काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको २ करोड ८६ लाख कित्ता शेयरको लकइन अवधि सकिने भएको छ।
कम्पनीले आज एक सूचना जारी गर्दै आउँदो असार ३० गतेबाट संस्थापक र कर्मचारीको उक्त संख्यामा शेयरको लकइन अवधि सकिन जानकारी गराएको हो। हाल संस्थापक शेयरधनीको २ करोड ८० लाख कित्ता शेयर र कर्मचारीको ६ लाख कित्ता शेयर लकइनमा राखिएको छ।
कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीको लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ। सोही प्रावधानबमोजिम यो कम्पनीको संस्थापक र कर्मचारीको शेयर पनि लकइनमा राखिएको हो।
यद्यपि, लकइन अवधि सकिए पनि सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने शेयर रोक्का नै रहने कम्पनीले स्पष्ट पारेको छ।












