काठमाडौं । विकासशील राष्ट्रहरूमा निजी क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले स्थानीय मुद्रामै ऋण लगानीलाइ प्राथमिकता दिन थालेको छ। सन् २००० को दशकको सुरुवातमै स्थानीय मुद्रामा ऋण तथा वित्तीय सहजीकरण गर्ने नीति अघि सारेकोमा नेपाली उद्यमी व्यवसायीले पनि यस्तो सुविधाका लागि पहल गर्न सक्ने भएका छन्।
अहिले खासगरी अमेरिकी डलरको मूल्य अधिक वृद्धि भइरहेको परिप्रेक्ष्यमा प्रतिफलको तुलनामा विनिमय दर बढ्दा स्वदेशी ऋणी व्यवसायीलाइ अनावश्यक वित्तीय भार खेप्नुपर्ने बाध्यता छ । स्वदेशी मुद्रामै ऋण सुविधा उपभोग गर्न पाए वा पहिले नै उपभोग गरिरहेको ऋण सुविधालाई नेपाली मुद्रामा रूपान्तरण गर्दा व्यवसायीलाइ प्रत्यक्ष लाभ मिल्नेछ ।
हालै मात्र निजी क्षेत्रको वायू सेवा प्रदायक यती एयरलाइन्स लिमिटेडले विनिमय दरको जोखिम हटाउनका लागि एकै साथ ३० करोड रूपैयाँभन्दा बढी घाटा व्यहोर्ने गरी वैदेशिक मुद्राको ऋण नेपाली मुद्रामा रूपान्तरण गर्ने दूरदर्शी निर्णय लिएको छ। यो निर्णयले तत्कालै वासलातमा विनिमय दरको उच्च घाटा देखिएपनि निकट भविष्यमा यसले नाफामा सकारात्मक प्रभाव पार्नेछ । आइएफसीले पनि विनिमय दरको जोखिमबाट मुक्त राख्नका लागि निजी क्षेत्रका लागि स्थानीय मुद्रामा लगानीको अवधारणा अघि सारेको हो ।
वैदेशिक ऋण अमेरिकी डलर वा अन्य बलियो मुद्रामा लिँदा स्थानीय व्यवसायहरूले विनिमय दरको उतारचढावबाट ठूलो वित्तीय जोखिम बेहोर्नुपर्ने बाध्यतालाई सम्बोधन गर्नु यस नीतिको मुख्य ध्येय हो। हालसम्म आइएफसीले भारत, ब्राजिल, कोलम्बिया, नाइजेरिया, इन्डोनेसिया र भियतनामसहित विश्वका ७० भन्दा बढी उदीयमान तथा विकासशील देशहरूमा ७० भन्दा बढी स्थानीय मुद्राहरूमा लगानी प्रवाह गरिसकेको छ।
स्थानीय मुद्रामा ऋण लगानी गर्नुको मुख्य उद्देश्य ऋणी व्यवसायीलाई विनिमय जोखिमबाट मुक्त राख्नु, साना तथा मझौला उद्योगको पहुँचमा दीर्घकालीन पुँजी पुर्याउनु र सम्बन्धित देशको आन्तरिक पुँजी बजार तथा ऋणपत्र ९द्ययलम० बजारको दिगो विकास गर्नु हो।
नेपालजस्तो विकासशील मुलुकको सन्दर्भमा आइएफसीको यो स्थानीय मुद्रा लगानी नीति नेपाली उद्यमीहरूका लागि निकै ठूलो वरदान साबित हुन सक्छ। नेपाली रुपैयाँमा आम्दानी गर्ने व्यवसायीले अमेरिकी डलरमा ऋण भुक्तानी गर्दा डलरको भाउ बढ्दा थपिने वित्तीय भार र नोक्सानीको जोखिम स्थानीय मुद्रामै वित्तीय पहुँच पाउँदा पूर्ण रूपमा हट्न पुग्छ।
आइएफसीले नेपाली रुपैयाँ ऋणपत्र जारी गरी वा बैंकहरूमार्फत स्थानीय मुद्रामै लगानी गर्दा बैंकहरूको तरलता बढ्नेछ। यसबाट साना तथा मझौला उद्योग, महिला उद्यमी र हरित ऊर्जा क्षेत्रका आयोजनाहरूले विनिमय जोखिमबिना दीर्घकालीन पुँजी प्राप्त गर्न सक्नेछन्।
नेपालमा निजी क्षेत्रको विकास र पूर्वाधार निर्माणमा लामो समयदेखि साझेदार रहँदै आएको आइएफसीले २०२५ को अन्त्यसम्ममा नेपालमा आफ्नो कुल लगानी प्रतिबद्धता ८०० मिलियन अमेरिकी डलरभन्दा बढी पुर्याएको छ। जसमध्ये, नेपाली बैंक तथा वित्तीय संस्था, जलविद्युत् आयोजना र पूर्वाधार क्षेत्रमा गरी ६०० मिलियन अमेरिकी डलरभन्दा बढीको ऋण सहयोग प्रवाह भएको छ भने जलविद्युत्, वित्तीय संस्था र निजी कम्पनीहरूको सेयर सहभागितामा ५० देखि ७० मिलियन अमेरिकी डलर बराबरको इक्विटी लगानीदरहेको छ।
नेपालको निजी क्षेत्रमा आइएफसीले गरेका प्रमुख ऋण लगानीहरूमा २१६ मेगावाट उत्पादन क्षमताको माथिल्लो त्रिशूली जलविद्युत् आयोजना सबैभन्दा ठूलो र ऐतिहासिक मानिन्छ, जसमा आइएफसीले आफ्नै र साझेदारहरूमार्फत ४५ करोड डलरभन्दा बढीको वित्तीय श्रोत जुटाएको थियो।
यसका साथै वित्तीय क्षेत्रतर्फ सिद्धार्थ बैंकलाई साना तथा मझौला व्यवसाय र हरित वित्त प्रवर्धनका लागि ५५ मिलियन डलर तथा ग्लोबल आइएमई बैंक, नबिल बैंक, एनआईएमबी र लक्ष्मी सनराइज बैंकलाई साना उद्योग, जलवायु वित्त र अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि करोडौँ डलरको ऋण सहयोग उपलब्ध गराएको छ।
पर्यटन र सेवा क्षेत्रमा समेत काठमाडौँ मारियोट र छायाँ सेन्टरजस्ता पूर्वाधार निर्माणमा आइएफसीले महत्वपूर्ण ऋण लगानी प्रदान गर्दै नेपाली निजी क्षेत्रको विकासमा योगदान पुर्याउँदै आएको छ।












