काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतबाट आयातित प्रियागोल्ड बिस्कुटको पैठारी स्वीकृति तथा प्रवेश अनुमति स्थगित गर्दै नेपालभर यसको बिक्री वितरणमा पूर्ण रोक लगाएको छ।
विभागका अनुसार, भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण गरेको अनुगमन तथा निरीक्षणका क्रममा प्रियागोल्ड बिस्कुटको उत्पादक कम्पनी सूर्या फुड एन्ड एग्रो लिमिटेड, भारतले बिस्कुटमा रेसा र फाइबरको स्रोतका रूपमा गाईवस्तुको दानाका लागि प्रयोग गरिने चोकर प्रयोग गरेको पाइएको छ। उक्त चोकर राखिएका बोराहरूमा गाईवस्तुको दानाका लागि भएको र मानव उपभोगका लागि नभएको प्रस्ट उल्लेख गरिएको थियो।
यसबाहेक, उद्योगको निरीक्षण गर्दा कारखानाको सरसफाइ, कीट नियन्त्रण, कच्चा पदार्थ भण्डारण, कर्मचारीको व्यक्तिगत स्वच्छता तथा भवन मर्मतसम्भारमा समेत गम्भीर लापरवाही र मापदण्ड उल्लङ्घन भेटिएको जनाइएको छ। सोही कारणले उक्त कम्पनीको इजाजतपत्र निलम्बन गरी अभियोजन प्रक्रिया अघि बढाएको छ।
मानव स्वास्थ्यको सुरक्षा र उपभोक्ता हित संरक्षणलाई ध्यानमा राख्दै विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम अर्को निर्णय नभएसम्मका लागि सूर्य फुड एन्ड एग्रो लिमिटेडद्वारा उत्पादित प्रियागोल्ड बिस्कुटलगायत सम्पूर्ण बिस्कुटजन्य उत्पादनहरूको पैठारी र बिक्रीमा रोक लगाएको हो।
साथै, बजारमा उपलब्ध भइसकेका प्रियागोल्ड बिस्कुटहरू तत्काल फिर्ता गरी स्थानीय तह वा खाद्य निरीक्षकको रोहवरमा नष्ट गर्न र सोको जानकारी विभागलाई गराउन आधिकारिक आयातकर्ता तथा खाद्य व्यवसायीहरूलाई निर्देशन दिइएको छ। आदेशको उल्लङ्घन गरेमा प्रचलित ऐन कानून बमोजिम कडा कारवाही हुने चेतावनी समेत विभागले दिएको छ।












