काठमाडौं। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रुपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई ध्यानमा राखेर आफ्नो वेबसाइटलगायतका सेवाहरु अस्थायी रुपमा बन्द गरेको छ।
केन्द्रीय बैंकले शुक्रबार सूचना जारी गर्दै सुरक्षा जोखिमका कारण वेबसाइट तथा सेवाहरु अस्थायी रुपमा बन्द गरिएको जानकारी गराएको हो। सेवा बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ।
यस अवधिमा राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि बैंकको आधिकारिक सामाजिक सञ्जाल हेर्न पनि सूचनामा आग्रह गरिएको छ।
राष्ट्र बैंकले उक्त सुरक्षा जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण कम्पनीहरुलाई अपिल गरेको छ। यसका साथै सर्भरमा प्रयोग भइरहेका प्रणालीलाई सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन पनि राष्ट्र बैंकले सम्बन्धित निकायहरुलाई आग्रह गरेको छ।












