काठमाडौं । छात्रवृत्ति परिक्षामा भएको अनियमितता सुधारका लागि विगत साढे दुई महिनादेखि आन्दोलनरत भारतीय यूवा विद्यार्थीसामू अन्ततः सरकारले घुँडा टेक्नुपर्ने अवस्था आएको छ।
दिल्लीको जन्तरमन्तरबाट शुरू भएको शान्तिपूर्ण विद्यार्थी आन्दोलन बिहार लगायतका अन्य प्रदेशमा समेत विस्तार भएर सरकारी दमन प्रभावहिन बनेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राती सामाजिक सञ्जाल फेसबुकमार्फत् माैनता तोड्दै आन्दोलनकारीलाई सम्बोधन गर्ने प्रयास गरेका छन्।
उनले अबेर राती सार्वजनिक गरेको भिडियोमा परीक्षा पत्र चुहावट विरुद्ध कडा प्रावधानसहित सरकारले नयाँ विधेयक ल्याउने घोषणा गरेका छन्। प्रस्तावित कानून, जसमा फास्ट ट्र्याक अदालत र अपराधीहरूलाई कडा सजाय समावेश छ, शुक्रबार केन्द्रीय मन्त्रिपरिषद्मा छलफल हुनेछ र अर्को हप्ता संसदमा पेश गरिने अाश्वासन दिएका छन्।
https://x.com/narendramodi/status/2080357811662492096?
विद्यार्थी अान्दोलनसँग सम्बन्धित प्रमुख मागहरूमा केन्द्रले कारवाही गर्ने आश्वासन दिएपछि सामाजिक अभियन्ता सोनम वाङचुकले शुक्रबार बिहानै आफ्नो २६ दिने अनशन अन्त्य गरेका छन् । वाङचुकले केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहको उपस्थितिमा गुरुग्रामको मेदान्ता अस्पतालमा मध्यरातपछि आफ्नो अनिश्चितकालीन अनशन अन्त्य गरेका हुन्। उनले सरकारसँग लामो वार्तापछि यो निर्णय गरिएको र “देशमा सम्भावित हिंसालाई ध्यानमा राख्दै” लिइएको बताए।
“केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र डा. जितेन्द्र सिंह र लेह लद्दाखको सर्वोच्च निकायका वरिष्ठ नेताहरूको उपस्थितिमा मैले अन्ततः २६ दिनपछि मेरो अनशन तोडेको छु। यसअघि विभिन्न राजनीतिक दलका ६५ जना संसद सदस्यहरूले मलाई भेटेर अनशन तोड्न आग्रह गर्दै पत्रमा हस्ताक्षर गरेका थिए। यो विभिन्न अवस्थाहरूमा लामो वार्तापछि र देशमा सम्भावित हिंसालाई ध्यानमा राख्दै गरिएको थियो। यसैबीच, म तपाईहरू सबैलाई कतै पनि कुनै पनि प्रकारको हिंसा हुन नदिने बारे धेरै सतर्क रहन आग्रह गर्दछु,” वाङचुकले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
भारतमा प्रधानन्यायाधीशले यूवा विद्यार्थीलाई अल्छी र कक्रोच(साङ्गला)को भनेर सम्बोधन गरेपछि बेलायतमा उच्च शिक्षा अध्ययनरत भारतीय विद्यार्थीले सामाजिक सञ्जालमा कक्रोच जनता पार्टी नामक अभियान चलाए । यो अभियानमा भारतभरका यूवा विद्यार्थी र तिनका अभिभावको समर्थन थपियो। सामाजिक अभियन्ता वाङचुकले पनि विद्यार्थीका जायज माग पुरा गराउन सरकारलाइ दबाब दिंदै आमरण अनशन शुरू गरे ।
दिल्लीमा भएको प्रदर्शनका क्रममा स्कूले विद्यार्थीमा समेत सरकारबाट सुरक्षाकर्मीमार्फत् निर्ममतापूर्वक दमन गरिएको घटनामा कानून व्यवसायीले सर्वोच्च अदालतको समेत ध्यानाकर्षण गराएका छन्।
वाङचुकको आमरण अनशनको अन्त्य र नरेन्द्र मोदीको भिडियो सन्देश मात्रका आधारमा आन्दोलन अन्त्य हुन्छ भन्नेमा विश्लेषकहरूले आशंका व्यक्त गरेका छन् । आन्दोलनको मोर्चामा विपक्षी दल भारतीय काँग्रेस समेत सहभागि बनेको छ।












