काठमाडौं । नेपालीहरुको महान चार्ड दशैं र तिहार हो । दशैंमा सबै मानिसहरुले नयाँ कपडा,खानेकुरा, नुनदेखि सुनसम्म उल्लेख्य किनमेल गर्दछन् । यस समयमा मानिसहरुले विलासी वस्तुहरुमा पैसा खर्चिने गर्दछन् । तर त्यस रकमलाई चाहिँदो मात्रामा प्रयोग गरेर जोगाउन सकिन्छ । यही रकमलाई बचतमा लगानी गरी बीमा योजना खरिद गर्न सकिन्छ । बीमाले आज मात्रै नभई बुढेसकालसम्म पनि जोखिमको कभर गर्दछ । दशैंमा गर्ने विलासी खर्चलाई कटौती गरी बीमा गर्न सकियो भने आफु र आफ्नो परिवार सुरक्षित हुन सकिन्छ ।
तर जीवन बीमा गर्ने भनेर मात्रै हुँदैन । आफ्नो आय क्षमता, दैनिक रुपमा आईपर्ने खर्चको संयोजन मिलाएर बीमा गरेमा मात्रै भविष्यमा नियमित बीमा शुल्क भुक्तानी गर्न सकिने गरी जीवन बीमा गर्नुपर्दछ । दशैंमा हुने अतिरिक्त आयलाई बीमाको रुपमा उपयोग गर्न सकिने हुँदा यसबारे समेत विचार गरेर जीवन बीमा गर्नु भोलिको लागि उपयुक्त हुन्छ ।
बीमा बचत पछिको रकम जगेर्ना गरेपश्चात भविष्यको जोखिम न्यूनिकरणको एक पाटो हो भने, नियमित बीमाशुल्क भुक्तानी गर्न सक्ने हुनु अर्को पाटो हो । व्यक्तिको आम्दानी कति छ, उसको खर्च त्यसपछि बचतको बाटो खुल्ला हुने हो । यदि खर्च र बचत गर्न नै धौ–धौ छ भने बीमालाई उसले अवलम्बन गर्न सक्दैन, त्यसैले बीमा गर्दा बीमितको आयस्रोतलाई समेत ध्यान दिनुपर्दछ ।
जीवन बीमालेख छनोट ?
बीमा पोलिसी खरिद गर्नको लागि बीमा कम्पनीहरुको बीमा पोलिसी र कम्पनीको बारेमा ज्ञान हुनुपर्दछ । बीमा पोलिसी बच्चा जन्मेकै दिनदेखि ६५ वर्ष मुनीका सबै मानिसको गर्न सकिन्छ । प्रत्येक जीवन बीमा कम्पनीहरुले आफनो बीमा पोलिसीको बारेमा विस्तृत जानकारी आफनो वेवसाईटमा राखेका हुन्छन् । यसको अलवा अभिकर्तामार्फत वा सिधैं आफै बीमा कम्पनीको कार्यालयमा गएर समेत जीवन बीमा पोलिसीको बारेमा जानकारी लिन सकिन्छ ।
कम्पनीहरुले उमेर हद पनि तोकेको हुन्छ, प्रत्येक बीमालेखमा र रक्षारण हुने र नहुने कुरा पनि स्पष्ट रुपमा राखिदिएको हुन्छ । त्यसैले, आफूले छनोट गर्न लागेको बीमा पोलिसीको बारेमा गहन अध्ययन गर्नु जरुरी छ । जीवन बीमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पूजी निमार्ण, करमा छुट जस्ता महत्वपूर्ण फाईदाहरु प्रदान गर्छ । जीवन बीमामा आजिवन बीमा, सावधिक बीमा, म्यादी बीमा रहेको हुन्छ ।
आर्थिक क्षमताको बारेमा बुझ्नु जरुरी
बीमा भन्ने वित्तिकै आर्थिक सुरक्षणको एक मात्तयम भनने बुझिन्छ । बीमा गर्दा आफ्नो आय स्रोत,महिनामा कति आम्दानी हुने र आफ्ले कति किस्ता रकम तिर्न सकिन्छ भन्ने कुरालाई मध्यनजर गर्नुपर्छ । कम रकमको बीमा गरियो भने बीमा गर्नुको उद्देश्य पूरा हँुदैन । बढी रकमको बीमा गरियो भने आर्थिक क्षमताले नभ्याएर बीमाको किस्ता तिर्न हम्मे हम्मे पर्छ । तसर्थ बीमा छनोट गर्नुभन्दा पहिले बीमा लिन चाहने व्यक्तिले आफ्नो आर्थिक क्षमताको विश्लेषण अनिवार्य गर्नुपर्छ ।
