी कर्मचारी, अभिकर्ता र आफ्नो टिमलाई कार्यान्वयनमा ल्याउने, नियमनकारी निकायको निर्देशन पालना गर्ने गराउने, रिपोर्टिङ गर्ने, अभिकर्ता र कर्मचारीको क्षमता विकासका लागि समय–समयमा विभिन्न ठाँउ पुगेर तालिम गराउने, कम्पनीको व्यावसायिक उद्देश्य पूरा गर्न लागिपर्ने, कामको योजना बनाउने लगायतका काम गर्दै आइरहेका छन्। यतिमात्रै होइन उनले बीमामा सबैको पहुँच विस्तार गर्न आफ्नो क्षेत्र र आसपासका विभिन्न ठाउँ गएर बीमा शिक्षा र बीमा सचेतना वृद्धि हुने खालका कार्यक्रमहरु आयोजनासमेत गर्दै आइरहेका छन्। उनी आफ्नो क्षेत्रको जिम्मेवारीमात्रै होइन बीमा शिक्षा बाँड्न पनि उत्तिकै तल्लीन रहन्छन्।

नरेश यसरी जोडिए बीमा क्षेत्रमा
सुरुमा बीमा बजार नबुझेका र बजारमा मानिसहरुप्रति पनि चिनजान नभएका नरेशलाई काम गर्न असहज भयो । उनलाई बजारमा कोहि कसैले पनि चिनेको थिएनन् । सामान्य जागिर पाउन पनि उनको समयमा त्यति सजिलो थिएन । सधै घरबाट पैसा ल्याएर पढ्न बुबाको जागिर पनि थिएन, त्यसैले केहि गर्दै पढ्दै गर्नु पर्छ भन्ने उद्देश्यले इन्स्योरेन्स क्षेत्रमा आउनुअघि नरेश एउटा कम्पनीमा अकाउन्टेन्टको काम गर्थे। सोही काम गर्ने क्रममा नरेशको साविक सूर्य लाइफका ब्रान्च म्यानेजर (हाल सिटिजन लाइफका चिफ बिजनेस अफिसर) सुनिल पोखरेलसँग भेट हुने मौका जुर्यो। पोखरेलसँगको भेट नै उनका लागि टर्निङ प्वइन्ट बन्यो। पोखरेलले नरेशलाई ‘इन्स्योरेन्स क्षेत्र राम्रो छ कर्पोरेट कम्पनीमा आउनु मिलेर काम गरौँ, करिअरको हिसाबले पनि पछि राम्रो हुन्छ’ भनेर कन्भिन्स गराए। कर्पोरेट सेक्टरमा करिअरको खोजी गरिरहेका नरेशका लागि सोहि अवसर मिल्यो । ‘मलाई इन्स्योरेन्स क्षेत्रका बारेमा सामान्यमात्रै जानकारी थियो’, नरेशले भने, ‘सुनिल सरले मलाई इन्स्योरेन्समा आउन प्रस्स्ताव गरेपछि मैले इन्स्योरेन्स क्षेत्रका बारेमा अध्ययन गर्न थालेँ। धेरै सोचेँ, बुझेँ र त्यसपछि हो, करिअरको हिसाबले पनि राम्रो होला भनेर मैले सरलाई ओके गरेँ र साविक सूर्या लाइफबाट लाइसेन्स लिएर अभिकर्ताको भूमिकामा रही काम गर्न थालेँ।’
अन्ततः नरेशले २०६९ सालमा लाइसेन्स लिएर अभिकर्ता बनेर काम गर्न थाले। सुरुमा उनलाई अभिकर्ता पेसा धेरै चुनौतीपूर्ण नै भयो। ‘त्यति बेला काम गर्न त्यति सजिलो थिएन । त्यो समयमा काम गर्ने वातावरण त थियो तर कम्पनीबाट सजिलै सहयोग पाउने अवश्था थिएन’, उनले भने, ‘सुरुमा कसरी बजारमा जाने, मानिसलाई कसरी कन्भिन्स गर्ने, बजारमा आफू कसरी प्रस्तुत हुनेलगायतका धेरै कुरामा मलाई जानकारी थिएन। कम्पनीबाट पनि धेरै सपोर्ट हुदैनथ्यो । त्यसकारण पनि मैले बीमा बजारमा अथाह मेहनत गरी खोज