IME Life New

क्यान्सर रोगीका लागि आशा, रोगसँग लड्ने क्षमता बढाउने भ्याक्सिनको तेश्रो चरणको परिक्षण सफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्यान्सर रोगको नाम सुन्नाले मात्रै पनि धेरैको मनमा त्रास र निराशाको छायाँ पर्छ। उपचारपछि पनि क्यान्सर पुनः दोहोरिने (ट्युमर बल्झिने) डरले बिरामी र तिनका परिवारलाई पलपल छटपटि भइरहन्छ।  तर, अब चिकित्सा विज्ञानले यो गम्भीर चिन्ता र त्रासलाई आशा र विश्वासमा बदल्ने एउटा अभूतपूर्व सफलता हासिल गरेको छ।

विश्वकै पहिलो व्यक्तिगत (पर्सनलाइज्ड) एमआरएनए क्यान्सर भ्याक्सिन ‘इन्टिस्मिरान’ ले तेस्रो चरणको विश्वव्यापी क्लिनिकल ट्रायलमा क्यान्सर दोहोरिने जोखिमलाई ४२ प्रतिशतले घटाएको छ। अमेरिकाको औषधि निर्माता कम्पनी मोडर्नाले तयार पारेको यो भ्याक्सिनको नतिजाले विश्वभरका लाखौँ क्यान्सर बिरामीहरूमा जीवनको नयाँ किरण छरिएको छ।

Esewa
Crest

के हो इन्टिस्मिरान र यसले कसरी गर्छ कामः

यो सामान्य खोपजस्तो सबैलाई एउटै दिइने औषधि होइन। यो प्रत्येक बिरामीको शरीरमा रहेको ट्युमरको आफ्नै जैविक संरचना (डीएनए) अध्ययन गरेर विशेष रूपमा तयार पारिन्छ। क्यान्सरका कोषहरूमा हुने असामान्य प्रोटिनलाई पहिचान गरी यो एमआरएनए भ्याक्सिनले मानव शरीरको प्राकृतिक प्रतिरोधी क्षमतालाई तालिम दिन्छ। तालिमप्राप्त प्रतिरोधी कोषहरूले शरीरभित्र लुकेर बसेका क्यान्सरका सूक्ष्म कोषहरूलाई खोजेर नष्ट गर्छन्।

जब यो भ्याक्सिनलाई क्यान्सरविरुद्ध प्रयोग गरिने प्रचलित अटोइम्यून औषधि पेम्ब्रोलिजुमाबुसँग मिसाएर दिइयो, तब आश्चर्यजनक परिणाम देखियो । उपचार पाएका ८२ प्रतिशत बिरामीहरू दुई वर्षसम्म पूर्ण रूपमा क्यान्सरमुक्त रहे। क्यान्सर शरीरका अन्य अङ्गहरूमा फैलिन नदिने दर ८८.५ प्रतिशत अर्थात् १० मध्ये लगभग ९ जनामा सफलदेखियो।

न्यूज डटकम अष्ट्रेलियाका अनुसार, यो ऐतिहासिक खोजको नेतृत्व गरिरहेकी अस्ट्रेलियाकी चर्चित अनुसन्धानकर्ता तथा २०२४ अस्ट्रेलियन अफ द इयर प्रोफेसर जोर्जिना लङ यो सफलताबाट निकै उत्साहित छिन्।

न्यूज डटकमले प्रोफेसर जोर्जिनालाइ उद्घृत गर्दै लेखेको छ, यो मानव इतिहासकै पहिलो हवाइ उडान वा पहिलो इमेल पठाएजस्तै क्रान्तिकारी फड्को हो। जसरी पहिलो इमेलले सञ्चार जगत्‌लाई सधैँका लागि बदल्यो, त्यसैगरी यस प्रविधिले क्यान्सर उपचारको भविष्यलाई पूर्ण रूपमा बदल्नेछ। यो केवल मेलानोमा (छालाको क्यान्सर) का लागि मात्र होइन, भोलिका दिनमा सम्पूर्ण क्यान्सरका बिरामीका लागि आशाको ठूलो भरोसा बन्नेछ।

अस्ट्रेलियाको मेलानोमा इन्स्टिच्युटकी मेडिकल निर्देशक समेत रहेकी प्रोफेसर लङका अनुसार क्यान्सर औषधि विकासको इतिहासमा शरीरकै प्रतिरोधी प्रणालीलाई यसरी व्यक्तिगत रूपमा ढाल बनाएर ट्युमर बल्झिन नदिने सफलता पहिले कहिल्यै हासिल भएको थिएन।

विश्वभरका ११ सयभन्दा बढी बिरामीमा परीक्षण

क्यान्सरको शल्यक्रिया गरी ट्युमर निकालिसकेपछि पनि रोग पुनः दोहोरिने उच्च जोखिममा रहेका विश्वभरका १,१३७ जना बिरामीहरूमाथि यो क्लिनिकल ट्रायल गरिएको थियो। विश्वका १५० भन्दा बढी स्थानहरूमा गरिएको यस विस्तृत अध्ययनको नतिजा युरोपियन सोसाइटी अफ मेडिकल ओन्कोलोजीको वार्षिक सम्मेलनमा आधिकारिक रूपमा सार्वजनिक गरिँदैछ।

यसअघि पनि छालाको क्यान्सर (मेलानोमा) मा भएका अनुसन्धान र सफलताहरू पछि गएर फोक्सो, मिर्गौला, टाउको, घाँटी र मुत्राशयको क्यान्सर उपचारमा वरदान साबित भएका थिए। त्यसैले विज्ञहरू यो प्रविधि अन्य जटिल क्यान्सरहरूका लागि पनि उत्तिकै प्रभावकारी हुनेमा विश्वस्त छन्।

सरकारी तथा नियामक निकायहरूबाट अन्तिम स्वीकृति पाएपछि यो खोप सर्वसाधारण बिरामीका लागि बजारमा उपलब्ध गराइनेछ। क्यान्सरजस्तो जटिल रोगविरुद्ध मानव जातिले पाएको यो जितले लाखौँ मानिसलाई नयाँ जीवन र मुस्कान दिने निश्चित छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS