काठमाडौं । भारतीय राज्यहरुमा म्यादी बीमाको माध्यमबाट ठगी गर्ने ठूलो समूह सक्रिय रहेको समाचार सार्वजनिक भइरहँदा नेपालमा पनि म्यादी र लघु बीमाको कारोबारमा अनियमितता हुन थालेको छ। बीमितको आवरणमा ठगी गर्ने धन्दामा लघुवित्त कम्पनीहरु सक्रिय भएका हुन्।
लघु बीमा वा म्यादी बीमालेखको वितरणका लागि नेपाल बीमा प्राधिकरणले तोकेको कमिसन दर वा व्यवस्थापन खर्चको सीमाभन्दा अधिक रकम बीमकले यसका लागि खर्च गरिरहेका छन्। बीमा कम्पनीहरुबीच म्यादी बीमाको व्यापार हात पार्नका लागि अस्वस्थ्य प्रतिस्पर्धा चलिरहेकाले खर्चले सीमा नाघेको हो।
बीमा प्राधिकरणले कुनै पनि जीवन बीमालेखको बिक्रीमा सबै उमेरका बीमितका लागि एउटै बीमाशुल्क दरमा बीमालेख जारी गर्न बर्जित गरेको छ। तर, लघुवित्त र सहकारी संस्थाहरुले सबै उमेरका लागि करिब–करिब उस्तै बीमाशुल्क दरमा म्यादी बीमा गर्न दबाब दिँदै एकदमै न्यून दरमा जीवन बीमालेख खरिद गरिरहेका छन्।
लघुवित्तले आफ्ना ऋणीलाई ऋण उपलब्ध गराउँदा ऋण र ब्याजबापतको समेत रकमबराबरको म्यादी बीमा गरिदिन्छन्। ऋणीको राहात र ऋणको सुरक्षा दुवैका लागि यस्तो म्यादी बीमा आवश्यक हुन्छ। ऋण रकम चुक्ता नहुँदै ऋणीको निधन भएको अवस्थामा साँवा र ब्याजबापतको रकम लघुवित्तले बीमाबापतको दाबी भुक्तानीबाट असुल उपर गर्छ।
लघुवित्त कम्पनीहरुले बीमा कम्पनीहरुबीच अस्वस्थ्य प्रतिस्पर्धाको फाइदा उठाउँदै एकदमै सस्तो दरमा ऋणीको बीमा गराइरहेका छन्। लघुवित्तहरुले ऋणीसँग पैसा असुलेर जीवन बीमक र लघु जीवन बीमकसँग म्यादी र लघु बीमालेख खरिद गर्छन्। म्यादी बीमामा उच्च जोखिम भए पनि यसबाट बचत भएको अवस्थामा एक वर्षको अवधिमै नाफा बुक गर्न पाइने भएकाले सबै बीमा कम्पनी यसका लागि हानाथाप गरिरहेको अवस्था छ।
ऋणको सुरक्षाका लागि जीवन बीमा गर्ने समयमै ऋणीसँग तमसुक र मञ्जुरीनामामार्फत लघुवित्त कम्पनीले बीमालेखबापतको रकम भुक्तानी प्राप्त गर्ने अधिकार आफूले हात पारेको हुन्छ। ऋणको साँवा ब्याज चुक्ता नहुँदै ऋणीको निधन भयो भने बीमाबापतको पैसाको पहिलो हकदार लघुवित्त हुन्छ। लघुवित्तले ऋणको सुरक्षाका लागि बीमा गरेकाले झट्ट हेर्दा यो एकदमै उपयुक्त कार्य जस्तो देखिन्छ। तर, यसभित्र केही अनियमित कार्यसमेत भइरहेको छ, जसको बारेमा लघुवित्त, बीमक र नियामक सबै ‘तैँ चुप मै चुप’को अवस्थामा उभिएका छन्।
केही ऋणीको म्यादी बीमा लघुवित्त कम्पनीले एउटामात्र नभएर एकभन्दा बढी बीमकसँग समेत गरेको पाइएको छ। यसरी एकभन्दा बढी बीमकसँग जीवन बीमा गरेर ऋणीको निधनमा सबै बीमकबाट दाबी रकम असुलेर कुम्ल्याउने धन्दा केही लघुवित्तले संस्थागत रुपमा नै गरिरहेका छन्। अन्यत्र बीमकसँग बीमा गरिए नगरिएका बारे यकिन गर्ने संयन्त्र वा आधार बीमकसँग छैन।
लघुवित्तमार्फत प्राप्त मृत्यु दाबीका अधिकांश घटना शंकास्पद हुने गरेको बीमाको दाबी विभागका कर्मचारीको अनुभव छ। उनीहरुका अनुसार उपचारै नपाई मृत्यु भएको, घरमै मृत्यु भएकोजस्ता कारण देखाएर मृत्यु दर्ता प्रमाणपत्रकै भरमा मृत्यु दाबीका लागि दबाब दिने काम लघुवित्त कम्पनीहरुबाट हुन्छ। अनुसन्धानका लागि पर्याप्त समयसमेत नदिएर दाबी भुक्तानी माग गर्छन्।