अनुसन्धान गरी बजारमा गएर बीमा बिक्री गरेँ। मेहनत र संघर्ष धेरै गरेँ। पछि रिजल्ट पनि राम्रो नै आयो। हरेक टार्गेट पूरा गरेँ। त्यो समयमा मसँग ज्ञानको कमी हुँदा बीमा बजारमा भर्खर प्रवेश गरेको समयमा ठूलाबाट सपोर्ट कम पाएको भएर पनि होला मैले अहिले भर्खर प्रवेश गर्ने देखि पुराना सबैलाई बजारमा कसरी जाने, कसरी प्रस्तुत हुने,मानिसहरु लाई कसरी कन्भिन्स गर्ने, मानिसहरुको मन कसरी जित्ने र रिजल्ट आफ्नो पक्षमा कसरी ल्याउने लगायतका विषयमा सबैलाई मन देखि नै धेरै सपोर्ट गर्न मन लाग्छ,उनले भने ।’
वैशाख महिनामा अभिकर्ताबाट साविक सूर्या लाइफमा छिरेका नरेशले राम्रो काम गरेर नै होला त्यही वर्षको कात्तिक महिनामै अपरेसन कर्मचारीको भूमिकामा रहने अवसर पाए। त्यसको १–२ महिनामा नै फेरि नरेशले ब्रान्च म्यानेजर हुने मौका पाए। अथाह मेहनत र संघर्षका कारण नै होला नरेशका लागि एकाएक सफलताले पछ्याउँदै आयो। नरेशले साविक सूर्या लाइफमा ५ वर्ष काम गरे। आफ्नो ५ वर्षको यात्रालाई साविक सूर्या लाइफबाट नरेशले बिट मारे।
सिटिजन लाइफमा नरेशको यात्रा
साविक सूर्या लाइफमा पनि हरेक टार्गेट मिट गरेर राम्रो प्रदर्शन गरिरहेका नरेशले २०७४ सालमा सिटिजन लाइफमा प्रवेश गरेका हुन्। सिटिजन लाइफको स्थापनाकालबाटै नरेश भैरहवा ब्रान्चमा ब्रान्च म्यानेजरको भूमिकामा प्रवेश गरेका थिए।
वित्तीय क्षेत्रमा सधैँ एउटै कम्पनीमा काम गर्नुभन्दा फरक–फरक कम्पनीमा काम गर्दा आफू पनि अब्बल भइने र धेरैकुरा सिकिने भएकोले गर्दा नरेशले कम्पनी परिवर्तन गर्न चाहेको बताए। ‘वित्तीय क्षेत्र भनेको यस्तो चलायमान क्षेत्र हो, जहाँ सधैँ नयाँ–नयाँ च्यालेन्स आउने गर्दछन् त्यहाँ अवसर पनि हुन्छ नरेशले भने, ‘कम्पनीपिच्छे कम्पनीको व्यवस्थापन फरक हुन्छ, टिम, सबै कुरा नयाँ हुने भएकाले पनि मैले त्यो हरेक नयाँ चुनौती, नयाँ व्यवस्थापन टिम, नयाँ पोलिसी यावत कुरालाई फेस गर्न र आफू पनि अपग्रेड हुने क्रममा कम्पनी परिवर्तन गरी सिटिजन लाइफमा आएको हुँ। सिटिजन लाइफको म्यानेजमेन्ट टिम, पोलिसी, व्यवस्थापन, कर्मचारी म्यानेजमेन्ट लगायतका धेरै कुराले मलाई आकर्षित गरायो, अनि म सिटिजन लाइफमा प्रवेश गरेँ।’

अगाडि पनि ब्रान्च म्यानेजरको भूमिकामा रहेको भए पनि सिटिजन लाइफमा आउँदाको सुरुआती समयमै ब्रान्च म्यानेजर बन्न नरेशका लागि सहज भने थिएन। किनकि कम्पनी नयाँ भएको कारणले सबै व्यवस्थापन, नयाँ अभिकर्ता खोज्नुपर्ने, टिम, अफिसलगायतका यावत चुनौतीका बाबजुद पनि नरेशले आफ्नो ब्रान्चलाई राम्रो बनाए। नरेश भैरहवा शाखामा करिब ३ वर्ष ब्रान्च म्यानेजरको भूमिकामा रही एरिया म्यानेजर हुदै अहिले रिजनल म्यानेजर बन्ने सौभाग्य पाए।