कुन पोलिसी आफ्नो आम्दानीका लागि उपयुक्त
नेपाली बीमा बजारमा थरीथरीका बीमा पोलिसीहरु रहेका छन् । नगद उपलब्धताको आधारमा बीमा पोलिसी छनोट गर्न सकिन्छ । यदि कसैको आम्दानी निश्चित छैन भने अग्रीम भुक्तानी बीमालेख लिनु उपयुक्त हुन्छ । अग्रिम भुक्तानी बीमालेख भनेको बीमा परिपक्व हुनुभन्दा पहिले बीमा रकमको केही अंश बीमा कम्पनीले बीमितलाई फिर्ता गर्ने बीमा योजना हो ।
बजारमा बीमा रकमको केही अंश आवधिक रूपमा फिर्ता गर्नेदेखि वार्षिक फिर्ता गर्ने बीमालेखहरू छन् । आफुलाई कुन पोलिसी किन्दा राम्रो हुन्छ ? भविष्यमा कुन पोलिसीले रा्रो रिक्स कभर गर्छ ? कुन पोलिसी कति वर्षको पोलिसी आफुले लिँदा बीमा किस्ता तिर्न सकिन्छ लगायतका कुराहरु बुझेर मात्रै पोलिसी लिनु उपयुक्त हुन्छ ।
बजारमा धेरै थरीका बीमालेखहरू छन् कसैसँग एकमुष्ट ठूलो रकम छ र वार्षिक रूपमा बीमा नवीकरण गर्ने झण्झट लिन चाहँदैन भने त्यस्तो व्यक्तिका लागि एकल बीमाशुल्क भुक्तानी हुने बीमालेखहरू उपयुक्त हुन्छ । यसरी कुनै पनि बीमा लिन चाहने व्यक्तिले आफ्नो परिवारिक उत्तरदायित्व आधारमा आर्थिक क्षमताको आधारमा बमिा गर्नुपर्छ ।
बोनस दरको आधारमा
जीवन बीमा कम्पनीहरूले बीमितहरूलाई दिने प्रतिफल बोनसदर हो । कम्पनीहरूले वार्षिक प्रतिहजारका दरले बोनस वितरण गर्दछन् ।कम्पनीहरूले नाफाको आधारमा बोनसदर घोषणा गर्छन् । कम्पनीले आम्दानी गरेको बार्षिक कुल नाफामध्ये ९० प्रतिशत रकम बिमीतहरूलाई वितरण गरिन्छ भने १० प्रतिशत रकम लगानीकर्तालाई वितरण गरिन्छ । यस्तो बोनसदर कम्पनीहरूले आर्थिक बर्ष सकिएपछि वार्षिक रुपमा घोषणा गर्दछन् । त्यसैले जीवन बीमामा बोनस दर निकै महत्वपूर्ण मानिन्छ ।
कम्पनीको वित्तीय अवस्था र व्यवस्थापकीय अवस्थाका आधारमा बोनसदर निर्धारण हुन्छ । बोनसदरका आधारमा नै बीमितले आफनो बीमा योजना समाप्त भएपछि पाउने रकम निर्धारण हुन्छ ।
निम्न आय भएकाहरुको लागि लघुबीमा उपयुक्त
ग्रामिण क्षेत्रमा बसोबास गर्ने बीमाको दायराले समावेश गर्न नसकेका, न्यून आय भई जीविकोपार्जन गर्ने समुदायको दैनिक जीवनमा आईपर्न सक्ने सम्भावित जोखिम न्यूनिकरणमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालित कार्यक्रम हो लघुबीमा हो । नेपाल सरकारले बिशेष गरी ग्रामीण क्षेत्रका जनताले पनि बीमाको सुविधा पाउन भन्ने हेतुले यस कार्यक्रम संचालनमा ल्याएको हो ।












