काठमाडौं । यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाको पूर्वपश्चिम तेल पाइपलाइन र विमानस्थलहरुलाई निशाना बनाएको दाबी गरेका छन्।
आफ्नो पछिल्लो वक्तव्यमा हुथी प्रवक्ता याह्या सारीले भने कि समूहले साउदी अरेबियाका धेरै रणनीतिक स्थानहरुलाई निशाना बनाएको थियो। यसमा यान्बुमा रहेको साउदी अरामको सुविधा, रबिघ तेल रिफाइनरी र रियादको किंग खालिद अन्तर्राष्ट्रिय विमानस्थल समावेश छन्।
हुथी प्रवक्ताका अनुसार दम्माममा रहेको किङ फहद अन्तर्राष्ट्रिय विमानस्थल, नजरान विमानस्थल र खामिस मुशैतमा रहेको एयरबेसलाई पनि निशाना बनाइएको थियो। यद्यपि, साउदी अरेबियाले यी आक्रमणहरुको हुथी दाबीको आधिकारिक रुपमा प्रतिक्रिया दिएको छैन।
यसैबीच साउदी रक्षा मन्त्रालयले भनेको छ कि हुथी विद्रोहीहरुले प्रहार गरेका र रोकिएका दुई ब्यालिस्टिक मिसाइलहरुको भग्नावशेष मक्काको वादी अल–मुघम्मास क्षेत्रमा खसेको छ। मन्त्रालयका अनुसार ती मिसाइलको टुक्रा जेद्दा, तैफ र रबिघमा पनि फेला परेको छ। –एजेन्सी