इन्स्योरेन्स क्षेत्रमा काम गर्न धेरै चुनौती रहेको नरेशको भनाइ छ। ‘तर, चुनौतीलाई अवसरमा परिणत गरेर अभिकर्ता र टिमलाई मजबुत बनाएर काम गर्यो भने फेरि त्यो सामान्य नै हो। अभिकर्तालाई प्रोत्साहन गरी काम गराउनुपर्छ। समय–समयमा तालिम, मोटिभेसनल क्रियाकलाप गरेर उनीहरुलाई खुसी बनाउनुपर्छ’, नरेश भन्छन्, ‘अभिकर्ता त हाम्रो बीमा क्षेत्रका मेरुदण्ड हुन्। प्रतिनिधिपात्र हुन्। उनीहरुलाई खुसी नबनाए काम कसरी हुन्छ ? हो यो हिसाबले पनि काम गर्ने मान्छेलाई जहिले पनि हौसला र प्रोत्साहन दिनुपर्छ। अनिमात्रै कम्पनीले सफलता हात पार्न सक्छ।’
‘सिटिजन लाइफले सधैँ अभिकर्ता र कर्मचारीलाई सपोर्ट गरेको हुन्छ। हामी जहिले पनि अभिकर्तालाई कसरी सक्षम बनाउने भन्नेतर्फ नै केन्द्रित हुन्छौँ। बीमा कम्पनीका लागि पहिलो प्राथमिकता नै अभिकर्तालाई राखेर हिँड्यो र उनीहरुलाई सक्षम बनायो भनेमात्रै कम्पनी दीर्घकालीन लक्ष्य पूरा गर्न सक्छ’, नरेशले भने।
अभिकर्ता सबल र सक्षम भएर मार्केटमा जानुपर्ने नरेशको सुझाव छ। अभिकर्तालाई कम्पनीले समय–समयमा क्षमता अभिवृद्धि तालिम दिएर सक्षम बनाउनुपर्नेमा उनको जोड छ। ‘च्यालेन्जलाई स्वीकार गर्न सक्ने अभिकर्ता बीमा बजारमा हुनुपर्छ। यस्तो अभिकर्ता भयो भने बीमा बजारलाई फाइदा हुन्छ’, उनले भने।
इन्योरेन्स शिक्षाको कमीका कारण नै बीमा बुझाइमा संकुचन आएको नरेशको धारणा छ। मानिसहरु जीवन बीमालाई लिएर पहिलाभन्दा सकारात्मक रहेको नरेशको भनाइ छ। ‘अहिलेका मानिसले बीमा बुझेका छन्। अहिले बीमा शिक्षा दियो र बीमा बुझाउन सक्यो भने बीमा गराउन गाह्रो छैन’, उनको अनुभव छ, ‘तर, धेरै पैसा भएका मानिसले बीमा किन गर्नु ? हामीसँग पैसा छ भन्नुहुन्छ। तर, पैसा भएका मानिसलाई पनि आपत–विपत पर्छ। त्यसकारण बीमा पैसा हुने र नहुने सबैका लागि अपरिहार्य छ।’

जीवन बीमा कुन समुदायका लागि राम्रोभन्दा पनि सबै तह र तप्काका मानिसलाई जीवन बीमाको खाँचो रहेको नरेशको भनाइ छ। ‘हामीले ठूलो रकमको बीमा गराउन जोड दिनुभन्दा पनि स–साना बीमा गराए पनि बीमाको दायरामा ल्याउने कोसिस गर्नुपर्छ। यो मन्दीमा ठूलो रकमको बीमा गर्न सक्ने अवस्था छैन’, उनले भने, ‘त्यो अभिकर्ताले पनि बुझाउनुपर्छ। स–सानो रकम बचाएर बीमा गर्नुपर्छ भने आमसर्वसाधारणलाई बुझाउनुपर्छ।
तपाइँले पैसा कति कमाउनुभयो भन्दा पनि कति बचत गर्नुहुुन्छ भन्ने हिसाबले बीमा बुझाउने गरेको नरेशको भनाइ छ। ‘बीमासँग सुरक्षा जोडिएको हुनाले पनि बीमा धेरै राम्रो छ। मानिसको जीवन सधैँ एकैनासले चल्दैन’, नरेश भन्छन्, ‘कहिले दुःख त कहिले सुख आउने भएकोले बीमा गराइराख्यो भने दुःखमा सहारा दिने काम गर्दछ। बीमा भनेको नै सुरक्षाको कवच हो। सुखमा त हामीसँग पैसा हुन्छ सबैथोक हुन्छ तर दुःखमा बीमाले साथ दिन्छ। हामीले भोलिलाई साचेर नै बीमा गर्नुपर्दछ।’
