काठमाडौं । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा झापाको विर्तामोडस्थित न्युटन्स एजुकेसन एकेडेमीका विद्यार्थी तथा शिक्षकसँग बीमा प्रवर्द्धनात्मक छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले गरेका थिए ।
अन्तर्क्रियाका क्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बीमाको आवश्यकता, जोखिमबाट हुने आर्थिक क्षति न्यूनीकरण तथा बीमाप्रति जनचेतना अभिवृद्धि गर्ने विषयमा जानकारी दिइएको थियो।
विद्यार्थिमार्फत परिवार र समुदायमा समेत बीमासम्बन्धी सचेतना विस्तार गर्ने उहाँले विद्यार्थी तथा शिक्षकलाई आग्रह गरे । उनले जोखिमहुनु भन्दा अगाडि नै आफनो बचतको केही हिस्सा बीमाको प्रिमियमको रुपमा बचत गर्न समेत आग्रैह गरे ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणकी सहायक निर्देशक सविता झाले बीमाको महत्व, आवश्यकता, प्रकार तथा जोखिम व्यवस्थापनमा बीमाको भूमिकाबारे प्रस्तुतीकरण दिएकी थिइन् । उनले बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपद् तथा आन्दोलन जस्ता अप्राकृतिक घटनाबाट हुन सक्ने क्षति र जोखिम न्यूनीकरणका लागि बीमा प्रभावकारी माध्यम भएको बताइन् ।
कार्यक्रममा न्युटन्स एजुकेसन एकेडेमीका प्राचार्य देवेन्द्र हुमागाईंले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै जीवनोपयोगी तथा व्यवहारिक शिक्षाबारे जानकारी गराउनु आवश्यक रहेको बताए । उनले बीमा आर्थिक सुरक्षाको महत्वपूर्ण माध्यम भए पनि यसबारे पर्याप्त जनचेतना नभएको उल्लेख गर्दै विद्यालयस्तरबाटै विद्यार्थीलाई बीमाको महत्व र आवश्यकताबारे जानकारी गराउनुपर्ने धारणा राखे ।
यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा बीमासम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै परिवार र समाजमा समेत सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
विद्यालयका शिक्षिकाद्वय रचना शर्मा र सिर्जना लेप्चाले आफ्ना नानीबाबुहरूको भविष्य सुरक्षित बनाउने उद्देश्यले शैक्षिक बीमा गराएको बताए । उनीहरूले बालबालिकाको उच्च शिक्षा तथा भविष्यमा आइपर्न सक्ने आर्थिक चुनौतीलाई मध्यनजर गर्दै समयमै बीमा गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे ।











