काठमाडौं । एक्चुअरियल सोसाइटी अफ नेपालले बीमा क्षेत्रमा कार्यरत जनशक्तिको प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सोमबार लेखा प्रतिवेदन सम्बन्धित अन्तर्राष्ट्रिय मापदण्ड (आइएफआरएस सेभेन्टिन) सम्बन्धित परिचयात्मक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।
आयोजक संस्थाका अनुसार, प्रशिक्षण कार्यक्रममा बीमा कम्पनीका कर्मचारी अन्य पेशाकर्मी सहित ४५ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा मुख्य वक्ताका रूपमा विज्ञ सजग अधिकारीले आइएफआरएस १७ को रूपरेखा र नेपाली बीमा बजारमा यसको व्यवहारिक कार्यान्वयनका पक्षहरूबारे विस्तृत र जानकारीमूलक प्रस्तुति दिनुभएको थियो।
कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न स्वयम् सेवकका रूपमा सुधन पौडेल र श्रद्धा नेपालले योगदान दिए।
नेपालको बीमा समुदायभित्र एक्चुअरियल (बीमाङ्की) दक्षतालाई सुदृढ बनाउन आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता आयोजकले व्यक्त गरेको छ। नयाँ लेखा प्रणालीको कार्यान्वयनले नेपाली बीमा क्षेत्रलाई थप पारदर्शी र अन्तर्राष्ट्रिय स्तरको बनाउने विश्वास लिइएको छ।