बीमा क्षेत्रमा जस्तोसुकै प्रवृत्तिका अभिकर्ता भित्रिए पनि कम्पनीले उनीहरुलाई बीमासम्बन्धी ज्ञान दिएर, बीमा बुझाएर दीर्घकालीन टिक्ने गरी अवसर सिर्जना गर्यो भने जस्तोसुकै अभिकर्ता पनि दीर्घकालीन हुने नरेशको भनाइ छ। अभिकर्ता बीमा बजारमा दीर्घकालीन भयो भने बीमा बजार पनि राम्रो हुने उनको बुझाइ छ। कम्पनीले अभिकर्तालाई बीमा बजारमा टिक्ने, टिम वृद्धि गरेर सक्षम बनाएर सबैले आम्दानी गर्नेप्रति अभिकर्तालाई सचेत बनाएर बीमा बजार दीर्घकालीन बनाउनुपर्नेमा उनको जोड छ। नियम–कानुनभित्र बसेर काम गर्यो भने करिअर बनाउन विदेश जानु नपर्नेसमेत नरेशको सुझाव छ।

बीमा क्षेत्रमा नयाँ कर्मचारी भित्र्याउने प्रवृत्तिभन्दा पनि पुराना कर्मचारीलाई प्रोत्साहन गर्नुपर्नेमा नरेश जोड दिन्छन्। ‘बीमा क्षेत्र भनेको वित्तीय कारोबार गर्ने मार्केटिङ क्षेत्र भएकाले पुराना कर्मचारीलाई कामको अनुभव भइसकेको हुन्छ’, नरेशले भने, ‘नयाँ कर्मचारीलाई काम सिक्न र बजार बुझ्न नै समय लाग्ने हुनाले पुराना कर्मचारीलाई प्रोत्सान गर्नुपर्छ। सिनियर पुरानो टिमले मिसन अनि भिजन लिएर हिँडेका हुन्छन्, प्रतिस्पर्धी बजारमा नयाँलाई भन्दा पनि पुराना टिमले नै बजार बुझेका हुन्छन्। त्यसकारण पुराना टिमसँग राम्रो रणनीति हुने भएकाले पनि पुराना कर्मचारी टिकाउनु कम्पनीका लागि सम्पत्ति जोड्नुजस्तै हो।’
सिटिजन लाइफको डिजिटल अवधारणाले बीमा गराउन र गर्न सहज भएको नरेशको अनुभव छ। ‘डिजिटल भएपछि मानिसहरुमा विश्वास बढेको छ’, उनले थपे, ‘सिटिजन लाइफमा धेरैजसो कारोबार त डिजिटल माध्यमबाटै हुन्छ। यो हुँदा ग्राहकलाई पनि सहज र बीमा कम्पनीलाई पनि सहज हुन्छ।’ सधैँ बीमितको हितलाई समर्थन गर्दै सिटिजन लाइफ अगाडि बढ्ने उनको विश्वास छ।
अन्त्यमा नरेशले आफ्नो सफलता नै कम्पनीको सफलता हो भन्दै कम्पनीप्रति आभार व्यक्त गरे। उनले म्यानेजमेन्ट टिम, चिफ मार्केटिङ अफिसर, कर्मचारी र अभिकर्ता सबैलाई धन्यवाद दिएका छन्। नरेशले आफ्नो एरियामात्रै सफल र सक्षम बनाउन नभई समग्र कम्पनीको बीमा व्यवसायलाई नै राम्रो बनाउने हेतुले अगाडि बढ्ने गरेको बताए। नरेशले कम्पनीले दिने हरेक टार्गेट मिट गर्दै आइरहेका छन्। आगामी दिनमा पनि कम्पनीको हरेक व्यवस्थालाई समर्थन गर्दै नयाँ–नयाँ अवसरको खोजी गरी कम्पनीलाई माथि पुर्याउन हातमा हात र काँधमा काँध गरी अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।



















